काठमाडौँ महानगरको छात्रवृत्ति कार्यक्रममा देशभरबाट उत्साहजनक सहभागिता

हिमाल प्रेस ३२ असार २०८२ १०:३२ | Wednesday, July 16, 2025
काठमाडौँ महानगरको छात्रवृत्ति कार्यक्रममा देशभरबाट उत्साहजनक सहभागिता

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले कक्षा ११ र १२ मा संस्थागत विद्यालयहरूमा छात्रवृत्तिको लागि आह्वान गरेको आवेदनमा देशभरबाट १७ हजार २२९ विद्यार्थीले फाराम भरेका छन्। शैक्षिक सत्र २०८२/०८३ का लागि खुलाइएको आवेदन असारमा सम्पन्न भएको हो।

शिक्षा विभागका शिक्षा अधिकृत लक्ष्मी पौडेलका अनुसार प्राप्त आवेदकमध्ये १२ हजार ३३७ जना विद्यार्थीले विज्ञान संकायका लागि आवेदन दिएका छन्। त्यसपछि व्यवस्थापन संकायमा ४ हजार ४८१, मानविकीमा ३४, शिक्षा संकायमा १०४ र कानुनमा २७३ जनाले आवेदन दिएका छन्। कुल आवेदनमध्ये करिब ७१ प्रतिशत विज्ञान संकायका लागि परेको छ।

हाल आवेदनहरूको छानबिन तथा प्रमाणीकरण कार्य तीव्र गतिमा भइरहेको महानगरले जनाएको छ। यो कार्य असार ३२ गतेसम्म सम्पन्न हुने र त्यसपछि साउन १ गतेदेखि आवेदनदाताहरूले अनलाइनमार्फत प्रवेश पत्र डाउनलोड गर्न सक्ने व्यवस्था मिलाइएको छ।

विद्यार्थीहरूले www.kathmandu.gov.np वा entrance.kathmandu.gov.np मा गएर ‘एडमिट कार्ड’ बटन क्लिक गरी आवश्यक विवरण भरेपछि प्रवेश पत्र डाउनलोड गर्न सक्नेछन्। प्रवेश पत्रमा परीक्षा केन्द्रसम्बन्धी जानकारी पनि उल्लेख हुनेछ।

छात्रवृत्ति परीक्षा साउन ३ गते बिहान ८ बजेबाट १० बजेसम्म सञ्चालन हुनेछ। परीक्षा कक्षा १० को पाठ्यक्रममा आधारित हुनेछ। यसमा अनिवार्य गणित, विज्ञान, अंग्रेजीबाट ३०–३० बहुवैकल्पिक प्रश्न र सामान्य ज्ञानबाट १० प्रश्न रहनेछन्। परीक्षा पास गर्नका लागि कम्तीमा ४० प्रतिशत अंक ल्याउनुपर्नेछ। गलत उत्तरका लागि कुनै नकारात्मक अंकन (नेगेटिभ मार्किङ) गरिने छैन।

परीक्षापछि मेरिटका आधारमा छात्रवृत्ति प्रदान गरिनेछ। छात्रवृत्ति कार्यक्रमले आर्थिक रूपमा कमजोर तर योग्य विद्यार्थीहरूलाई कक्षा ११ र १२ संस्थागत विद्यालयहरूमा अध्ययन गर्न अवसर दिने लक्ष्य राखेको छ।

शिक्षा विभागका निमित्त विभागीय प्रमुख केशव ज्ञवालीका अनुसार, काठमाडौँ महानगरपालिकाले गुणस्तरीय शिक्षालाई पहुँचयोग्य बनाउने तथा विद्यार्थीहरूको शैक्षिक भविष्य उज्ज्वल बनाउने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिरहेको हो।

प्रकाशित: ३२ असार २०८२ १०:३२ | Wednesday, July 16, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast