
काठमाडौँ– दाङको घोराहीमा पहिलोपटक आयोजित १० किलोमीटर खुला रोड रेस प्रतियोगितामा पुरुष/महिला दुवैतर्फ विभागीय टोली त्रिभुवन आर्मी क्लबका खेलाडी प्रथम भएका छन्।
प्रदेश खेलकुद परिषद लुम्बिनीको आयोजनामा शनिबार घोराहीमा भएको ‘लुम्बिनी राष्ट्रिय खुला पुरुष/महिला १० किलोमीटर रोड रेस प्रतियोगिता’ अन्तर्गत पुरुषतर्फ त्रिभुवन आर्मी क्लबका सञ्जय श्रेष्ठ र महिलातर्फ आर्मीकै निशा सार्की प्रथम भए।
श्रेष्ठले उक्त दुरी ३१ मिनेट ३० सेकेन्डमा र सार्कीले ३७ मिनेट ४० सेकेन्डमा पार गरे। यस्तै, पुरुषतर्फ आर्मीकै नरेन्द्र रावतले ३१ मिनेट ३९ सेकेन्डमा दुरी पार गर्दै दोस्रो, नेपाल प्रहरीका नागेश्वर अहिरले ३१ मिनेट ४५ सेकेन्डमा दुरी पार गर्दै तेस्रो, आर्मीका विनोद रोकायाले ३१ मिनेट ५१ सेकेन्डमा दुरी पार गर्दै चौथो र एपीएफका रुपेश कार्कीले ३१ मिनेट ५५ सेकेन्डमा दुरी पार गर्दै पाँचौं भए।
प्रतियोगितामा महिलातर्फ एपीएफकी पुष्पा भण्डारीले ३८ मिनेट १९ सेकेन्डमा दुरी पार गर्दै दोस्रो, एपीएफकै दिपा परियारले ३९ मिनेट २१ सेकेन्डमा दुरी पार गर्दै तेस्रो, नेपाल प्रहरीकी सुमित्रा कुमारी चौधरीले ४० मिनेट १७ सेकेन्डमा दुरी पार गर्दै चौथो, आर्मीकी पुष्पा कठायतले ४३ मिनेट ३६ सेकेन्डमा दुरी पार गर्दै पाँचौं भए।
लुम्बिनी राष्ट्रिय खुला पुरुष तथा महिला १० किलोमीटर रोड रेस प्रतियोगितामा प्रथम हुने पुरुष महिला दुवैलाई जनही ५०–५० हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिएको छ। यसैगरी, दोस्रो हुनेले जनही ३०–३० हजार, तेस्रो हुनेले जनही २०–२० हजार, चौथो हुनेले जनही १५–१५ हजार र पाँचौँ हुनेले जनही १०–१० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका प्रदेश खेलकुद परिषद लुम्बिनीले जनाएको छ।
‘लुम्बिनी राष्ट्रिय खुल्ला पुरुष÷महिला १० किलोमीटर रोड रेस प्रतियोगिता’ घोराहीको विद्युत कार्यालयदेखि वडा नम्बर ६ को फचकपुरसम्मको रुट तय गरिएको थियो।