
रुकुम पश्चिम- जबरजस्ती करणीको आरोपमा नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल) का नेता रेशम खत्रीलाई प्रहरीले पक्राउ गरेको छ।
जाजरकोटकी १७ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको अभियोगमा चौरजहारी नगरपालिका-४ का ३० वर्षीय खत्रीलाई सानीभेरी गाउँपालिका-२ स्थित एक होटलबाट गएराति पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख डीएसपी प्रमेश विष्टले जानकारी दिए।
डीएसपी विष्टका अनुसार पीडित किशोरीले गत जेठ १८ गते प्रहरीमा उजुरी दिएकी थिइन्। उजुरीपछि खत्री फरार रहेका थिए भने गोप्य सूचनाका आधारमा उनलाई पक्राउ गरिएको हो।
पक्राउ परेका खत्रीमाथि जिल्ला अदालत रुकुमबाट ७ दिनको म्याद थप गराई अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
खत्री वाईसीएलका कर्णाली प्रदेश कमिटी सदस्य तथा चौरजहारी नगर कमिटीका इन्चार्ज हुन्।