किसानले उत्पादन गरेको कागतीले पाएन बजार

हिमाल प्रेस १५ साउन २०८२ ९:०१ | Thursday, July 31, 2025
किसानले उत्पादन गरेको कागतीले पाएन बजार

तनहुँ- तनहुँको देवघाट गाउँपालिका-२ का कृषक मनिष मल्ल उत्पादित कागतीले बजार नपाउँदा निराश छन्। व्यावसायिक कागतीखेतीमा लागेका उनीले आफ्नो उत्पादनले बजार नपाउँदा समस्या भएको गुनासो गरे।

मल्लले २० रोपनी क्षेत्रफलमा कागतीखेती गरेका छन्। कागती उत्पादनको अन्तिम अवस्थामा छ, तर बजार अभाव हुँदा बारीमै रहेको उनले बताए। मल्लले भने, ‘बारीसम्म गाडी पुग्ने बाटो छैन। मान्छेले बोकेर गाडीसम्म लैजाँदा लागत मूल्य धेरै पर्न जान्छ। त्यसमाथि कागतीको उचित मूल्य नपाउँदा समस्या छ।’​

स्थानीयस्तरमा बजार नपाएपछि काठमाडौँस्थित कालीमाटी तरकारी बजारमा पुगेर बिक्रीका लागि व्यापारीसँग अनुरोध गरेको उनले सुनाए। गत वर्ष चितवन, तनहुँको दमौली र पोखरामा कागती बिक्री भए पनि यस वर्ष बजार नपाएपछि काठमाडौँ पुग्नुपरेको उनको भनाइ छ।

‘उत्पादित कागती काठमाडौँसम्म लैजाँदा लागत धेरै पर्ने र उत्पादन लागत पनि पाउन गाह्रो छ, तर बारीमै कुहिनुभन्दा काठमाडौँमा बिक्री गर्न सके केही न केही सहयोग हुने आशा गरेको छु। ३० किलोभन्दा माथि खरिद गर्ने कृषकलाई बारीमै आएर छानीछानी कागती टिप्न दिने भनेको छु’, मल्लले भने ‘गाउँपालिकाले नै कागतीको बजार खोजिदिएको भए हामीजस्ता कृषकले चिन्ता गर्नुपर्थेन। स्थानीय कृषकलाई प्रोत्साहन गर्ने दायित्व स्थानीय तहको पनि हो नि, तर सहयोग पाएका छैनौँ।’

एकातिर उत्पादनले बजार पाएको छैन, अर्कातिर गत जेठ १ र २ गते आएको हावाहुरीले कागतीखेतीमा क्षति पुगेको छ। यसले देशमै केही गरौँ भन्ने सोच लिएर सात वर्षअगाडि देखि कागतीखेतीमा लागेका मल्ल थप निराश बनेका छन्।

उनले ५०० भन्दा बढी बोट कागती लगाएका छन्। हावाहुरीले ५० बोटमा क्षति पुगेको थियो। वर्षौं मिहिनेत गरेर हुर्काएको कागती प्रत्येक वर्ष आउने हावापानीले क्षति पुर्‍याए पनि कतैबाट राहतसमेत नपाइएको मल्लको दुःखेसो छ। रासस

प्रकाशित: १५ साउन २०८२ ९:०१ | Thursday, July 31, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast