
काठमाडौँ– नेकपा एमालेमा एक छत्रराज गरेका केपी शर्मा ओली फेरि नेतृत्वमा उदाउने तयारीमा छन्। पार्टीभित्र प्रतिस्पर्धीहरूलाई कमजोर बनाउँदै अघि बढेका ओली तेस्रोपटक पार्टी नेतृत्व लिने दाउमा छन्।
एमालेको नवौँ महाधिवेशनबाट पहिलोपटक अध्यक्ष बनेका ओली दशौँ महाधिवेशनबाट पनि अध्यक्षमा दोहोरिए। निकट नेताहरूका अनुसार ओली एमालेमा फेरि अध्यक्षमा तेहेरिने उत्कट अभिलाशामा छन्।
यसैले पनि ओली जसरी पनि अध्यक्ष बन्ने तयारीमा जुटेको नेताहरू सुनाउँछन्। केही दिनअघि एक कार्यक्रममा ओलीले ‘एमाले २० वर्ष कसैले आश नगरे हुने’ भन्ने अभिव्यक्ति दिएका थिए।
नेकपा एमालेको ७६ औँ स्थापना दिवसका अवसरमा ओलीले भनेका थिए ‘कतिपयलाई मेरो उमेर र मेरो स्वास्थ्यको चिन्ता छ। अहिले म बिरामी छैन। अबको २०–२५ वर्षपछि बुढो हुन्छु। कसैले हतार गरेर हुँदैन। केपी ओलीविनाको एमाले कसैले कल्पना गरेको छ भने त्यो पूरा हुँदैन।’ उनले बारम्बार यस्तो अभिव्यक्ति दिइरहेका छन्। गत वर्ष पोखराको एक कार्यक्रममा पनि ओलीले यस्तै अभिव्यक्ति दिएका थिए।
‘कसैले एमालेविनाको देशको पनि कल्पना गरेका छन्। केपी ओलीविनाको एमाले किन खोजेको होलान्? तिनको मनसाय राम्रो भए त म सरक्क छोडिदिने थिएँ,’ उनले भनेका थिए,‘कसैले केपी ओलीविनाको एमाले भने, दया लागेर आउँछ। केपी ओली नभइदिए, यसो गथ्र्यौं, उसो गथ्र्यौं, लाग्या होला। मैले पोहोर परार भनेको थिएँ नि, जुँगा अलि काला–काला हुन थाले भनेर। मेरो कपाल सबै झरेको थियो, अहिले पलाउन थालेको छ। यो रोपेको होइन, आफैँ पलाउन थालेको छ। मैले भने नि २० वर्ष जति अरु कसैले आश नगरे पनि हुन्छ।’
यसबाट पनि ओली अध्यक्षमा तेहेरिन्छन् भन्ने प्रष्ट संकेत देखाउँछ। ओलीको अभिव्यक्तिमात्र नभई एमालेमा गृहकार्य पनि त्यस्तै छ। किनकि, एमालेले यसै वर्षमा ११ औँ महाधिवेशन गर्दैछ। यदि अन्य केही अवरोध नभएमा आगामी वैशाखसम्ममा एमालेको महाधिवेशन भइसकेको हुनेछ।
‘हो, यो वर्ष हाम्रा लागि महत्त्वपूर्ण वर्ष हुनेछ। हामी महाधिवेशन गर्दैछौँ,’ एमाले स्थायी कमिटी सदस्य एवं संगठन विभाग प्रमुख काशीनाथ अधिकारीले हिमालप्रेससँग भने,‘विधान सम्मेलनले मिति तय गर्छ। तर यसै वर्ष हुन्छ।’
एमालेले आगामी भदौ २०, २१ र २२ गते विधान सम्मेलन गर्दैछ। यसअघिको एमालेको केन्द्रीय कमिटी बैठकले विधान सम्मेलनको मिति तय गरेको हो।
नेताहरूका अनुसार विधान सम्मेलनको ६ महिनाभित्रमा महाधिवेशन गर्ने प्रचलन छ। यद्यपि, यो वैधानिक बाध्यता चाहिँ होइन। ‘हामीले विधान सम्मेलन गरेको ६ महिनाभित्र महाधिवेशन गर्ने तयारी गरेका छौँ। त्यसैले यही वर्ष महाधिवेशन हुने सम्भावना छ,’ अधिकारी थप्छन्। नेताहरूका अनुसार ओली मंसिरदेखि चैतसम्ममा महाधिवेशन गर्ने तयारीमा छन्।
‘मंसिरमै महाधिवेशन भयो भने पनि अनौठो नमाने हुन्छ,’ एमालेका एक नेता भन्छन्। यदि २०८२ सालमै महाधिवेशन भएमा एक वर्ष अगाडि नै हो। किनकि, एमालेको महाधिवेशन गरेको २०८३ सालमा मात्रै ५ वर्ष पुग्छ। वैधानिक रूपमा वा अन्य कुनै कारणले एमालेलाई तत्काल महाधिवेशन गर्नु जरुरी छैन।
एमालेको १० औँ महाधिवेशन २०७८ मंसिरमा भएको थियो। यसरी महाधिवेशन अगाडि तान्नुको कारण अनेक देखाउँछन् एमाले नेताहरू। तर, मुख्य कारण हो, एमालेको फेरि अध्यक्ष बन्ने ओलीको चाहना।
किन हतारिए ओली?
नेताहरूका अनुसार ओली फेरि अध्यक्ष बन्ने चाहनामा छन्। एमालेको योजना र ओलीको भनाइले पनि यो पुष्टि गर्छ। यदि ०८३ मंसिरसम्म कुर्दा एमालेको नेतृत्वमा आफू प्रतिकूल राजनीतिक स्थिति निर्माण हुनसक्ने ओलीको बुझाइ छ। ‘विद्या भण्डारी जोडतोडका रूपमा अघि बढिरहनुभएको छ। यसले थ्रेट ओलीलाई पर्छ,’ एमालेका एक पदाधिकारी भन्छन्, ‘यसैले यही वर्ष महाधिवेशन गरेर सर्वसम्मत अध्यक्ष बन्न ओली चाहन्छन्।’
पार्टीभित्र ओलीका ‘थ्रेट’ बनिरहेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले अन्ततः पुनः एमालेको सक्रिय राजनीतिमा फर्किने उद्घोष गरिसकेकी छन्। शनिबार मदन भण्डारी फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा विद्याले सक्रिय राजनीतिमा फर्किने उद्देश्यले नै सदस्यता नवीकरणसमेत गराइसकेको बताइन्।
यो घोषणासँगै उनी सक्रिय राजनीतिमा फर्किने विभिन्नखाले अड्कलबाजीहरू शनिबारबाट अन्त्य भएको छ। विद्याले सक्रिय राजनीतिमा फर्किने घोषणा गरिरहँदा एमाले अध्यक्ष ओली आफ्नो सम्बोधन गरेर कार्यक्रमस्थलबाट बाहिरिइसकेका थिए। विद्याभन्दा अगाडि सम्बोधन गरेका ओलीले एमाले सधैँ एकजुट भएर अगाडि बढ्ने दाबी गरेका थिए। यद्यपि सक्रिय राजनीतिमा फर्किने घोषणा पूर्वराष्ट्रपति विद्याले गर्ने अनुमान ओलीले गरिसकेका थिए। यसै कार्यक्रमबाट एमाले ध्वस्त हुने कतिपयले सपना देखिरहेको बताउँदै उनले त्यस्ता मानिसहरूको सपना कहिल्यै पूरा नहुने जिकिर गरेका थिए।
‘मैले यहाँ बम पड्काउँछु, विद्यादेवी भण्डारीले बम पड्काउँछन्, यहीँबाट एमाले ध्वस्त हुन्छ भन्ने कतिपयले सपना देखेका छन्। त्यस्तो केही हुनेवाला छैन यहाँ,’ ओलीले भने।
ओलीले हलुका रूपमा लिए पनि एमालेको सक्रिय राजनीतिमा फर्किने घोषणा गरेर पूर्वराष्ट्रपति विद्याले कार्यक्रममा बम पड्काई दिइन्। पुनः एमालेमा जोडिँदा आफूलाई गर्व महसुस भएको उनले बताइन्। विद्याले पार्टीभित्र आफ्नो कुनै विशिष्ट महत्वाकांक्षा नभएको समेत बताइन्।
सार्वजनिक रूपमा विशिष्ट महत्वाकांक्षा नभएको बताए पनि पूर्वराष्ट्रपति विद्या आगामी महाधिवेशनबाट पार्टीको नेतृत्व सम्हाल्ने रणनीतिका साथ अगाडि बढिरहेको एमालेका नेताहरूकै भनाइ छ।
एमाले स्रोतका अनुसार विद्या जसरी अहिले तयारीमा जुटेकी छन्, त्यसले ओलीलाई ‘थ्रेट’ भइरहेको छ। उनी एमालेभित्रका अधिकांश नेतासँग नजिक छन् भने देशभर भ्रमण पनि गरिरहेकी छन्। उनी एमालेकै कार्यक्रममा सहभागी भएर पनि भाषण गर्न समेत भ्याइसकेकी छन्।
‘भण्डारीजी विभिन्न यात्रा भन्दै देशभर पुगिसक्नुभएको छ। अब केही दिनमा कर्णाली पुग्ने पनि खबर छ,’ एमालेका एक नेता भन्छन्।
अर्को कुरा, एमालेमा ओलीप्रतिको नकारात्मक प्रभाव पनि हो। ओली जसरी आफूलाई ‘ब्रान्डिङ’ गर्न चाहन्थे, त्यो अवस्था अहिले छैन। विगतमा ओली निकटस्थ मानिनेहरू नै पनि अहिले टाढिएका छन्। यदि यही अवस्था रहेमा प्रतिकूल हुन सक्ने ओलीको बुझाइ छ। ओलीका पछिल्ला क्रियाकलापप्रति एमाले नेताहरू नै पश्न उठाइरहेका छन्।
विगतमा ओली निकटस्थ मानिने विन्दा पाण्डे, गोकुल बास्कोटाहरू समेत पछि हटेका छन्। पाण्डे त ओलीको विरुद्धमा आवाज उठाउँदा कारबाहीमै परिन् भने बास्कोटा भण्डारी निकटस्थ छन्। ओलीसँग असन्तुष्ट भएर पनि पार्टीभित्र संरक्षण गर्ने नहुँदा कतिपय नेताहरू मौन भएर बसेका छन्। विरोधीलाई सिध्याउने ‘ओली–नीति’ बाट त्रसित भएर उनीहरू चुपचाप बसेका छन्।
तर, विद्या सक्रिय राजनीतिमा फर्किए पार्टीभित्रका ओलीविरोधीहरूले संरक्षक बनाउने सम्भावना बलियो छ। कतिपय ओलीनिकटकै कतिपय नेता–कार्यकर्ता दोस्रो तहका नेताबाट पनि आफू प्रताडित भएको महसुस गरिरहेका छन्। तर विकल्प नहुँदा मौन छन्। त्यस्ता असन्तुष्ट नेता कार्यकर्ताहरूलाई आफ्नो ‘क्याम्प’ मा ल्याएर विद्या एमालेको राजनीति अगाडि बढाउन चाहेकी छन्।
त्यसैले अवस्था बिग्रिनुभन्दा पहिल्यै ओली हाबी भइहाल्ने सुरमा छन्। ‘अहिलेको एमालेको बिग्रँदो अवस्थालाई ध्यानमा राख्दै ओली फेरि हाबी हुन चाहन्छन्,’ एमालेका एक पदाधिकारी भन्छन्,‘यही कारण उनले (ओली) प्रतिस्पर्धीलाई प्रतिकूल हुने समय रोज्दैछन्।’
डर विद्याको, बाहना ०८४ चुनावको
एमालेमा अहिले ओलीलाई सबैभन्दा बढी ‘थ्रेट’ विद्याकै छ। कुनैबेला ओली प्यानलबाटै राजनीति गरेकी उनी अब एमालेको नेतृत्व हाक्न चाहन्छिन्। विद्याले दिने अभिव्यक्ति र अन्तर्वार्ताबाट पनि यो प्रष्ट हुन्छ।
एमाले नेतृत्वको आकांक्षा उनीबाट लुकेको छैन। अर्को, उनी एमालेले पाउने भागबन्डामा पनि मिसिरहेकी हुन्छिन्। आफ्नो प्यानलबाट पनि प्रतिनिधित्व हुनुपर्ने उनको दबाब रहने गरेको एमाले नेताहरू सुनाउँछन्।
पछिल्ला जिल्ला÷प्रदेशको महाधिवेशनबाट पनि विद्याको पक्षमा माहोल बढेको देखिन्छ। यही कारण पनि एमाले नेताहरू खुलेर अहिले विद्याको पक्षधरता देखाइरहेका छन्।
एमाले स्थायी कमिटी सदस्य कर्ण थापा एमालेमा विद्या आउनुपर्ने दाबी गर्दै आएका छन्। तर, एमाले नेताहरू नेता ०८४ को चुनावलाई आधार बनाएर महाधिवेशन छिटो गर्न लागेको बताउँछन्।
‘०८३ मा महाधिवेशन गरेर ०८४ मा चुनावमा जाँदा हामीमा चुनावको धङधङगी हुन सक्छ,’ एमाले स्थायी कमिटी सदस्य अधिकारी भन्छन्, ‘यसले गर्दा हामीले ०८२ मै महाधिवेशन गर्नु उपयुक्त हुन्छ।’ अधिकारी अहिलेसम्म जिल्ला र प्रदेश अधिवेशन सकिएकाले महाधिवेशनको उपयक्त समय पनि हुने तर्क गर्छन्।
‘यदि विधान सम्मेलन समयमा भएमा हामीले चैतसम्ममा महाधिवेशन गर्न सक्छौँ,’ एमाले सचिव पद्मा अर्याल भन्छिन्। अर्यालका अनुसार ०८४ मा दुई तिहाई ल्याउने गरी लाग्न पनि एमालेलाई सांगठनिकरूपमा दह्रो बनाउनु आवश्यक छ।
प्रतिस्पर्धी हटाएपछि सर्वसम्मान्य हुने ओलीको दाउ
एमालेको विधान सम्मेलनले विधिका विषयमा कुरा गर्नेछ। ओलीले आफूलाई प्रतिकूल हुने उमेर हदको नियम यसअघि नै निलम्बन गरिसकेका छन्। एमाले नेताहरूका अनुसार आउँदो विधान सम्मेलनबाट उमेर हद (७० वर्षे) हटाउने छन्। त्यसपछि ओलीका लागि उमेरको बाधा हट्नेछ।
यसअघिसम्म एमालेमा ७० वर्षे उमेर हद लागु भएको थियो। एमाले नेताहरूका अनुसार ओलीले आफ्ना प्रतिस्पर्धी मानिने केही नेता समेत यसअघि नै एमालेबाट हटाइसकेको/हटेका छन्।
१० औँ महाधिवेशन पूवार्धमै माधव नेपाल, झलनाथ खनाल एमालेबाट बाहिरिएका थिए। ओलीकै प्रतिस्पर्धी मानिएका वामदेव गौतमले लगातार पार्टी प्रवेश गर्ने आकांक्षा राख्दा समेत पाएका छैनन्। १० औँ महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिएर ओलीको प्रतिस्पर्धीका रूपमा नाम दर्ज भएका भीम रावल यसअघि नै निकालिएका छन्।
एमाले स्रोतका अनुसार ओलीको शैलीप्रति प्रश्न उठाउने रावल फेरि अध्यक्षमा उम्मेदवारी दिने सम्भावना थियो। ओलीको बिग्रदो माहोलले रावललाई साथ दिने उनीहरूको बुझाइ थियो। यसैले पनि ओलीले यसअघि नै अनुशासनको कारबाही गर्दै रावललाई निकालेका छन्।
‘जतिबेला रावललाई निकालियो। त्यो उपयुक्त समय थियो। न चुनाव, न अधिवेशन,’ एमाले नेताहरू भन्छन्, ‘रावललाई हटाएपछि अब सुदूरपश्चिममा समेत एमाले नेताहरूले कित्ता स्पष्ट गर्न सहज भएको छ। महाधिवेशन सम्ममा सबै सामान्य हुन्छ।’
यी नेता हटेपछि अब ओलीलाई ‘थ्रेट’ को रूपमा विद्या मात्र छिन्। यसैले विद्याले सक्रियता बढाउनुपूर्व नै ओली महाधिवेशन गर्न चाहन्छन्। ‘विद्याजी वार्मअपमै हुनुहुन्छ। ओली यसैबेला उपयुक्त ठान्दै हुनुहुन्छ,’ एक नेता भन्छन्।
एमाले सचिव अर्याल भने नेतृत्वलाई दह्रो बनाउन पनि महाधिवेशन अपरिहार्य रहेको तर्क गर्छिन्। ‘महाधिवेशनले चुनावलाई असर नपरोस् भन्नका लागि उपयुक्त समयमा महाधिवेशन गर्नुपर्छ,’ अर्याल भन्छिन्।