आज गुरु पूर्णिमा, के हो गुरुको अर्थ?

हिमाल प्रेस २६ असार २०८२ ७:३७ | Thursday, July 10, 2025
आज गुरु पूर्णिमा, के हो गुरुको अर्थ?

काठमाडौँ- आज शुक्ल पूर्णिमा अर्थात् गुरु पूर्णिमा। यस दिन गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा प्रदान गर्ने गुरुजनप्रति सम्मान भाव प्रकट गरी मनाइन्छ।

वैदिक धर्मग्रन्थ महाभारतका रचयिता वेद व्यासको जन्म जयन्तीका अवसरमा वैदिक कालदेखि नै मनाउने गरिएको व्यास जयन्तीलाई गुरु पूर्णिमाका रूपमा लिने गरिएको छ।

‘गु’ को अर्थ अन्धकार र ‘रु’ अर्थ प्रकाश भनेर बुझिन्छ। ज्ञानरुपी प्रकाशले अज्ञानरुपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिने तन्त्र शास्त्र र धर्मशास्त्रका पुस्तकमा उल्लेख गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चांग निर्णायक विकास समितिका सदस्य प्रा डा देवमणि भट्टराई बताउँछन्।

यस्ता गुरुलाई हाम्रो शास्त्रले ब्रह्मा, विष्णु र महेश्वरका रूपमासमेत मानेको छ। यसैले विभिन्न ग्रन्थमा यसो भनिएको पाइन्छ।

माता पिताजस्तै गुरुलाई पनि देवता समान मानी ‘आचार्यदेवो भव’ भनिन्छ। गुरु पूर्णिमाका अवसरमा यस दिन विभिन्न विद्यालय एवम् संघसंस्थाले कार्यक्रम गरी शिक्षा, दीक्षा दिने गुरुप्रति श्रद्धाभाव प्रकट गर्ने गरेका छन्।

व्यास जयन्ती
आजै वेदलाई ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद गरी चार भागमा विभाजन गरी यसको अर्थ बुझाउन सरल संस्कृत भाषामा १८ पुराण र १८ उपपुराणको रचना गर्नुहुने वेद व्यासको सम्झनामा व्यास जयन्ती पनि मनाइन्छ । आषाढ शुक्ल पूर्णिमाकै दिन वेद व्यास जन्मिएकाले यसै दिन व्यास जयन्ती मनाउने गरिएको हो ।

पाँचौँ वेदसमेत भनिने महाभारत पनि व्यासले नै रचना गरेको हो । यस अवसरमा आज देशभरका विभिन्न गुरुकुल, शिक्षालय एवं संघ संस्थाले पनि गुरु पूर्णिमा पर्व मनाउने जनाइएको छ ।

प्रकाशित: २६ असार २०८२ ७:३७ | Thursday, July 10, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast