
काठमाडौँ- नेकपा एमालेको आगामी महाधिवेशन केन्द्रमा राख्दै पार्टीभित्र नेतृत्व प्रतिस्पर्धाको बहस तीव्र बन्दै गएको छ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा पुनः प्रवेशपछि अध्यक्ष केपी शर्मा ओली घेराबन्दीमा परेको बताउन थालेका छन्। पार्टीभित्रैबाट चुनौती बढ्दै जाँदा ओली पक्षका नेताहरू भण्डारीमाथि ‘कानुनी बन्देज’को माग गरिरहेका छन्।
अचेल प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष ओलीका सार्वजनिक अभिव्यक्तिमा नछुट्ने शब्द हुन्, ‘घेराबन्दी’, ‘झुण्डहरू’ र ‘एमालेविरोधीहरू’। प्रायः उनले घुमाउरो भाषामा यस्ता शब्द प्रयोग गर्दै कसैविरुद्ध रोष पोख्छन्। झट्ट सुन्दा उनका यस्ता अभिव्यक्ति परिस्थिति मिल्दो देखिँदैन।
ओली दुईतिहाईको सरकार हाँकिरहेका प्रधानमन्त्री हुन्। सरकारमा कांग्रेस ओलीले भनेअनुसार चलिरहेको छ। कांग्रेस सभापति शेरबहादुर देउवा पनि ओलीसँग व्यक्तिगत रूपमा असन्तुष्ट छैनन्। प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि ओलीसँग लचक छन्। संसद्मा औपचारिकताको विरोधबाहेक ओलीलाई नेकपा माओवादीबाट पनि अवरोध छैन। त्यसैले प्रधानमन्त्री ओली ‘कोबाट घेराबन्दीमा परेका हुन्?’ स्पष्ट छैन।
निकट नेताहरूका अनुसार ओलीले बारम्बार लक्षित गर्दै प्रहार गरिरहेका वाण एमाले नेताप्रति हो। किनभने एमालेमा बढ्दो ध्रुवीकरणले ओली कमजोर बनिरहेको अनुभूति गरिरहेका छन्। ओली कमजोर देखिनुको कारण हो भण्डारीको एमालेमा सक्रियता। एमालेकी पूर्वउपाध्यक्षसमेत भइसकेकी भण्डारीले एमालेको सक्रिय राजनीतिमा लाग्ने घोषणा गरिसकेकी छन्।
एमालेमा महाधिवेशन कहिले हुन्छ टुंगो छैन। अबको महाधिवेशनमा भण्डारी र ओलीबीच प्रतिस्पर्धा हुने भए अनौठो नमान्दा हुन्छ। किनभने भण्डारी धेरै गृहकार्य गरेर एमालेमा सक्रिय भएको उनी निकट नेताहरू बताउँछन्। उनी निकट नेताहरूका अनुसार भण्डारीले एमाले कार्यकर्ता निवासमा साथै जिल्लाजिल्ला पुगेर भेटेकी छन्। त्यसैले अप्ठ्यारोमा परेका छन् ओली।
रहस्यमय जिप दुर्घटनामा एमालेका तत्कालीन महासचिव मदनकुमार भण्डारीको निधन भएपछि भण्डारी पार्टी राजनीतिमा सक्रिय भएकी हुन्। २०५१ सालमा काठमाडौँमा भएको उपनिर्वाचनमा नेपाली कांग्रेसका तत्कालीन सभापति कृष्णप्रसाद भट्टराईलाई पराजित गरेपछि भण्डारी एमाले राजनीतिमा अग्रपंक्तिमा देखिन थालिन्। एमालेमा छँदा भण्डारी दुई कार्यकाल उपाध्यक्ष, सांसद र मन्त्री भइसकेकी थिइन्।
भण्डारी राष्ट्रकै सर्वोच्चमा पदमा पुग्ने प्रथम महिला हुन्। २०७२ सालमा गणतन्त्र नेपालको दोस्रो राष्ट्रपतिका रूपमा निर्वाचित भएकी उनले उक्त पदमा दुई कार्यकाल बिताइन्।
संसद्मा पहिलोपटक प्रवेश गर्ने प्रयास (२०५१ मा काठमाडौँ १ मा भएको उपनिर्वाचन) मा भण्डारीलाई एमाले कार्यकर्ताको ‘सहानुभूति’ सहितको समर्थन थियो। यसले भण्डारीलाई राजनीतिक उचाइतर्फ लम्कन थप बलमात्रै मिलेन दुईदुई कार्यकाल राष्ट्रपति बन्ने ढोका पनि खुल्यो।
एमालेको आठौँ महाधिवेशनमा ओली अध्यक्षमा लड्दा त्यही प्यानलबाट उपाध्यक्ष बनेकी थिइन्। ओली प्रधानमन्त्री बन्दा भण्डारी राष्ट्रपति बन्ने ‘सौभाग्य’ पाइन्। ओलीले प्रधानमन्त्री हुँदा गरेका सबै कामकारबाहीका साक्षी भण्डारी हुन्।
मन्त्रिपरिषद्बाट पारित एजेन्डा राष्ट्रपतिकहाँ लगेपछि लालमोहर लैजाने काममा भण्डारी सधैँ ओलीप्रति ‘सदायता’ राख्थिन्। ओलीले गरेको ‘असंवैधानिक प्रतिनिधिसभा विघटन’ का निर्णय पनि भण्डारीले हत्तपत्त अनुमोदन गरिदिएकी थिइन्। नेताहरूका अनुसार संसद् विघटन र अध्यादेशका ‘विभिन्न एजेन्डा’ भण्डारीले रोक्न सक्थिन्। तर गरिनन्।
यो तहमा पुग्ने भण्डारीको तागतमा केपी शर्मा ओलीको साथ रहँदै आएको घामजत्तिकै छर्लंग छ। अहिले भण्डारी राजनीतिमा किन फर्किँदै छन् भन्नेचाहिँ अनौठो विषय बनेको छ। ओलीलाई नै प्रतिस्थापन गर्ने गरी अघि बढ्न थालेपछि नेपाली राजनीतिक वृत्तमा भण्डारीको चासो बढी हुन थालेको हो।
यतिखेर एमाले वृत्तमै पनि भण्डारीको आवश्यकता किन? भन्ने प्रश्न उठिरहेको छ। यतिमात्रै होइन, भण्डारीसँग अब राजनीतिमा सक्रिय भएर समाज परिवर्तन गर्ने कुन दूरदृष्टि छ? उनको सक्रियताले अन्य धेरै प्रतिपर्धी र युवा पुस्ताको राजनीतिक गतिमा अवरोध आउँदैन? यद्यपि राजनीतिक दलमा सामेल भएर प्रतिस्पर्धामा उत्रिने अधिकार उनलाई पनि छ।
विश्लेषकहरू भण्डारीलाई शक्तिको भोक देखिएको बताउँछन्। देशको सर्वोच्च पद राष्ट्रपतिमा दुईदुई कार्यकाल बिताउँदा त्यो भोक नमरेको बुझाइ उनीहरूको छ। निकटस्थहरूका अनुसार भण्डारी भन्ने गर्छिन्, ‘आफ्नै आवाज उठाउन आफैँ पदमा पुग्नुपर्दो रहेछ। महिलाका समस्या समाधान गर्न महिला नै नेतृत्वमा पुग्नुपर्ने रहेछ।’ यहाँनिर फेरि प्रश्न उठ्छ– दुईदुई कार्यकाल राष्ट्रपति बन्नु तस्बिर झुन्ड्याउनकै लागि थियो त?
भण्डारी दुई कार्यकाल राष्ट्रपति बन्दा पनि शक्तिकै आडमा एमाले र तत्कालीन नेकपाभित्र ‘रजगज’ गरिन्। उनले शीतल निवासबाटै पार्टीमा आफ्नो शक्तिको अभ्यास नगरेकी होइनन्।
राजनीतिक नियुक्तिदेखि चुनावमा टिकट वितरणमा समेत उनले भाग खोज्ने गरेको चर्चा त्यति बेलै चल्ने गरेको थियो। नेकपा काल (२०७४-७७) मा उनलाई पार्टीभित्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भन्दा पनि शक्तिशाली मानिन्थ्यो। त्यति बेला नेकपामा केपी शर्मा ओली र प्रचण्ड दुई अध्यक्ष थिए।
‘राष्ट्रपति भण्डारी चुनावको टिकट वितरणमा आफ्नो भाग खोज्थिन्। ओली–प्रचण्डभन्दा बलियो बनेकी थिइन्’, राजनीतिक विश्लेषक डा. विष्णु दाहाल भन्छन्, ‘भण्डारी जुनसुकै ठाउँमा पनि हिस्सा खोज्थिन्।’
एमालेबाट सरकारमा मन्त्री पठाउँदा पनि भण्डारी निकट भन्दै कसै न कसैको नाम जोडिन्थ्यो। विश्लेषकहरूका अनुसार राजनीतिबाट बाहिर बस्दा त्यो शक्ति गुम्ने चिन्ता भण्डारीलाई छ। नेतृत्वमा रहँदा ओलीले दम्भ देखाएका कारण त्यसलाई साइजमा ल्याउन भण्डारीले सक्रियता देखाएको टिप्पणी गर्नेहरू पनि छन्। साथै ओली-भण्डारी सम्बन्ध ‘तँ कुटेजस्तो गर् म रोए जस्तो’ गर्छु भन्ने तहको रहेको दाबी गर्नेहरूको पनि कमी छैन।
भण्डारीलाई चिनियाँ संस्थापन पक्षले अघि बढ्न संकेत गरेको भनेर विश्लेषण गर्ने जमात पनि राजनीतिक वृत्तमा ठूलै छ। भण्डारी गत महिना चीन सरकार र चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागको निमन्त्रणामा चीन भ्रमणमा गएकी थिइन्। चीन भ्रमणबाट फर्केको एक महिनाभित्रै उनले एमालेमा सक्रिय हुने घोषणा गरेकी हुन्। चिनियाँ पक्ष नेपालका सबै कम्युनिस्ट दल एकजुट हुनुपर्ने पक्षमा रहँदै आएको छ। भण्डारी पनि कम्युनिस्ट एकता गर्नुपर्ने अभिव्यक्ति दिँदै आएकी छन्।
१० औँ महाधिवेशनयता नेकपा एमालेमा ओलीको ‘एकछत्र’ राज छ। एमालेभित्र यति बेला ओलीका विपक्षी छैनन्। ओलीको विरोध गर्नेहरूलाई एमालेमा ठाउँ छैन। आफ्नो आलोचना गर्ने कार्यकर्तालाई ओलीले चलाएको ‘डन्डा’ ले पनि त्यही स्पष्ट हुन्छ।
ओली एमाले अध्यक्ष बनेपछि पार्टीमा उनका प्रतिस्पर्धी कमजोर बनेका थिए। कुनै बेला गुटगत टकरावमा ओलीसँग भिड्ने माधव नेपाल, झलनाथ खनाल आफैँ निस्किएका छन्। एमालेको १० औँ महाधिवेशनमा ओलीलाई अध्यक्षमा टक्कर दिएका भीम रावल पाखा लागेका छन्। यसरी पार्टीमा तेस्रो कार्यकाल हाँक्ने योजना बनाइरहेका बेला भण्डारी ‘बाधक’ बनेकी छन्।
ओली पार्टीबाट तत्काल विश्राम लिने पक्षमा नरहेको उनी निकट नेताहरूको बुझाइ छ। उनीहरूका अनुसार एघारौँ महाधिवेशन पनि ओली अध्यक्ष बन्ने सुरमा छन्। त्यसका लागि ओली भदौमा विधान महाधिवेशन र त्यसको ६ महिनाभित्र महाधिवेशन गर्ने योजनामा छन्। ०८४ सालमा निर्वाचन हुने भएकाले ०८३ भित्रै पार्टीका कामकारबाही सक्ने लक्ष्य ओलीको छ।
एमाले नेता एवम् संगठन विभाग प्रमुख काशीनाथ अधिकारी एमालेको महाधिवेशन २०८२ मै सकिने दाबी गर्छन्। पार्टीमा भण्डारीको सक्रियताले ओलीको योजना भताभुंग हुन सक्ने चिन्ता उनी निकट नेताहरूको छ। विगतमा ओलीले ‘चेपुवा’ मा पारेका नेताहरू र ओली निकटस्थसमेत भण्डारी पक्षधर बनेका छन्। यसरी भण्डारी सक्रिय हुन खोज्दा जाँदा ओलीको राजनीतिक योजनामाथि पूरा हुन सजिलो नहुने भएको छ।
एमालेमा विगतबाटै लाग्दै आएको उमेरहद (७० वर्षे प्रावधान) ले ओली अप्ठ्यारोमा पर्ने देखिन्छ। ओलीले यही प्रावधानका कारण चुनाव लड्न नपाउने हुन् कि भन्नेसम्म अनुमान भइरहेको छ। भण्डारी ६४ वर्षकी मात्रै रहेकाले उमेरहदको तनाव छैन।
राजनीतिक विश्लेषक डम्बर खतिवडा एमालेमा दुई कार्यकाल रहेपछि फेरि रहन नसक्ने प्रावधान रहेको बताउँछन्। ‘एमालेका कार्यकर्ता चलाख छन्। कुनै नेता लामो समय शक्तिमा रहन दिँदैनन्। उनीहरू नेतृत्व छान्न खोजिहाल्छन्’, खतिवडा भन्छन्।
नेताहरूका अनुसार एमालेभित्र ओलीको विपक्षमा बढ्दो जनमत छ। एमालेका जनवर्गीय संगठनका चुनावमा पनि भण्डारीका सहानुभूति पाएकाले प्रशस्तै मत ल्याएका छन्।
भण्डारीमाथि ‘कानुनी बन्देज’ को प्रस्ताव
ओली निकट नेताहरूका अनुसार भण्डारी अघि बढ्नु ओलीमाथि घातक छ। ओली निकट नेताहरू भण्डारीलाई पूर्वराष्ट्रपतिका नाममा लगाम लगाउनु उपयुक्त हुने बताउन थालेका छन्। एमाले सचिवालय बैठकमा महासचिव शंकर पोखरेलले राष्ट्रपतिलाई रोक्नुपर्ने प्रस्ताव अघि सारेका थिए। भण्डारी निकट नेताहरूले पोखरेलको प्रस्तावमा प्रतिवाद गरेका थिए।
राजनीतिक विश्लेषक दाहाल भण्डारीको एमाले नेतृत्वमा पुग्ने आकांक्षा नरोकिने दाबी गर्छन्। ‘अब भण्डारी कुनै कानुनी बन्देजले रोक्न सकिन्न। किनभने उनी पक्षीय नेताले भण्डारीलाई अघि बढाउन चाहन्छन्’, दाहाल भन्छन्।
नेताहरूका अनुुसार भण्डारीका पक्षमा वातावरण बनाउने काम एमालेमा उपाध्यक्ष सुरेन्द्र पाण्डेले गरेका छन्। खुलेआम भण्डारीलाई समर्थन गर्नेमा एमाले नेताहरू गोकुल बास्कोटा, कर्ण थापा, विनोद ढकाललगायतका छन्। उनीहरू कुनै बेला ओली निकटस्थ नेता थिए।
समयान्तरमा ओलीसँग सम्बन्ध बिग्रिदै जाँदा उनीहरू भण्डारी कित्तामा उभिएका हुन्। नेताहरूका अनुसार अहिले एमाले सचिवालयमा समेत ओली भन्दा भण्डारी निकटस्थहरूको दबदबा छ। १० औँ महाधिवशेनमा ओलीले चाहेका नेताहरू सचिवालयमा ल्याएका थिए, तिनै नेताहरू भण्डारीको खेमामा तानिएका छन्।
‘हामीलाई कारबाही नगर्न बहुमत सचिवालयले अनुरोध गर्दासमेत एकाएक कारबाही प्रक्रिया अघि बढाइएको रहेछ,’ एमाले नेत्रृ विन्दा पाण्डे भन्छिन्, ‘सचिवालयमा मतदान भएको भए प्रस्तावकर्ता (ओलीपक्ष) अल्पमतमा पर्थे।’
विगतमा समेत ओली आफ्नैबाट कमजोर बनेका उदाहरण छन्। जबजब ओली विपक्षीलाई कमजोर बनाउन लाग्छ, तबतब आफ्नैहरू ‘बैरी’ बनेका छन्। पहिलो पटक प्रधानमन्त्री बन्दा माओवादीको समर्थन ओलीले पाएका थिए।
२०७२ साल असोजमा प्रधानमन्त्री बनेका उनलाई माओवादीले समर्थन फिर्ता लिँदा २०७३ साउनमै विदा पाएका थिए। उनले त्यसबेला प्रधानमन्त्रीबाट राजीनामा दिने क्रममा संसद्मा आफ्नैलाई मिलाउन नसकेको अभिव्यक्ति दिएका थिए। त्यसपछि पनि ओलीलाई आफ्नैहरूबाट घात भयो। २०७४ साल फागुनमा दोस्रो पटक प्रधानमन्त्री भएका उनी पार्टी (नेकपा) मा विवाद बढ्दा संसद् विघटन गर्न बाध्य भएका थिए।
नेकपा विभाजित भएर नेकपा एमाले र नेकपा माओवादी पूर्ववत् फर्किदा ओली ठूलो दलको नेताको हैसियतमा प्रधानमन्त्री बनेका थिए। तर उनको पार्टी एमाले विभाजित हुन पुग्दा अल्पमतमा परे। त्यसबेला पनि दुईतिहाईको सरकार चलाएका ओली पार्टी विभाजित बनेपछि पद गुमाउँदा ९३ मत पाएका थिए। २०७४ मा वामगठबन्धन भएर निर्वाचनमा गएको एमालेले मात्रै १२१ सिट जितेको थियो। ओलीले आफ्नै पार्टीका सांसदको मत नपाउँदा पद गुमाउनु परेको थियो।
अहिले पनि ओली दुई तिहाईको सरकार र पार्टीको शक्तिशाली अध्यक्ष पदको ओहोदामा छन्।