 
                             
                                            हङकङ– साहित्यकार राजकुमार राईकृत उपन्यास ‘किवाहाङ’माथि हङकङमा विमर्श कार्यक्रम सम्पन्न भएको छ। साहित्यकार डा. पूरण राई, नेपाली महासंघका उपाध्यक्ष नवीन सुवाहाङ, समीक्षकद्वय बज्रकुमार राई र चन्द्र मादेन आन्छनले यो कृतिबारे बोलेका हुन्।
डा. राईले उपन्यास समाजशास्त्रीय दृष्टिकोणबाट अत्यन्त महत्त्वपूर्ण रहेको उल्लेख गरे। यसमा राजनीति र संस्कृति पक्ष देखाउन खोजिएको उनको भनाइ थियो।
सुवाहाङले उपन्यासकार राई नलेखिएको विषयमा उपन्यास लेखेर सबै नेपालीको भएको टिप्पणी गरे। ‘उहाँले नेपालमा बस्नुभएको भए एउटा पार्टीको मान्छे मन्त्री भएर भ्रष्टाचार पनि गर्नुहुने थियो होला’, उनले भने, ‘राजनीति र देश छोडी हङकङ आएर सामाजिक र साहित्यिक कर्ममा साब्लाबुङ (शब्दपुष्प) साहित्यिक पत्रिका हुँदै नेपालमा पुस्तकालय अभियानसम्म जोडिनुभएको छ।’
समीक्षक राईले ‘किवाहाङ’ अध्ययन(अनुसन्धानकर्ता तथा शोधार्थीका निम्ति अति उपयोगी रहेको बताए। ‘पुस्तकभित्र धेरै कुरा छन्। खोजी-खोजी पढ्नुहोस्’, उनले भने।
अर्का समीक्षक आन्छनले विभिन्न मुलुकमा लाहुरेले गरेका संघर्ष र भोगाइ, किरात संस्कृति, नेपाल र ब्रिटिसले गरेको विभेदका कुरा उपन्यासमा मिहीन रूपमा आएको बताए। चिनियाँ र राई शब्दसहित १६ , १७ , २५ , २६ जस्ता लाहुरेले प्रयोग गर्ने सम्बोधन आएको उनको भनाइ थियो।
लेखक राईले साहित्य मनोरञ्जन र बौद्धिक विलासबाट माथि उठेर लेख्नुपर्छ भन्ने आफ्नो विचार भएकाले किवाहाङ लेखेको सुनाए। ‘अहिलेका पाठक माया-प्रेम, धनी-गरिब, यौनकुण्ठामा रूचि राख्दैन’, उनले भने, ‘साहित्य पढ्दै गर्दा आफूले नसुनेका, नभोगेका, नदेखेका विषयहरूमा पठन रूचि राख्ने गर्छ।’
उनले यसमा गोर्खाको इतिहास मात्र होइन विश्व युद्धपछि नेपाललगायत विभिन्न देशका आर्थिक-सामाजिक जनजीवनदेखि युद्धका घाउ समेटिएको सुनाए। ‘ब्रिटिस गोर्खाहरूको युद्ध इतिहास विश्वले सुनेका, देखेका, लेखेका छन्। तर सित्तैँमा लाहुरेहरूको रगत बगाउनुपरेको कथा किन लेखिएन’, उनले भने, ‘गोर्खाहरूको जीवन, सांस्कृतिक पीडा, ब्रिटिस र तत्कालीन नेपाल सरकारले गरेको अमानवीय विभेद, शोषण लुकाइएको छ।’
भावी पुस्ताले पनि यही कुरा बुझून् भनेर लेखेको उनको भनाइ थियो। ‘आज उपन्यास मात्र होला। यथार्थमा लेखिएकाले भविष्यमा इतिहास पनि परिवर्तन हुन सक्छ’, उनले भने, ‘लाहुरेहरूले सात दशकअघि नेपालमा सामाजिक परिवर्तन गर्न खेलेको भूमिका लेखिएन।’
कार्यक्रममा साब्लाबुङ पुस्तकालय अभियान र अभिलेखालयले संयुक्त रूपमा हङकङमा नेपाली समुदायमा विभिन्न विधामा योगदान गर्ने व्यक्ति र संस्थालाई सम्मानपत्र प्रदान गरेका थिए। त्यसरी सम्मानित हुनेमा खेलकुदतर्फ हेम पुन, साहित्यतर्फ रामकृष्ण बान्तवा, स्वास्थ्यतर्फ डा टीका राना, पत्रकारितातर्फ जगतबहादुर गुरूङ र संस्कृतितर्फ किरात राई योयाक्खा छन्।
अभियानले डोम राना, बिशु सम, राजेन्द्र लिम्बू, कसित राई र गोपाल राईलाई सम्मान गरेको थियो। पाकिस्तान क्लब जोर्डनमा हालै आयोजित कार्यक्रममा हङकङका विद्यालय र विश्वविद्यालयका विद्यार्थी पनि उपस्थित थिए। संखुवासभा समाज हङकङ आयोजक र साब्लाबुङ पुस्तकालय अभियान, लोहोरूङ युयोड हङकङ र हङकङ साझा साहित्यिक शृंखला सहआयोजक थिए।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 