
सुर्खेत- वीरेन्द्रनगरस्थित ऐतिहासिक तथा धार्मिक गन्तव्य काँक्रेविहारमा खोज, अनुसन्धान तथा पर्यटन महोत्सव आयोजना गरिने भएको छ। काँक्रेविहारको ऐतिहासिक, पुरातात्त्विक, सांस्कृतिक र धार्मिक पक्षको गहन अध्ययन, समीक्षा र प्रचारप्रसार गर्ने उद्देश्यले उक्त महोत्सव आयोजना गर्न लागिएको हो।
शुक्रबार वीरेन्द्रनगर नगरपालिका-९ को आयोजनामा काँक्रेविहार परिसरमै काँक्रेविहार खोज, अनुसन्धान तथा पर्यटन महोत्सव एवं युवा बालबालिका तथा विद्यार्थी सम्मेलन आयोजना गरिने जानकारी दिइएको हो।
वीरेन्द्रनगर-९ का वडाध्यक्ष ऋषि गिरीका अनुसार यस महोत्सवको मुख्य उद्देश्य काँक्रेविहारलाई शैक्षिक विमर्श, बौद्धिक अन्तर्क्रिया तथा सांस्कृतिक अभिव्यक्तिको साझा मञ्च बनाउनु हो।
महोत्सवमा काँक्रेविहारसम्बन्धी विविध महत्त्वपूर्ण कार्यपत्र प्रस्तुत गरिने, विद्वानहरूको टिप्पणी, खुला बहस तथा विचार-विनिमय कार्यक्रम सञ्चालन गरिने बताइएको छ।
त्यसै गरी महोत्सवमा विभिन्न विद्यालयस्तरीय प्रतियोगिताहरू पनि आयोजना गरिनेछन्, जसअन्तर्गत वक्तृत्वकला प्रतियोगिता (कक्षा ९-१२), ‘सपनाको काँक्रेविहार’ शीर्षकमा चित्रकला प्रतियोगिता (कक्षा ६–८), स्थानीय कला-संस्कृति झल्किने प्रस्तुतिहरू समेटिएको नृत्य प्रतियोगिता (कक्षा १–५) रहेका छन्। यसबाहेक समाजका विभिन्न क्षेत्रहरूमा योगदान पुर्याएका व्यक्तिहरूलाई सम्मान गरिनेछ। साथै विद्यालयस्तरीय विज्ञान तथा शैक्षिक प्रदर्शनी स्थानीय थारू, भोटे तथा अन्य आदिवासी समुदायको सांस्कृतिक प्रस्तुति पनि महोत्सवमा समावेश गरिने आयोजनकले जनाएको छ।