धानखेतीलाई परम्परागत प्रणालीबाट आधुनिक प्रविधिमा रूपान्तरण गर्नुपर्छ : उपराष्ट्रपति यादव

हिमाल प्रेस १५ असार २०८२ ८:५२
4
SHARES
धानखेतीलाई परम्परागत प्रणालीबाट आधुनिक प्रविधिमा रूपान्तरण गर्नुपर्छ : उपराष्ट्रपति यादव

काठमाडौँ- उपराष्ट्रपति रामसहायप्रसाद यादवले धानखेतीलाई परम्परागत प्रणालीबाट आधुनिक प्रविधिमा रूपान्तरण गर्दै सिँचाइ, बीउ, मल र यान्त्रिकीकरणमा लगानी बढाउनुपर्ने आवश्यकता औँल्याएका छन्।

उपराष्ट्रपति यादवले २२औँ राष्ट्रिय धान दिवसका अवसरमा आज शुभकामना व्यक्त गर्दै सबै मिलेर दिगो कृषि प्रणाली स्थापनातर्फको यात्रामा दृढतापूर्वक अघि बढ्दै खाद्य सुरक्षाको मेरुदण्डलाई थप बलियो बनाउनुपर्ने बताएका छन्।

धानखेतीलाई परम्परागत प्रणालीबाट आधुनिक प्रविधिमा रूपान्तरण गर्दै सिंचाइ, बीउ, मल र यान्त्रिकीकरणमा लगानी बढाउन जरुरी रहेको उपराष्ट्रपति यादवको भनाइ छ।

‘जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न जलवायु अनुकूल बीउको प्रयोग, पानीको व्यवस्थापन र जैविक मलको प्रयोगलाई प्राथमिकता दिँदै जलवायुमैत्री कृषिकर्मलाई प्रवर्द्धन गर्न उत्तिकै आवश्यक छ। धान आयात घटाउने रणनीतिका साथ अघि बढ्दै नेपालमा वार्षिक रूपमा अर्बौँ रुपैयाँ बराबरको चामल आयात रोक्न जरुरी छ’, उपराष्ट्रपति यादवको सन्देशमा उल्लेख छ।

धान उत्पादन बढाउने, भण्डारणमा सुधार र बजारमा पहुँच विस्तार गर्ने नीतिको सशक्त कार्यान्वयनमा जोड दिनुपर्ने उल्लेख गर्दै उपराष्ट्रपति यादवले बीउमा अनुदान, सिंचाइ सुविधामा वृद्धि, कृषक परिचयपत्र र बीमाजस्ता कार्यक्रमलाई थप प्राथमिकतमा राख्नुपर्ने आवश्यकता औँल्याए।

यो दिवस आत्मनिर्भर र समृद्ध नेपाल निर्माण गर्ने साझा लक्ष्यसहित उन्नत कृषि प्रणालीको विकास र आधुनिकीरणप्रतिको दृढसंकल्पको प्रतीकका रूपमा लिइन्छ। किसानका सीप, निरन्तर श्रम र धैर्यलाई सम्मान गर्दै कृषि क्षेत्रलाई समृद्ध, उत्पादनमुखी र जलवायु अनुकूल बनाउन यो दिवसले सबै नेपालीलाई अभिप्रेरित गर्दछ। धान, हाम्रो खाद्य सुरक्षाको मेरुदण्ड र कृषि अर्थतन्त्रको आधारस्तम्भ हो । धानबालीमा स्थानीय जातहरूको संरक्षण र उन्नत प्रविधिको प्रयोग गर्दै जलवायु अनुकूल, उत्पादनमुखी तथा समावेशी कृषि प्रणाली अंगीकार गर्नुपर्ने उपराष्ट्रपति यादवको भनाइ छ।

प्रकाशित: १५ असार २०८२ ८:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast