कांग्रेस बैठक : देउवामाथि शेखरको प्रश्नको वर्षा, मागे चित्तबुझ्दो जवाफ

हिमाल प्रेस १६ असार २०८२ २०:५०
118
SHARES
कांग्रेस बैठक : देउवामाथि शेखरको प्रश्नको वर्षा, मागे चित्तबुझ्दो जवाफ

काठमाडौँ- नेपाली कांग्रेसको आन्तरिक राजनीतिमा डा.शेखर कोइराला प्रतिपक्षको भूमिका दरिलो गरी प्रस्तुत भइरहेका छन्। तोकिएकै मितिमा १५ औँ महाधिवेशन गर्नुपर्नेमा जोड दिइरहेका कोइराला नेतृत्वका तर्फबाट भइरहेका गल्तीहरू पार्टीभित्र र बाहिर प्रस्ट रूपमा राख्ने गरेका छन्।

झन्डै ९ महिनापछि सोमबारदेखि सानेपास्थित पार्टी कार्यालयमा कांग्रेसको केन्द्रीय समिति बैठक सुरू भएको छ। बैठकमा संसद र सरकारमा पार्टीको भूमिका, क्रियाशील सदस्यता नवीकरण, आगामी महाधिवेशनको तयारी, भाृत संस्थाहरूको महाधिवेशनलगायतका एजेन्डाहरूमाथि छलफल हुने कार्यसूची छ।

केन्द्रीय समिति बैठकको पहिलो दिन नेता कोइरालाले आफ्ना धारणाहरू राखे। आफ्नो धारणा राख्ने क्रममा उनले सभापति शेरबहादुर देउवासँगै प्रश्नैप्रश्नको वर्षा गर्दै चित्त बुझ्दो जवाफ मागे।

सम्बोधनको सुरूवातमै नेता कोइरालाले भने, ‘म आज केही तितो वास्तविकता भन्ने प्रयासमा छु, यसमा कसैले चित्त नदुखाइदिनुहोला।’

आगामी मंसिर महिनामा १५ औँ महाधिवेशन हुनुपर्नेमा आफू दृढ रहेको भन्दै उनले हुन नसकेको खण्डमा के कारणले र किन हुन नसक्ने भनेर सभापति देउवासँग चित्तबुझ्दो जवाफ मागे।

कोइरालाले सत्ता सहकार्यका लागि नेकपा एमालेसँग भएको सातबुदे सहमतिअनुसार संविधान संशोधनको विषय कहाँ पुग्यो भनेर सभापति देउवासँग प्रश्न गरे।

‘२०७९ को संघीय र प्रदेश निर्वाचनमा माओवादीसँग गठबन्धन गरेर निर्वाचनमा गयौँ। अहिले एमालेसँग सरकारमा छौँ। त्यतिबेला के कारणले माओवादीसँग गठबन्धन गर्‍यौँ र अहिले के कारणले एमालेसँग सहकार्य भयो? कांग्रेस–एमाले गठबन्धनको सरकार बन्नुपर्छ भन्ने म नै हुँ। तर, मैले कांग्रेसको नेतृत्वमा सरकार बन्नुपर्छ भनेको थिएँ,’ देउवासँग प्रश्न गर्दै उनले भने,‘के कारणले कांग्रेसले एमालेलाई सत्ताको नेतृत्व दियो? यदि संविधान संशोधनका लागि यो सत्ता गठबन्धन हो भने सातबुँदे सहमतिमा लेखिएको संविधान संशोधनको मुद्दा कहाँ पुग्यो? सभापतिज्यूले यसको चित्तबुझ्दो जवाफ दिनुपर्छ।’

बैठकमा नेता कोइरालाले राखेका धारणाको सम्पादित अंश :

आदरणीय सभापतिज्यू, पदाधिकारी एवं केन्द्रीय सदस्य साथीहरू।

सर्वप्रथम म पार्टी सभापतिज्यूलाई धन्यवाद दिन चाहन्छु, किनकी भर्खरै उहाँले पार्टीलाई एक ढिक्का बनाएर लैजान्छु भन्नुभएकोमा । म सुरुदेखि नै पार्टी एक ढिक्का होस् भन्ने व्यक्ति हुँ ।

म आज केही तितो वास्तविकता भन्ने प्रयासमा छु, यसमा कसैले चित्त नदुखाईदिनुहोला।

हामी अहिले महाधिवेशनको वर्षमा छौँ । २०८२ सालको मंसिर महिनामै १५ औँ महाधिवेशन गर्नुपर्छ भन्ने कुरामा म अहिले पनि दृढ छु। यदि हुन सक्दैन भने के कारणले र किन हुन सक्दैन सभापतिज्यू र पदाधिकारीले चित्त बुझ्‌दो जवाफ दिनुपर्‍यो। पदाधिकारी साथीहरू त महाधिवेशनका लागि जोडतोडले घुमिरहेको देखिन्छ।

गठबन्धनः

२०७९ को संघीय र प्रदेश निर्वाचनमा माओवादीसँग गठबन्धन गरेर निर्वाचनमा गयौँ। अहिले एमालेसँग सरकारमा छौँ। त्यतिबेला के कारणले माओवादीसँग गठबन्धन गर्‍यौँ, अहिले के कारणले एमालेसँग सत्ता सहकार्य भयो ? कांग्रेस एमाले गठबन्धनको सरकार बन्नुपर्छ भन्ने म नै हुँ। तर मैले कांग्रेसको नेतृत्वमा सरकार बन्नुपर्छ भनेको थिएँ। के कारणले कांग्रेसले एमालेलाई सत्ताको नेतृत्व दियो? यदि संविधान संशोधनका लागि यो सत्ता गठबन्धन हो भने सात बुँदे सहमतिमा लेखिएको संविधान संशोधनको मुद्दा कहाँ पुग्यो? सभापतिज्युले यसको चितबुझ्ने जवाफ दिनुपर्छ।

अनुशासन समितिः

१. अनुशासन समितिको बैठकमा पार्टी सभापतिज्यूले चितवनमा दिनेश कोइरालालाई शेखर कोइरालाले उठाएको हो, शेखरलाई किन कारबाही नगर्ने भनेर भन्नुभएछ। के आधारमा त्यो कुरा गरियो? सभापतिज्यू यसको जवाफ चाहियो।

२. म आज धेरै सोचेर भन्दैछु। अब पार्टीको अनुशासन समितिमा केन्द्रीय समितिभन्दा बाहिरका सिनियर साथीहरुलाई राख्नुपर्छ। अहिले अनुशासन समितिमा रहनुभएका साथीहरु कति कमजोर हुनुहुन्छ भने कारबाहीको लागि सिफारिस भएका केन्द्रीय सदस्य साथीहरूलाई एउटा चिठ्ठीसम्म पनि काट्न सक्ने ताकत राख्नु हुँदोरहेनछ। तपाईँकाविरुद्ध यस्तो उजुरी छ, के हो भनेर सोध्न सक्ने हैसियत पनि राख्नु हुन्न, उहाँहरु। यस्तो अनुशासन समितिले निष्पक्ष काम गर्न सक्दैन। एउटै प्रकृतिको विषयमा कसैलाई सचेत गराईएको छ कसैलाई निलम्बन गर्ने प्रस्ताव आएको छ। कारबाहीमा किन विभेद?

३. पर्सा– १ मा गठबन्धनको नाममा लोसपालाई सिट दिइयो। गठबन्धनको उम्मेदवारको ११ सय १७ मत आयो र चौथो हुनुभयो। कांग्रेसका साथी स्वतन्त्र निर्वाचन लड्नुभयो। उहाँको २० हजार ९ सय १७ मत आयो र उहाँ निकट प्रतिद्वन्दी हुनुभयो। गठबन्धनका नाममा आफ्‌नो बलियो सिट किन अरुलाई दिइयो।

उपचुनावमा बारा–२ मा उपेन्द्र यादवलाई टिकट नदिऔँ, पार्टीकै साथीलाई उम्मेदवार बनाऔँ भन्दा हाम्रो कुरा सुनिएन। मधेस प्रदेशमा उपनिर्वाचनलगत्तै कांग्रेसको नेतृत्वमा सरकार बन्ने तर्क अगाडि सारियो। आज उपेन्द्र यादव कहाँ हुनुहुन्छ र मधेश प्रदेश सरकारमा कांग्रेस कहाँ निर छ? यसको पनि जवाफ चाहियो।

४. २०७९ को निर्वाचनमा माओवादीसँग गठबन्धन गरियो। फेरि २०८० को उपनिर्वाचन मा तनहुँ– १ मा कांग्रेसलाई र चितवन–२ मा एमालेका उम्मेदवारलाई मत माग्दै कांग्रेस सभापति र एमाले अध्यक्षको हस्ताक्षरको विज्ञप्ती आयो। यो कस्तो राजनीति थियो?

५. अनुशासन समितिको संयोजकले आफूखुसी व्यक्तिगत रुपमा चिठी पठाउनुभएको छ, त्यो अधिकार उहाँलाई कसले दियो? पर्सा–१ मा महामन्त्रीले लेख्नुभएको पत्रलाई पार्टी जिल्ला सभापतिले किन मान्नुभएन? यसको जवाफ कसले दिने हो, चित्त बुझ्ने जवाफ चाहियो।

६. विनोद चौधरीको केन्द्रीय सदस्य बन्ने योग्यता थियो कि थिएन? त्यो हेरियो? क्रियाशीलको १० वर्षे अवधि पुग्थ्यो? सभापतिज्यूलाई स्मरण होला, पहिलोपटक गिरिजाप्रसाद कोइरालासँग उहाँ सभापतिमा प्रतिष्पर्धा गर्दै हुनुहुन्थ्यो। उक्त महाधिवेशनमा सुजाता कोइरालाले केन्द्रिय सदस्य लड्ने इच्छा व्यक्त गर्नुभयो। १० बर्ष नपुगेकोले गिरिजाबाबुले सुजातालाई उमेदवार बन्न दिनुभएन।

७. सर्वोच्च अदालतले दोषी किटान गरिसकेको व्यक्ति आज पनि सर्लाहीको जिल्ला सभापति पदमा बसिरहनुभएको छ, के कारणले उहाँलाई हटाइएको छैन? यो घट्नाले कांग्रेसलाई कति क्षती पुगेको छ भन्ने कुरा सभापतिज्यू र पदाधिकारीले बुझ्‌नुभएको छ?

८. निर्वाचनका समयमा गठबन्धनका नाममा निष्ठावान र इमान्दार साथीहरूलाई टिकटबाट वञ्चित गरियो अहिले अनुशासन कारवाहीको कैँची चलाएर फेरि तिनै साथीहरूको राजनीति समाप्त गर्न खोजिदैछ।पार्टी बलियो बनाउने हो भने एकपटक सबै साथीहरूलाई सचेत गराऔँ र रुख चिन्हको उम्मेदवार नभएका निर्वाचन क्षेत्रमा जो साथी स्वतन्त्र रूपले उम्मेदवार बन्नुभयो, उहाँहरु सबैलाई एकपटकलाई माफी दिउँ भनेर मैले पहिलादेखि भन्दै आएको थिएँ र अहिले पनि भन्छु।

९. २०८० भाद्र २४ गते प्रथम राष्ट्रपति डा. रामवरण यादव परासी जिल्ला प्रतापपुर गाउँपालिका वडा नं. ७ मा स्थापना गरिएको बीपी कोइरालाको शालिक अनावरण कार्यक्रममा जानुहुँदा, पार्टीका केन्द्रिय सदस्य साथीहरुले नै कार्यक्रम बहिष्कार गर्नुभयो।

२०८१ मंसिर १७ गते सप्तरीको कञ्चनरुप नगरपालिकामा बीपी कोइरालाको शालिक अनावरणमा मलाई बोलाइयो। म आफैँ प्रमुख अतिथि भएर गएको कार्यक्रममा मेरै समूहका पूर्वमन्त्रीदेखि जिल्लाका सिनिएर साथीहरुले मलाई रोक्ने प्रयास गर्नुभयो, कार्यक्रमभन्दा ठीक पहिले उहाँहरुलाई भेटेर बीपीको शालिक अनावरणलाई बहिष्कार गर्ने कांग्रेसी हुनै सक्दैन भनेर रिसाएँ। तर पनि उहाँहरुले कार्यक्रम बहिष्कार गर्नुभयो। बीपी कोइरालाको शालिक अनावरण अवरोध गर्नेहरुलाई अनुशासन लाग्ने कि नलाग्ने? ति साथीहरु कस्ता कांग्रेसी? सहि कुरा भन्न अब हामीले मुख लुकाउन हुँदैन।

भातृ संस्थाबारेः

१. नेविसंघ, तरुण दल, महिला संघबारे सभापतिज्यूको घरमा भएको बैठकमा मैले प्रष्टरुपले भनेको थिएँ। अहिलेको ठूलो समितिले अधिवेशन गर्नै सक्दैन, त्यसैले पार्टीले जिम्मा लिएर अधिवेशन गराऔँ। नेविसंघ निर्देशक समितीको बैठकमा मैले समयावधी थप्न समर्थन गरेको भन्ने कुरा पदाधिकारीले भन्नु भएछ। म अहिले पनि भन्दैछु, जति समय थप्नुस्, अधिवेशन हुन्छ भन्नेमा मलाई विश्वास छैन। तरुण दलका साथीहरु अनसनमा हुनुहुन्छ। नेविसंघको प्रदर्शन भैरहेको छ। यसलाई सम्बोधन गरौँ।

२. नेविसंघ र तरुण दलभन्दा महिला संघ फरक छ। महिला संघ र पार्टीको विधान एकै प्रकारको भएकाले महिला संघको पुरानो सदस्यता नवीकरण नभएसम्म अधिवेशन सम्भव छैन। २० जना केन्द्रिय सदस्यले राजीनामा दिएको अवस्था र पुरानो सदस्यता नवीकरण नभएको अवस्थामा महिला संघको अधिवेशन हुनै सक्दैन। ईलाममा महिला संघको कार्यक्रममा पुरुषहरुले महिलामाथी हातपात गरेका छन्। त्यसमा पार्टी सभापतिज्यूको ध्यान जाओस्।

३. नेपाल दलित संघको ४२ जिल्ला विघटन गरिएको सुन्नमा आएको छ। अधिवेशनमा जाने कि बिघटन गर्ने? जिल्ला विघटनको अधिकार दलित संघको अध्यक्षलाई कसले दियो? यसको जवाफ चाहियो।मैले आज बाध्य भएर भनिरहेको छु। पार्टीमा एकता होस्, गुटबन्दी र भागबण्डाले कांग्रेस कमजोर नबनोस् भनेर १४ औं महाधिवेशनमा पराजित भएलगत्तै म भागबण्डाको राजनीति गर्दिन भनेर भनेको थिएँ। सभापति एवं पदाधिकारीहरुले पार्टीका आन्तरिक कुरामा गरेको निर्णयमा कहिल्यै पनि मैले फरक मत राखिन। मेरो त्यही सहनशीलता र भद्रतालाई कमजोरी ठानियो।

जय नेपाल।

प्रकाशित: १६ असार २०८२ २०:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast