मधेशी मोर्चाले ६ वटा प्रदेशमा सभा गर्ने, रूपन्देही ३ मा जनमतको ‘रिजर्भेसन’

हिमाल प्रेस १५ असार २०८२ १७:०६
38
SHARES
मधेशी मोर्चाले ६ वटा प्रदेशमा सभा गर्ने, रूपन्देही ३ मा जनमतको ‘रिजर्भेसन’ संघीय लोकतान्त्रिम मधेशी मोर्चाको बैठक

काठमाडौँ- सात दल आवद्ध संघीय लोकतान्त्रिम मधेशी मोर्चाले ६ वटा प्रदेशमा सभा गर्ने भएको छ। आइतबार लाजिम्पाटस्थित वावा होटलमा बसेको मोर्चाको बैठकले गण्डकीबाहेकका प्रदेशहरूमा सभा गर्ने निर्णय गरेको हो।

मोर्चाको उद्देश्य, औचित्य र आवश्यकताबारे जानकारी गराउने उद्देश्यले संयुक्त सभा गर्ने निर्णय भएको बैठकमा सहभागी जनता समाजवादी पार्टी (जसपा) नेपालका महासचिव रामकुमार शर्माले जानकारी दिए।

उनका अनुसार साउन १७ गते काठमाडौँ, २१ गते भैरहवा, २३ गते कैलाली, भदौ १६ गते विराटनगर, भदौ १८ गते जनकपुर र भदौ २० गते बीरगञ्जमा सभा हुनेछ।

त्यस्तै बैठकले मोर्चाको कार्यविधि पारित गर्दै आजकै मितिबाट लागू गर्ने निर्णय गरेको छ।

बैठकमा रुपन्देही ३ मा हुने उपनिर्वाचनका विषयमा पनि छलफल भएको छ। उपनिर्वाचनमा मोर्चाका तर्फबाट साझा उम्मेदवार दिने विषयमा सबै दल एकमत रहेका छन्।

रुपन्देही ३ मा नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले आफ्नो तर्फबाट साझा उम्मेदवार बनाउन प्रस्ताव गरेको छ। यसअघिको निर्वाचनमा पनि राम्रो मत ल्याएको र थारू बाहुल्यको क्षेत्र भएकाले नाउपाबाट साझा उम्मेदवार बनाउन संरक्षक रेशम चौधरीले प्रस्ताव गरेका छन्।

चौधरीको यो प्रस्तावमा सबै दलहरूले सहमति जनाए पनि जनमत पार्टीले भने आफ्नो पनि दाबेदारी प्रस्तुत गरेको बताइएको छ।

‘रेशमजीको प्रस्तावमा सबै दल सहमत नै छन्। जनमत पार्टीले पनि रुपेन्देही ३ का लागि आफ्नो दलको दाबेदारी प्रस्तुत गर्नु भएको छ। सीकेजीले पनि मान्नु हुन्छ। उपनिर्वाचनमा हाम्रोतर्फबाट साझा उम्मेदवार नै हुन्छ।’

नाउपाका संरक्षक चौधरीको अध्यक्षतामा भएको बैठकमा जसपा नेपालका राजकिशोर यादव, मनिष सुमन, शर्मा, नाउपाबाट संरक्षक चौधरी, लालबीर चौधरी, अरुण चौधरी, राष्ट्रिय मुक्ति पार्टीबाट राजेन्द्र महतो, केशव झा र अनिल महासेठ सहभागी भएका थिए।

त्यस्तै लोसपाबाट महन्थ ठाकुर, सर्वेन्द्रनाथ शुक्ल, लक्ष्मणलाल कर्ण, ज्ञानेन्द्र झा, जनमत पार्टीबाट अब्दुल खान, जनता प्रगतिशील पार्टीबाट हृदयेश त्रिपाठी, शिवजी यादव, सबिर हुसेन र तमलोपाबाट वृषेशचन्द्र लाल र ब्रजकिशोर सिंह बैठकमा सहभागी भएका थिए।

प्रकाशित: १५ असार २०८२ १७:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast