
पोखरा- माध्यमिक शिक्षा परीक्षा (एसईई) मा मदरल्याण्ड माध्यमिक विद्यालयबाट एकैचोटि ११ जना विद्यार्थीले ४.० जीपीए ल्याउन सफल भएका छन्।
गत वर्ष पनि १० जना विद्यार्थीको सर्वोत्कृष्ट ४.० जीपीए आएको थियो। यस विद्यालयबाट १६६ जनाले एसइई दिएका थिए । तीमध्ये ३.६ देखि ४.० जीपीएसम्म आउने १३६ जना छन्। यसैगरी, ३.२ देखि ३.६ जीपीएसम्म आउने २८ जना छन् भने १ जना विद्यार्थीको ३.०५ जीपीए आएको विद्यालयका प्लस टु इन्चार्ज नारायण आचार्यले जानकारी दिए ।
४ जीपीए आउने ११ विद्यार्थीहरुमा अभिनव पराजुली, आमन गुरुङ, आरध्ये पौडेल, दिव्या पराजुली, अर्पण पौडेल, विशेष बञ्जारा, रितिका यादव, ओशन त्रिपाठी, साक्षी भण्डारी, सभ्य मल्ल र शास्वत रेग्मी हुन्। ३.९६ जीपीए ल्याउने मात्रै १८ जना छन् ।
पोखरा ७, मासबारस्थित मदरल्याण्डले एकपछि अर्को रेकर्ड राख्दै आउनेक्रममा यसपालि पनि उत्कृष्ट नतिजा ल्याउन सफल हुँदा सिंगो विद्यालय परिवार खुसी भएको विद्यालय प्राचार्य डा। नारायण बराल बताउँछन् ।
राष्ट्रिय परीक्षा बोर्डले गत चैत महिनामा लिएको परीक्षाको शुक्रबार नतिजा सार्वजनिक गरेको हो । सार्वजनिक नतिजामा कुल ६१.८१ प्रतिशत विद्यार्थी ‘ग्रेडेड’ अर्थात् कक्षा ११ मा भर्नाका लागि योग्य भएका छन्। गत वर्ष ४७.८६ प्रतिशत विद्यार्थी मात्र ग्रेडेड भएकोमा यसपटक १३.९५ प्रतिशतले नतिजा सुधारिएको हो ।