एमाले-समाजवादीमा एकैदिन ‘विस्फोट’ : विद्या र रामकुमारीले ‘फायर खोल्दा’ दुवैतिर बबन्डर

किरण पौडेल १५ असार २०८२ २१:४०
100
SHARES
एमाले-समाजवादीमा एकैदिन ‘विस्फोट’ : विद्या र रामकुमारीले ‘फायर खोल्दा’ दुवैतिर बबन्डर

काठमाडौँ- नेकपा एमालेमा पाँच वर्षयता ‘आलोचना’ र ‘फरक मत’ वर्जित बनेको थियो। पार्टीको १० औँ महाधिवेशनपछि दोस्रो कार्यकालका लागि अध्यक्ष बनेका केपी शर्मा ओलीले एकछत्र राज गरे। १० औँ महाधिवेशनपछि झनै बलियो बनेर आएका उनीविरूद्धका स्वर पार्टीभित्र लगभग सुनिएन। आलोचना गर्नेमाथि कारबाहीको डण्डा बज्रियो।

तर ११ औँ महाधिवेशनको संघारमा आइपुग्दा एमालेभित्र ओलीविरुद्धका स्वरहरू सुनिन थालिएका छन्। अध्यक्ष ओलीको कार्यशैलीबाट असन्तुष्टहरू आलोचना र विरोध गर्ने हिम्मत जुटाउन थालेका छन्।

ओलीको कार्यशैली मन नपराएर पनि मौन बसेका नेताहरू समेत खुल्न थालेका छन्। शनिबार पूर्वराष्ट्रपति विद्या भण्डारीले एमालेको सदस्यता नवीकरण गरेको अभिव्यक्ति दिएपछि राजनीतिक वृत्त तरंगित बनेको छ।

भण्डारीको पुनरागमनले ओलीको शैली मन नपराउनेमा खुसीयाली छाएको छ। एमालेभित्रका ओलीविरोधीहरू भण्डारीलाई भावी नेतृत्वको रूपमा प्रस्तुत गर्न थालेका छन्। शनिबार मदन भण्डारी फाउन्डेसनको कार्यक्रममा भण्डारीले पार्टी राजनीतिमा फर्किने उद्घोष गर्दा एमालेका नेता–कार्यकर्ताले ताली पिटेका थिए। कार्यक्रममा एमाले अध्यक्ष एवं प्रधानमन्त्री ओलीसमेत सहभागी भए पनि भण्डारीको अभिव्यक्ति सुन्न चाहेनन्।

भण्डारीले सम्बोधन गर्नुअघि नै ओली कार्यक्रमबाट बाहिरिएका थिए। स्पेन भ्रमणका लागि प्रस्थान गर्नुपर्ने भएकाले पनि पहिले सम्बोधन गरेर उनी कार्यक्रमबाट हिँडेको हुन सक्छ।

एमाले नेताहरूका अनुसार पार्टीमा पुनरागमन गर्ने भण्डारीको घोषणाबाट ओली खुसी छैनन्। उनमा एकखाले नैराश्यता छाएको छ। फाउन्डेसनको कार्यक्रममा सम्बोधन गर्ने क्रममै ओलीले भण्डारीमार्फत कुनै पनि ‘बम पड्किनेवाला छैन’ भनेका थिए।

ओलीले राष्ट्रपति भइसकेकाले पनि भण्डारी पुनः एमालेमा पुनरागमन नगर्ने ओलीको विश्वास थियो। तर ओलीको विश्वासविपरीत भण्डारीले एमालेमा फर्किने र मदन भण्डारीको लिगेसीलाई अगाडि बढाउने बताइन्।

शनिबार एमालेमा मात्रै ‘बम’ पड्किएन, एमालेबाटै विभाजित अर्को पार्टी नेकपा एकीकृत समाजवादीमा पनि नेतृत्वमाथि पश्न उठ्यो। रोचक कुरा के भयो भने, एकै दिन दुवैतिर नेतृहरूले पार्टीको नेतृत्वमाथि पश्न उठाए। समाजवादीकी पूर्वसचिव रामकुमारी झाँक्रीले तिखो शब्दमा नेतृत्व फेर्नका लागि ‘अर्ली महाधिवेशन’ को माग गरिन्।

सम्भवतः काठमाडौँमा भण्डारीले ‘एमालेमा फर्कन्छु’ भन्दै गर्दा बुटवल पुगेकी झाँक्रीले अब काँधमाथि मरेको ‘सिनो हालेर हिँड्न सकिँदैन’ भन्ने समय पनि उस्तै परेको हुनुपर्छ।

पछिल्लो समय समाजवादी अध्यक्ष माधवकुमार नेपाल पतन्जली प्रकरणमा जोडिएर मुद्दा खेपिरहेका छन्। करोडौँ रकम पर्ने पतन्जलीको जग्गालाई नीतिगत निर्णय गराई कानुनविपरीत सट्टापट्टा गरेको अभियोग नेपालमाथि लागेको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले करोडौँ पर्ने जग्गाका विषयमा मुद्दा दायर गरेको थियो भने विशेष अदालतले ३५ लाख रुपैयाँ धरौटीमा नेपाललाई रिहा गर्न आदेश दिएको छ।

पुर्पक्षका लागि थुनामा जानबाट जोगिएर केही राहत पाए पनि उनीविरुद्धको मुद्दाको अन्तिम टुंगो लागेको छैन। यही कारण विवादित नेतालाई अध्यक्ष बनाउन नहुने सन्दर्भमा झाँक्रीले ‘सिनो बोकेर’ हिँड्न नहुने भनेकी थिइन्।

उनको अभिव्यक्तिप्रति समाजवादी नेताकार्यकर्ताहरू आक्रोशित छन्। सामाजिक सञ्जालमा उनीहरूको खैलाबैला चलेको छ।

नेतृहरूको अभिव्यक्तिले पार्टीमा कित्ताकाट

भण्डारीले शनिबार राष्ट्रिय सभा गृहमा एमालेमा फर्केको अभिव्यक्तिले पार्टीलाई तरंगित बनाएको छ। ओलीनिकट नेताहरूले भण्डारी राष्ट्रपति बनिसकेको भन्दै राजनीतिमा फर्किन नहुने तर्क गरिरहेका छन्।

उनीहरूले विधिविधान भन्दै भण्डारीको आगमनलाई रोक्न खोजेका छन्। त्यसो त ओलीले भण्डारी उपस्थित कार्यक्रममा नै मदन भण्डारीको उदाहरण दिँदै ‘दुलोबाट आएर महासचिव नबनेको’ बताएका थिए। उनले मदन भण्डारीले महासचिव बन्ने इच्छा नहुँदानहुँदै आफूले बनाएको दाबी गरे। नेताहरूले ओलीको टिप्पणीलाई भण्डारीको प्रसंगसँग जोडेर हेरेका छन्।

‘मदन महासचिव बन्न चाहेका थिएनन्। अब भण्डारी पनि आउनु हुन्न भन्ने जस्ता अभिव्यक्ति अध्यक्ष कमरेडले राख्नुभयो,’ एमालेका एक नेता भन्छन्।

पुनरागमनको घोषणापछि भण्डारीको जति विरोध भएको छ, स्वागत पनि उस्तै भइरहेको छ। सभागृहमै भण्डारी अगाडि बोलेका एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमालेको राजनीतिमा फर्किने/नफर्किने भण्डारीले नै जान्ने कुरा भएको बताए।

उनले एमालेको विधानमा रहेको ७० वर्षे हदम्याद र दुई कार्यकालको चर्चा गर्दै निरन्तर लागू गरेर जानुपर्ने धारणा राखे। एमालेको हालको विधानअनुसार यी प्रावधान लागू भए ओलीको बहिर्गमन निश्चित छ। पोखरेलको यो भनाइपछि उनी पनि भण्डारीको पक्षमा खुलेको आकलन कार्यकर्ताहरूले गरेका छन्।

अहिले भण्डारीको पक्षधरता सामाजिक सञ्जालमा पनि बढेको छ। नेता–कार्यकर्ताले ‘मदनको नीति, विद्याको नेतृत्व’ को नारा लगाएका छन्। एमालेका धेरै नेताकार्यकर्ताहरूले भण्डारीलाई नेतृत्वमा आएको देख्न चाहिरहेका छन्।

‘एमालेमा विद्या भण्डारी नेतृत्वमा देख्न चाहने धेरै छन्,’ एमाले नेता कर्ण थापा भन्छन्। त्यसो त, भण्डारीको पुनरागमन एमालेका संस्थापनका लागि एकखाले अप्रत्याशित राजनीतिक घटना भइदिएको छ। यो घटनाक्रमले एमाले उपल्लो तहदेखि तलको कमिटीसम्म दुई समूहमा विभाजित हुने निश्चितप्रायः छ।

एमाले नेताहरूका अनुसार ओलीबाट असन्तुष्ट नेता–कार्यकर्ताहरूका दह्रिलो ओत बनिदिएकी छन् भण्डारी। भण्डारीले सम्बोधनकै क्रममा पनि देशभर आफूले कार्यकर्ता भेट्दा र निवासमा गरेको संवादमा पनि राजनीतिमा फर्किन अनुरोध गरेको बताएकी थिइन्। उनले आफूमा सामाजिक काम गर्ने हुटहुटी भएको र मदनको सपना पूरा गर्न पनि एमालेको राजनीतिमा फर्किएको दाबी गरेकी छन्।

झाँक्रीको अभिव्यक्तिले समाजवादीमा हलचल

कुनैबेला नैतिकताको कुरा गर्न नथाक्ने नेपालमाथि झाँक्रीले बाण चलाएकी छन्। यसअघि चुनाव हार्दा समेत नेतृत्व छाड्ने नेपाल यसपटक भने अपवाद बनेका छन्। समाजवादी निकट कार्यकर्ताहरूका अनुसार पार्टीमा नेपालले मार्गप्रशस्त गर्न पर्ने जनमत छ। तर नेपालमाथि वर्तमान सरकारले प्रतिशोध साँधेको आरोप लगाउँदै उनीहरू मौन छन्।

समाजवादीमा यसअघि नै नेतृत्व हस्तान्तरणको कुरा उठेको थियो। यसअघिको दसौँ महाधिवेशनमा समेत युवा नेतृत्व भन्दै घनश्याम भुसाल अध्यक्षमा दाबी गरेका थिए। तर माधव नेपाल–झलनाथ खनालको मिलिभगतले भुसाल महासचिवमै थन्किए।

अध्यक्ष नेपाल यतिबेला अदालतको कठघरामा उभिएका छन्। खनाल–भुसालपक्षधर नेता–कार्यकर्ता नेपालले बुझेर राजीनामा दिनु उपयुक्त हुने तर्क गर्छन्। यही सन्दर्भमा नेतृ झाँक्रीले ‘अर्ली महाधिवेशन’ को कुरा उठाएकी हुन्। नेताहरूका अनुसार पार्टीले नेपालको बचाउ गर्न नसक्ने बुझाइ झाँक्रीको छ।

उनले भनिन्, ‘पार्टीमा अर्को ठूलो संकट छ। तपाईंहरू सबैलाई थाहा छ, अध्यक्षकै बारेमा संकट आयो। अब के गर्ने? पार्टीलाई पुनर्गठन गरेर अगाडि बढ्ने हो। संकट आयो भनेर भाग्ने होइन।’

उनले नेतृत्वमाथि प्रहार गर्दै थपिन्, ‘कानुनी, संवैधानिक हिसाबले अध्यक्षमाथि संकट आयो। अब काँधमाथि मरेको सिनो हालेर हिँड्न सकिँदैन। होइन भने हामी सुध्रिने हो भने नयाँ ढंगले जानको लागि केही डिपार्चर गर्नुपरेन? गरौँ न त, अर्ली महाधिवेशन गरौँ। हलबाट नेतृत्व छानौँ। होइन भने मतदाता नामावली सारेर ल्याएका मान्छेहरूबाट, टीका लगाएर बनाएको केन्द्रीय समितिबाट चुनाव लडेर यही पार्टी बनाउने हो भने तपाईँहरुले यो पार्टी बनाउनुहुन्न।’

नेपाल पक्षधर नेताहरू झाँक्रीविरुद्ध खनिएका छन्, यतिबेला। स्थायी कमिटी सदस्य सुदेश पराजुलीले झाँक्रीको अभिव्यक्तिलाई ‘विक्षिप्त मानसिकताको पराकाष्टा’ भनेका छन्।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्,‘लुम्बिनीतिर एउटा विक्षिप्त मानसिकताको पराकाष्टा छरपस्ट भएछ। हिजोदेखि यो मानसिकता कहिले लुकेर, कहिले हो कि होइन कि जस्तो गरेर, कहिले कुनै नेतालाई भ्रममा परेर, कहिले सामाजिक दुनियाँलाई प्रयोग गरेर, कहिले नक्कली स्टन्टबाजी गरेर उदय भएको हो। कहिले पदका निम्ति जस्तो सुकै सम्झौता गरेर प्राप्ति, कहिले पद सत्ता हस्तान्तरण गर्नु पर्दा रुवावासी यो मानसिकताको विशेष गुण हो।’

पार्टीकी पोलिटब्युरो सदस्य दिलु पन्तले पनि झाँक्रीको अभिव्यक्तिलाई स्टन्टको संज्ञा दिएकी छन्। अरूको सेता वस्त्रमा थुक्नुभन्दा आफ्नो मैलिएको मन धुन झाँक्रीलाई उनको सुझाव छ।

त्यसो त समाजवादी नेता दीपक जीएमले ‘आईएम वीथ रामकुमारी झाँक्री’ भनेर झाँक्रीको भिडियो सेयर गरेका छन्।

अर्का समाजवादी निकट पत्रकार घनश्याम वास्तविकले ‘इतिहास बोकेका दुईजना महिला नेता (विद्या भण्डारी र रामकुमारी झाँक्री) जोडले बोलेको छन्। उनीहरूको आवाजमा दम छ। आजको संकटलाई चिर्न र समाजलाई आशावादी बनाउनका निम्ति यी आवाजहरूको खास अर्थ छ,’ भनेका छन्।

दुई नेतृले लिएका जोखिम

एमालेबाट भण्डारी दुईपटक राष्ट्रपति बनेकी नेतृ हुन्। उनी राजनीतिमा फर्किँदा राष्ट्रपति पदमा दाग लाग्ने निश्चित छ। विश्लेषकहरू भण्डारीले राजनीतिमा फर्किएर राष्ट्रपति पदकै दुरुपयोग गरेको भनिरहेका छन्। एमाले नेताहरू भने ओलीको बहिर्गमनका लागि वैकल्पिक पात्र भण्डारी रहेको बताउँछन्।

एमालेमा ओलीलाई काउन्टर दिन सक्ने नेतृत्व नभएको तर्क गरिन्छ। यसअघि ओलीले पार्टीमार्फत गरेका निर्णयको विरोध गर्दा कारबाही गरेको उदाहरण समेत छन्। यसका लागि नेताहरूले भण्डारीमाथि पनि ओली ‘काउन्टर’मा उत्रिन सक्थे। तर नेताहरूका अनुसार भण्डारीले जोखिम मोलिन्।

ओली–भण्डारी लामो समयदेखि पार्टीभित्र पनि एउटै प्यानलको राजनीति गर्थे। विगतमा पार्टी संस्थापनविरुद्ध भण्डारी–ओली एक बनेर लड्थे। भण्डारी राष्ट्रपति बन्दा ओली प्रधानमन्त्री बने।

अहिले भण्डारीले सक्रिय राजनीतिको नक्सा कोर्दै गर्दा ओलीमाथिको काउन्टर निश्चित छ। एमालेमा दुई कार्यकाल अध्यक्ष बनेका ओली तेस्रो कार्यकाल चलाउने प्रयत्नमा छन्। तर पुरानो सहयात्रालाई ‘विराम’ लगाउँदै भण्डारी ओलीविरुद्ध उत्रिने सम्भावना छ।

राजनीतिक विश्लेषक एवं कानुनविद् टीकाराम भट्टराई भण्डारीको पुनरागमनमा एमालेवृत्तमा हौसला छाएको बताउँछन्। उनी पुराना एमाले नेता र नयाँ कार्यकर्तामा पनि भण्डारीको पदचापबाट खुसी देखिएको दाबी गर्छन्।

समाजवादीमा झाँक्री लामो समयदेखि नेपाल निकटस्थ नेतृ हुन्। गएको महाधिवशेनमा नेपालको प्यानलबाट झाँक्रीले प्रतिनिधित्व गर्दै उपाध्यक्षमा उम्मेदवारी दिएकी थिइन्। झाँक्रीले ११३ मत पाउँदा विजयी भएकी जयन्ती राईले १९८ मत पाइन्। जयन्ती महासचिव भुसाल प्यानलबाट उठेकी थिइन्।

प्रकाशित: १५ असार २०८२ २१:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast