किमाथांका राष्ट्रिय महत्वको नाका ; ऊर्जामन्त्री खड्का

हिमाल प्रेस ३ साउन २०८२ १२:२४ | Saturday, July 19, 2025
किमाथांका राष्ट्रिय महत्वको नाका ; ऊर्जामन्त्री खड्का

खाँदबारी- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले किमाथांका राष्ट्रिय महत्वको नाका भएको बताएका छन् । यो नाका वर्षभरी सञ्चालन गर्न सकिने भएकाले सरकारले पनि विशेष प्राथमिकता दिएको उनको भनाइ थियो।

सङ्खुवासभाको चैनपुरमा सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालयको उद्घाटन गर्दै मन्त्री खड्काले चीन सरकारले पनि किमाथाङ्का नाकामा विशेष चासो देखाएको उल्लेख गरे । ‘सडक सञ्जाल जोडिएसँगै यो नाका पूर्ण रूपमा सञ्चालनमा आउनेछ’, उनले भने, ‘त्रिदेशीय सम्बन्धलाई अझ प्रगाढ बनाउन यो नाकाले महत्वपूर्ण भूमिका खेल्नेछ ।’

मन्त्री खड्काले जिल्लामा भारतीय लगानीका ठूला जलविद्युत् आयोजना पनि सञ्चालनमा रहेको उल्लेख गर्दै दुवै छिमेकी मुलुकसँग सन्तुलित र सुमधुर सम्बन्ध कायम राख्नुपर्नेमा जोड दिए । मन्त्री खड्काले चैनपुरको सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनाले पानीको स्रोतहरूको दिगो उपयोग गर्दै कृषि उत्पादनमा वृद्धि गर्ने लक्ष्य लिएको बताए ।

यो आयोजनाले सङ्खुवासभासहितका चार जिल्लामा प्राविधिक, व्यवस्थापकीय र सामाजिक पक्ष समेटेर काम गर्ने जानकारी पनि दिए ।

‘स्रोत र साधन पर्याप्त हुँदाहुँदै पनि सङ्खुवासभा पछाडि परेको थियो’, उनले भने, ‘अब जनताको चाहना अनुरूप बजेट विनियोजन गरिएको छ । उनले ऊर्जा क्षेत्रमा मन्त्रालयले ८० प्रतिशत काम सम्पन्न गरिसकेको दाबी गर्दै अबको ध्यान विकास र समृद्धितर्फ केन्द्रित हुने बताए ।

प्रकाशित: ३ साउन २०८२ १२:२४ | Saturday, July 19, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast