 
                             
                                            काठमाडौँ- व्यक्तिको जन्मोत्सव मनाइन्छ। संघसंस्थाको वार्षिकोत्सव वा स्थापना दिवस मनाएर खुसी साटासाट गरिन्छ। पछिल्ला दिनमा स्रष्टाहरूले आफ्ना कृतिको पनि जन्मोत्सव मनाउन थालेका छन्।
यसै क्रममा उपन्यासकार अनिता कोइरालाले आइतबार राजधानीमा आफ्नो उपन्यास ‘उज्यालो औँसी’ को जन्मोत्सव मनाएकी छन्। कृतिको जन्मोत्सव समारोहका अतिथिहरू थिए- साहित्यकार, समालोचक, प्राध्यापकहरू। उनलाई कार्यक्रममा उपस्थित सबैले बधाई, शुभकामना र आशीर्वाद दिएका थिए। उनीहरूले नेपाली उपन्यासमा पाइला अघि बढाएर अनिताले उज्यालो यात्रा थालेको भन्दै प्रशंसा गरेका थिए।
कोइरालाको पहिलो उपन्यास ‘उज्यालो औँसी’ २०८१ असार २९ गते विमोचन भएको थियो। कृति विमोचन भएको एक वर्ष पूरा भएको अवसरमा आयोजित उत्सवमा कृतिमाथि विभिन्न व्यक्तित्वले कृतिका अनेक आयाममाथि आआफ्ना विचार प्रस्तुत गरेका थिए।
वरिष्ठ साहित्यकार तथा चिन्तक प्रा.डा. गोविन्दराज भट्टराईले कोइरालाको सिर्जनायात्रा प्रखर बन्दै गएको र आगामी दिनमा यसले अझै गति लिने विश्वास व्यक्त गर्दै लेखकलाई शुभकामना दिए।
अर्का वक्ता प्रा.डा. कुमार कोइरालाले कृति मानसिक अभिघात हुँदै मनोविज्ञान र प्याराडक्सको चमत्कारी जादु पस्किन सफल भएको टिप्पणी गरे।
समालोचक सुधा शर्माले ‘उज्यालो औँसी’ ले स्वैरकल्पनाका माध्यमबाट सामाजिक द्वन्द्व उजागर गरेको विश्लेषण गरिन्। उनले उपन्यास वर्गीय जीवनदेखि अध्यात्मसम्म विस्तार भएको प्रस्ट पार्दै यसलाई पूर्वीय तथा पाश्चात्य मान्यताका आधारमा विवेचना गर्न सकिने बताइन्।
अर्की समालोचक तारा आचार्यले नारीमाथिको उत्पीडन नै कोइरालाको उपन्यासको भावभूमि बन्न पुगेको धारणा राखिन्। उनले प्रतिरोधी नारी चरित्रलाई उपन्यासकारले आदर्शवादका ढोकाभित्र छिराइदिँदा उपन्यासको उद्देश्य पूरा हुन नसकेको विश्लेषण गरिन्।
कृतिकारका बालसखासमेत रहेका उत्तम ढुंगेलले कृति यथार्थबाट टाढा नभागेको विचार राखे।
‘कलमकी साथी’ का अध्यक्षसमेत रहेकी समारोहकी सभाध्यक्ष गीता रेग्मीले लेखकको सिर्जनशील व्यक्तित्व चुलिँदै गएकोमा बधाई दिँदै शिखरतर्फको यात्राका लागि शुभकामना व्यक्त गरिन्।
साहित्यकारहरू श्रीओम श्रेष्ठ रोदन, शरद प्रधान, धीरेन्द्र प्रेमर्षि र भवानी खतिवडाले कृतिकार कोइरालालाई कृतिको प्रथम जन्मोसत्वका सन्दर्भमा शुभकामना दिएका थिए।
‘कलमका साथी’ ले आयोजना गरेको कार्यक्रममा विमल भौकाजी, दिव्य गिरी, लक्ष्मण गाम्नागे, माधव काफ्ले, श्रीबाबु कार्की, शोभा शरभ, सुवास ढुंगेल, उत्तम कोइराला, दुर्गा घिमिरे, भागवत खनाल, अनिता पन्थी, रेखा ज्ञवाली, रमा नेपाल, लक्ष्मण वियोगीलगायत स्रष्टाहरूको उपस्थिति रहेको थियो। समारोहमा ‘कलमका साथी’ का सदस्य भारती न्यौपानेले स्वागत मन्तव्य राखेकी थिइन्।
समूहका सल्लाहकार कवि डा. हेम भण्डारी सहजकर्ताको भूमिकामा देखिएका थिए। कार्यक्रममा ११२ औँ भानुजयन्तीको सन्दर्भ उठान गरी भानुको स्मरण गर्नुका साथै हालै दिवंगत भारतीय नेपाली साहित्यकार सानु लामाप्रति श्रद्धाञ्जली व्यक्त गरी उनको योगदानको स्मरण गरिएको थियो।

 हिमाल प्रेस
                     हिमाल प्रेस                    


 
  
  
  
  
  
  
  
  
  
 