
काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) नेपालले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। मुख्यमन्त्री चेतनारायण आचार्य नेतृत्वको सरकारलाई दिएको समर्थन जसपा नेपालले फिर्ता लिएको हो।
जसपा नेपालको तर्फबाट प्रदेशसभा सदस्य अम्बिका काफ्लेले शुक्रबार सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी सभामुख तुलाराम घर्ती मगरलाई गराएकी छन्।
संविधानको धारा १८८ को उपधारा (२) अनुसार सरकारलाई दिएको समर्थन फिर्ता लिएको उनले बताएकी छन्।
प्रदेश सरकार असफल भएको, बजेट वितरणमा भेदभाव भएकाले सरकारलाई समर्थन दिइरहनुको औचित्य नरहेको उनले बताइन्।
८७ सदस्यीय प्रदेशसभामा जसपा नेपालबाट काफ्ले एक जनामात्र प्रदेशसभा सदस्य छन्। पार्टी विभाजनपछि अरु सदस्यहरू अशोक राई नेतृत्वको जसपामा प्रवेश गरेका छन्।
जसपा नेपालले संघीय सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने तयारी गरेको छ। हालै बसेको जसपा नेपालको कार्यकारिणी समिति बैठकले केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थनबारे पुनः विचार गर्न संसदीय दललाई निर्देश गरेको थियो।