त्रिभुवन विमानस्थल अध्यागमनमा प्रमुखसहित ४५ नयाँ अधिकृत खटिए

हिमाल प्रेस ५ साउन २०८२ १२:३३ | Monday, July 21, 2025
त्रिभुवन विमानस्थल अध्यागमनमा प्रमुखसहित ४५ नयाँ अधिकृत खटिए त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागम कार्यालय परिसर।

काठमाडौँ- अध्यागमन सुधारका क्रममा गृह मन्त्रालयले हालै लोकसेवा आयोगको परीक्षामा सफल भएका ४५ जना शाखा अधिकृतलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा खटाएको छ।

अध्यागमन विभागका महानिर्देशक गोविन्द रिजालले सोमबारदेखि अध्यागमन कार्यालयका प्रमुख सहसचिव नरहरि घिमिरे र ४५ जना नयाँ शाखा अधिकृत विमानस्थलमा खटिएको जानकारी दिएका हुन्।

‘लोकसेवाबाट आएका अधिकृतहरूलाई विभागले तीनदिने तालिम दिएर उहाँहरूलाई विमानस्थल अध्यागमनमा खटाएको छ’, रिजालले भने, ‘अध्यागमन कार्यालयमा प्रमुखका रुपमा आउनुभएका सहसचिव घिमिरे पनि आजदेखि हाजिर भइसक्नुभएको छ।’

विमानस्थलस्थित अध्यागमन प्रमुखका रुपमा सुरुवा भएका घिमिरे अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ताका रुपमा काम गरिसकेका सहसचिव हुन्। केही दिनअघि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलले ४५ अधिकृतको नाम गृह मन्त्रालयमा पठाएको थियो।

त्यसैगरी गृह मन्त्रालयले ४५ जना शाखा अधिकृत अध्यागमनमा खटिएको र सोही संख्यामा शाखा अधिकृत मन्त्रालय तानिएको जनाएको छ। ‘ विमानस्थलबाट आएका अधिकृतहरू मन्त्रालयमा दरबन्दी मिलान हुन्छ’, गृह मन्त्रालयको प्रशासन महाशाखाका उपसचिव सुरेश जोशीले भने, ‘दरबन्दी भन्दा बढी अधिकृत भए तिनलाई सामान्य प्रशासन मन्त्रालयमार्फत बाहिर पठाउने काम हुन्छ।’ उनले दरबन्दीअनुसार मात्रै मन्त्रालयले अधिकृतहरू राख्ने बताए।

प्रकाशित: ५ साउन २०८२ १२:३३ | Monday, July 21, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast