
काठमाडौँ- गणतान्त्रिक नेपालका प्रथम राष्ट्रपति डा.रामवरण यादव जिम्मेवारीमुक्त भएपछि पुनः राजनीतिमा फर्किने चाहना व्यक्त गरेनन्। ‘सेरेमोनियल’ पदको जिम्मेवारी सम्हालिसकेका कारण उनी तटस्थ भएरै बाँकी समय बिताउन मन पराए।
नेपाली कांग्रेसका तर्फबाट मुलुकको पहिलो राष्ट्रपति बन्ने ‘सौभाग्य’ प्राप्त गरेका डा.यादवले राष्ट्रिय र पार्टी राजनीतिबाट सम्बन्ध तोडिसेका छन्, यतिबेला।
डा. यादवजस्तै सबै राजनीतिकर्मीको चाहना हुन्छ भन्ने मुलुकको राजनीतिक घटनाक्रमले देखाइसकेको छ। माओवादी केन्द्रबाट उपराष्ट्रपति बनेका नन्दबहादुर पुन पुनः पार्टी राजनीतिमा सक्रिय भएका छन्। केही दिनअघि मात्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पुनलाई पार्टीको उपाध्यक्षमा मनोनीति गरे।
राष्ट्रपति वा उपराष्ट्रपतिजस्तो तटस्थ पदको जिम्मेवारी सम्हालिसकेकाले नैतिक र सैद्धान्तिक रूपमा सक्रिय राजनीतिमा आउँदा उपयुक्त देखिँदैन। यद्यपि त्यस्ता व्यक्तिलाई पुनः सक्रिय राजनीतिमा फर्किन नेपालको संविधान र राजनीतिक दलका विधानहरूले कुनै बाधा पु¥याएको छैन।
त्यसैकारण दुई कार्यकाल राष्ट्रपतिको जिम्मेवारी सम्हालिसकेकी एमालेकी पूर्वउपाध्यक्ष विद्या भण्डारीमा पुनः सक्रिय राजनीतिमा फर्किने ‘उत्कट चाहना’ देखिएको छ।
र, विद्याले पुनः सक्रिय राजनीतिमा फर्किने उद्घोष शनिबार गर्ने तयारी गरेकी छन्। शनिबार मदन भण्डारीको ७४ औँ जन्म जयन्ती बनाउन राष्ट्रियसभा गृहमा कार्यक्रम राखिएको छ। मदन भण्डारी फाउन्डेसनको आयोजनामा हुन लागेको यही कार्यक्रमबाट विद्याले एमालेको सक्रिय राजनीतिमा फर्किन उद्घोष गर्ने तयारी गरेकी छन्। प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसमेत उपस्थित हुने यो कार्यक्रममा राजनीतिमा फर्किएको उद्घोष गर्ने तयारी रहेको छ।
यसको संकेत उनका समर्थकहरूले सामाजिक सञ्जालमार्फत दिइसकेका छन्। समर्थकहरूले विद्याको नेतृत्व भन्दै सामाजिक सञ्जाललाई रंगी दिएका छन्। सामाजिक सञ्जालमा छ्यापछापी पोस्टरहरूले विद्या एमालेको राजनीतिमा फर्किने लगभग पक्का देखिन्छ।
‘जहाँ मदनको सपना त्यहाँ विद्याको पाइला, जनताको बहुदलीय जनवाद, मदनको नीति, विद्याको नेतृत्व’ उल्लेखित स्लोगनसहितका पोस्टरहरू सामाजिक सञ्जालमा राखेर उनका समर्थकहरूले प्रस्ट संकेट दिइसकेका छन्।
समर्थकहरूले मदन भण्डारी र जबज जोडेर पूर्वराष्ट्रपति विद्यालाई एमालेको भावी अध्यक्षका रूपमा प्रचार गरिरहेका छन्। निकटस्थहरूले विद्यालाई एमालेको भावी नेतृत्वकर्ताको रूपमा प्रचार गरिरहँदा शनिबार हुने राष्ट्रियसभाको कार्यक्रमलाई कमजोर बनाउन पनि प्रयासहरू भइरहेका छन्।
नेताहरूका अनुसार अनेरास्ववियूको बैठक धुलिखेलमा राखिएको छ भने सम्पर्क मञ्चहरूको ब्यानरमा अरू कार्यक्रमहरू पनि राखिएका छन्।
एमाले राजनीतिमा फर्किने विद्याको यो चाहना नौलो भने होइन। उनले पार्टी अध्यक्ष ओलीलाई धेरैअघि भेटेर ‘पार्टी राजनीतिमा फर्किन चाहेकी छु, सहयोग गर्नुस्’ भनेर जानकारी गराइसकेकी छन्। विद्याको यो प्रस्तावमा ओलीले भने ‘ग्रीन सिग्नल’ दिइसकेका छैनन्। बरू जिल्ला अधिवेशनहरूमा बनेको गुटबाट सशंकित ओली पूर्वराष्ट्रपति विद्यालाई सक्रिय राजनीतिमा आउनबाट रोक्न चाहिरहेका छन्।
ओली आफैँले प्रस्ताव नगरे पनि पार्टी सचिवालय बैठकमा यो प्रस्तावले प्रवेश पाइसकेको छ। बुधबार बसेको सचिवालय बैठकमा महासचिव शंकर पोखरेलले विधानमै व्यवस्था गरेर पूर्वराष्ट्रपति विद्यालाई सक्रिय राजनीतिमा रोक्ने प्रस्ताव गरेका थिए।
पूर्वराष्ट्रपति सक्रिय राजनीतिमा फर्किँदा गणतन्त्रमाथि प्रश्न उठ्ने भएकाले रोक्नुपर्ने तर्क महासचिव पोखरेलको थियो। तर, बैठकमा उनले अरू सदस्यहरूको साथ पाएनन्। उपाध्यक्ष सुरेन्द्र पाण्डेले प्रस्तावलाई प्रस्ट पार्न भनेका थिए भने सचिवहरू गोकर्ण विष्ट र छविलाल विश्वकर्माले विमति नै जनाएको नेताहरूको भनाइ छ।
महासचिव पोखरेलको प्रस्तावमा सचिवालयका सदस्यहरूले समर्थन नजनाएपछि अध्यक्ष ओलीले पार्टीको सक्रिय राजनीतिमा फर्किन चाहनेलाई रोक्ने गरी विधानको व्यवस्था बनाउन नहुने तर्क गरेका थिए।
पूर्वराष्ट्रपतिले राजनीतिमा सक्रिय हुने भने पनि पार्टीको फलानो पदमा आउँछु भनेर किटान नगरेको भन्दै उनले राजनीतिमा आउनलाई कुनै विधान र कानुनले नरोक्ने तर्क गरेका थिए। पार्टी नेतृत्वमै आउन चाहना भए त्यसका लागि प्रतिनिधिबाट अनुमोदन हुनुपर्ने उनको भनाइ थियो।