एमालेको विधान महाधिवेशन व्यवस्थापन बाँडफाँटको जिम्मेवारी : खानाको जिम्मा भिष्मलाई, आवासको जिम्मा लालबाबुलाई

हिमाल प्रेस १५ साउन २०८२ ९:४७ | Thursday, July 31, 2025
एमालेको विधान महाधिवेशन व्यवस्थापन बाँडफाँटको जिम्मेवारी : खानाको जिम्मा भिष्मलाई, आवासको जिम्मा लालबाबुलाई

काठमाडौँ- आउँदो भदौमा निर्धारित नेकपा एमालेको विधान महाधिवेशनको व्यवस्थापनका निम्ति नेताहरूलाई जिम्मेवारी तोकिएको छ। बुधबार (साउन १४) बसेको पार्टी केन्द्रीय कार्यालयको बैठकबाट विभिन्न नेतालाई महाधिवेशन व्यवस्थापनको जिम्मेवारी दिइएको हो।

महासचिव शंकर पोखरेलको अध्यक्षतामा महाधिवेशनका प्रतिनिधिको संख्या एकिन गर्न संगठन विभागलाई जिम्मा दिइएको छ। १०औँ राष्ट्रिय महाधिवेशनका प्रतिनिधिमध्ये कतिको मृत्यु भयो वा पार्टी छोडे ती सबै विषय यकिन गर्न संगठन विभागलाई जिम्मा दिइएको केन्द्रीय कार्यालयका प्रमुख डा. भीष्म अधिकारीले जानकारी दिए।

स्वास्थ्य क्षेत्रको जिम्मा स्वास्थ्य तथा जनसंख्या विभागका प्रमुख कृष्णगोपाल श्रेष्ठलाई दिइएको छ। महाधिवेशनको स्वयंसेवक परिचालनको जिम्मा पार्टीको जनसंगठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकाललाई दिइएको छ।

सचिवालय र खानाको व्यवस्थापनको जिम्मा कार्यालय सचिव डा. अधिकारीलाई दिइएको छ। यातायात तथा मञ्च व्यवस्थापनको जिम्मा केन्द्रीय सदस्य विनोद श्रेष्ठलाई दिइएको छ।

महाधिवेशन प्रचारको जिम्मा प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमलाइ दिइएको छ। स्वागत नृत्यसहित विविध सांस्कृतिक कार्यक्रमका निम्ति केन्द्रीय सदस्य हेमराज राईलाई जिम्मा दिइएको डा। अधिकारीले जानकारी दिए।

महाधिवेशनका प्रतिनिधिले आवासको व्यवस्थ आफैँ गर्नुपर्ने हुन्छ। आवासको व्यवस्थापन गर्न नसक्ने प्रतिनिधिका सम्बन्धित जिल्ला वा प्रदेशका सम्पर्क समन्वय कमिटीले व्यवस्थापन गर्नुपर्ने निर्णय गरिएको छ। यसनिम्ति उक्त विभागका इन्चार्ज लालबाबु पण्डितलाई जिम्मेवारी तोकिएको छ।

विधान महाधिवेशनमा २२ सय ७९ प्रतिनिधि सहभागी हुनेछन्। एमालेको विधान महाधिवेशन भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीस्थित सनराइज हलमा हुने तय छ।

प्रकाशित: १५ साउन २०८२ ९:४७ | Thursday, July 31, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast