अकिञ्चनको ‘सायद किनाराहरू’ सार्वजनिक

हिमाल प्रेस ४ साउन २०८२ १०:५४ | Sunday, July 20, 2025
अकिञ्चनको ‘सायद किनाराहरू’ सार्वजनिक

काठमाडौँ– कवि उमेश अकिञ्चनको तेस्रो काव्यकृति ‘सायद किनाराहरू’ राजधानीमा शनिबार सार्वजनिक भएको छ। रक्षामन्त्री मानवीर राई, कविहरू श्रवण मुकारुङ, रमेश क्षितिज र विमला तुम्खेवा, समीक्षक राजकुमार बानियाँ र नायक जीवन लुइटेलले कृतिको संयुक्त रूपमा विमोचन गरेका हुन्।

तुम्खेवाले समाज, प्रेम र मानवीय अस्तित्वलाई कविताले सम्बोधन गरेको प्रस्ट पारेकी छन्। वरिष्ठ कवि श्रवण मुकारुङले विशिष्ट लय र ध्वनि निर्माण गरी अकिञ्चनले समकालीन नेपाली कविताका फाँटमा हस्तक्षेपकारी उपस्थिति प्रस्तुत गरेको दाबी गरेका छन्। प्रचुर बौद्धिकता प्रस्तुत गरी अकिञ्चनले कवितामा सौन्दर्य उत्पादन गरेको उनको विश्लेषण छ ।

रक्षामन्त्री मानवीर राईले इतिहासका हरेक कालखण्डमा हुने विद्रोहमा कविहरूले कवितामार्फत शालीन विद्रोह गरी परिवर्तनलाई निष्कर्ष दिन अद्वितीय भूमिका खेलेको विचार राखे। उनले अकिञ्चन उपनाममा कविता लेख्ने नेपाल सरकारका उपसचिव खड्गराज राई कर्तव्यनिष्ठ कर्मचारी र कवि भएकाले सामाजिक रूपान्तरणमा उनको विशिष्ट योगदान रहेको सन्दर्भ उद्घाटन गरी कृतिको पूर्ण सफलताको कामना गरेका छन्।

कवि अकिञ्चनले कविता लेखनमा आफूलाई आजको यात्रासम्म साथ दिने सम्पूर्ण सहयोगी मनहरूलाई सश्रद्धा स्मरण गरेका छन्। उनले कविता लेखनको इमानदार प्रयत्न निरन्तर अघि बढाउँदै जाने प्रतिबद्धता व्यक्त गरेका छन्। कार्यक्रमका सहजकर्ता डा. हेम भण्डारीले कविताजस्तै सफेद चरित्र बाँचेका अकिञ्चनले कवितामा सर्वकालिक मूल्य स्थापित गरेको बताएका छन्। ‘इन्डिगो इन्क’ ले प्रकाशन गरेको अकिञ्चनको कविताकृति ‘सायद किनाहरू’ मा ४१ कविता सङ्गृहीत छन्।

प्रकाशित: ४ साउन २०८२ १०:५४ | Sunday, July 20, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast