पुज्य नदीमा मलमुत्र र फोहोर फाल्ने हामी कस्ता भक्त?

पवित्रा लामिछाने १३ असार २०८२ १८:२२
12
SHARES
पुज्य नदीमा मलमुत्र र फोहोर फाल्ने हामी कस्ता भक्त?

नदी संस्कार र सभ्यताको स्रोत कि प्रदूषणको थलो? हाम्रो धर्म संस्कार र सभ्यताले हामीलाई के सिकायो? नदी हाम्रो सभ्यता हो भने हामी किन त्यो सभ्यतालाई स्वयं विनाश गर्दैछौँ? पूजा र प्रदूषण सँगसँगै किन? के तपाईंले सोच्नुभएको छ- जसलाई हामी ‘गङ्गा जल’ भनेर पूजा गर्छौँ, त्यसैमा फोहोर मात्रै फ्याँकेका छैनौँ, मानवको मल-मुत्रसमेत मिसाएका छौँ? के परिवर्तन सधैँ अरूबाट मात्र सुरु हुने कुरा हो? यी प्रश्नहरू सामान्य लागे पनि गम्भीर छन्। हाम्रो संस्कार, चिन्तन र व्यवहार बीचको खाडल आज नदीहरू प्रदूषित हुनुको मूल कारण बनेको छ।

काठमाडौँ उपत्यका- मुलुकको राजधानी क्षेत्रमात्र होइन, इतिहास, सभ्यता र संस्कृतिको उद्गम थलो पनि हो। कुनै समयमा  काठमाडौँ उपत्यका ‘नदी सभ्यता’ को रूपमा परिचित थियो। बागमती, विष्णुमती, हनुमन्ते, मनोहरा, धोबी खोला, टुकुचा जस्ता नदीनालाहरूले यस उपत्यकाको प्राकृतिक र सांस्कृतिक सौन्दर्यमा चार चाँद लगाएका थिए। तर आज ती नदीनालाहरू फोहोर विसर्जनको नाला, नालीको विस्तार र सहरी अव्यवस्थाको प्रतीक बन्न पुगेका छन्। सेती, विष्णुमती, बागमती– यी नदीहरूले काठमाडौँको जीवनशैली, कृषि, धार्मिक कार्य र संस्कारसँग प्रत्यक्ष सम्बन्ध राख्थे।

बागमती र पशुपतिको सम्बन्ध, टुकुचाको जलबाट बारीमा सिँचाइ- यी सबै इतिहासका उदाहरण हुन्। तर अहिले यिनको अस्तित्व नै संकटमा परेको छ। आज काठमाडौँका अधिकांश खोला र नदीहरू ढल बगाउने माध्यम बनेका छन्, किनारामा अवैध बस्ती र निर्माण छन्, फोहोर फाल्ने खुला ठाउँको रूपमा दुरुपयोग भएको छ। उदाहरण हेर्ने हो भने टुकुचा खोला अहिले अधिकांश स्थानमा भूमिगतरूपमा छिपाइएको छ। धोबी खोलामा प्लाष्टिक, सवारीका पार्टपुर्जा, पशुपक्षीको हड्डीसम्म भेटिन्छ। बागमती नदी जुन धार्मिक दृष्टिले पवित्र मानिन्छ, आज ढल मिसिएको, दुर्गन्धित र फोहोर छ।

नदी हाम्रो संस्कृतिमा पानीको स्रोत मात्र होइन, हाम्रो श्रद्धा, संस्कार र सभ्यताको स्रोत पनि हो। हामी नदीलाई पूजा गर्छौँ, नदीलाई पवित्रता, देवी र जीवनदायिनी शक्तिको प्रतीक मान्छौँ। नदीलाई माता भन्छौँ, पशुपतिनाथमा विष्णुमती र बागमतीको संगम मानि पूजा गर्छौँ, हामी छठ पर्वमा नदीलाई दीप जलाएर पूजा गछौँ, श्राद्ध, तर्पण, आरतीजस्ता पवित्र संस्कारहरू नदीको किनारमा गर्छौँ, हामी मृत व्यक्तिको अन्त्येष्टि गर्दा नदी किनारमै पुजापाठ गर्छौँ, ‘गङ्गा जल’ घरघरमा राख्छौँ, तीर्थयात्रा गर्दै नदीमा स्नान गर्छौँ।

भारतमा हरिद्वार, प्रयाग, गंगोत्री, काशी जस्ता तीर्थहरू नदीकै किनारमा बसेका छन्। कुम्भ मेलाजस्ता बिराट धार्मिक कार्यक्रमहरू नदीलाई केन्द्रमा राखेर आयोजना हुन्छन्। गङ्गा, यमुना, सरस्वतीजस्ता नदीलाई देवीको रूपमा पुजिन्छ। नेपालमा पनि बागमती गङ्गाको स्वरूप हो भनी पुजिन्छ। हामी जन्मिँदा, मर्ने बेलामा, चाडपर्वमा, ब्रत–पूजामा नदीसँग नजोडिएको संस्कार छैन। यी सबैले देखाउँछ- नदी हाम्रो विश्वासको आधार हो। तर यो आस्थाले भरिएको समाजमा नै, हरेक दिन नदीहरू फोहोर, ढल, प्लाष्टिक, औद्योगिक रसायन, पूजा सामग्री, अन्त्येष्टि प्रक्रियामा जलाउनुका साथै मलमुत्र र हाडहरू र अनियन्त्रित निर्माणजन्य फोहरको थुप्रोमा रूपान्तरण भइरहेका छन्।

आज ती पवित्र स्थलहरूमा प्लास्टिक, फोहोर र मलमुत्र मिसिएको पानी बगिरहेको छ। यत्रो श्रद्धा र आस्था हुँदाहुँदै पनि हामी आफैँले पूज्य नदीलाई प्रदूषणको थुप्रो किन बनाइरहेका छौँ? के हामी साँच्चै आस्था राख्ने भक्त हौँ? कि विरोधाभास बोकेका मात्र परम्परागत अनुयायी? ‘हामी संस्कृति जोगाउँदै छौँ कि विनाश गर्दैछौँ?’ एक पटक सबैले सोचौँ। हाम्रै देशमा छठपर्वमा हजारौँ मानिसहरू नदी किनारमा पूजा गर्न ओइरिन्छन्  तर सोच्नुस् – के ती नदीहरू पूजा गर्न योग्य अवस्थामा छन्?

हामी घरमा सानो ढुङ्गालाई पनि देवता मानेर मन्दिर बनाउँछौँ  ‘भगवान्’ भनेर पूजा गर्छौँ, धूलो नलागोस् भनेर दिनमा दुईपल्ट पुच्छौँ। बिहान बेलुका दियो बाल्छौँ, जल चढाउँछौँ, हर दिन सफा गर्छौँ। तर ठूलो नदी जसलाई हामी “गङ्गा माता” भन्छौं – त्यही नदीमा हामी फोहोर फ्याँक्छौँ, साबुन सहित नुहाउँछौँ, पूजा सामग्री छाड्छौँ। नदी, खोला, ताल, जसलाई हामी देवता मानेर पुज्दछौँ, त्यो नदीमै फोहोर फालिरहेका हुन्छौँ। धार्मिक रूपमा जसलाई पूजा गरिन्छ, व्यवहारमा किन अपमान गरिन्छ?

यो प्रश्न सबैलाई, धेरैजसो घरधुरीले नदीलाई ढल निकासको रूपमा प्रयोग गर्छन्। उद्योगहरूले पनि लेदोजन्य पानी प्रशोधन नगरी नदीमै मिसाउँछन्। नदी किनारलाई अस्थायी डम्पिङ साइट बनाइन्छ। बस्ती, होटल र उद्योगले नियमित रूपमा फोहोर नदीमा बगाउँछन्। हामीमा श्रद्धा छ, तर जिम्मेवारी छैन। हामी ‘गङ्गा जल’ बोकेर घर लैजाँदै पूजा गर्छौँ, तर बाटोमा फोहोर बोकेर फर्किँदैनौँ। हामी चोखो थालमा फूल चढाउँछौँ, अनि त्यसैलाई प्लाष्टिकमा बेरेर नदीमा फ्याँक्छौँ। के हामी दुईथरी भक्त हौँ– एक घरभित्रका र अर्का नदी किनारका? के नदी केबल मृत्युको अन्तिम कर्मको ठाउँ मात्रै हो? हामी जिउँदो रहँदा त्यो पवित्रताको व्यवहार किन देखाउँदैनौँ? यो विरोधाभासले हाम्रो सोच र व्यवहार दुवैमा परिवर्तनको खाँचो देखाउँछ।

वैदेशिक अभ्यासबाट पनि सिक्न सकिन्छ- युरोप, अमेरिका, जापानजस्ता मुलुकमा नदीलाई पूजा गरिँदैन, नदीलाई भगवान् मानिँदैन, न मृत शरीरको अस्थि विसर्जन गर्छन्, न नदीसँग उनीहरुको संस्कार र सभ्यता जोडिएको छ। तर पनि त्यहाँका नदीहरू स्वच्छ छन्, पारदर्शी छन्, जीवन्त छन्। हाम्रो देश–हाम्रो समाज नदी, खोलासँग सांस्कृतिक, धार्मिक रुपमा जोडिएको छ तर पनि किन हाम्रो नदी खोला ताल फोहोर छन्? हामीले पनि कानून, चेतना, व्यवहार तीनै तहमा परिवर्तन गर्न आवश्यक छ।

हामी नदी सफा गर्ने सरकार वा संस्थालाई दोष दिन्छौँ, तर आफैँ फोहोर बोकेर फर्किन चाहँदैनौँ। हामी सोच्छौँ- ‘अरूले पनि त फ्याँक्छन्, म एक्लैले फ्याँक्दा के फरक पर्छ र?’ तर हजारौँले यही सोच्दा आजको नदी फोहोर बनेको हो। फोहोरले केवल पानी मात्र होइन, स्वास्थ्यमा असर, पर्यावरणीय असर, सांस्कृतिक क्षति, आर्थिक असर निम्त्याउँछ। नदीहरूमा प्लाष्टिक, सिसा, बियरका बोतल, स्ट्रो, ढल, फोहोर पानी जस्ता कुराहरू खन्याउँदा पानीको गुणस्तर घट्ने मात्रै होइन, नदीभित्रका जीवजन्तुहरूका लागि बाँच्न नसकिने क्षेत्र बन्छ।

नेपालका नदीहरूमा प्लाष्टिकको कारण माछाको संख्या उल्लेखनीय रूपमा घट्दै गएको कुरा हामीले सुन्दै आएका छौँ। हामीले फ्याँकेको एक टुक्रा फोहोरले पनि सयौँ प्राणी मार्न सक्छ। हामी आफूलाई प्रश्न गरौँ- म के गर्दैछु? फोहोर नफ्याँक्नु, चेतना फैलाउनु अझै शिक्षा प्रणालीमा वातावरणीय चेतना अनिवार्य गरिनु, नगरपालिका र स्थानीय तहहरूले नदीमा फोहोर फाल्नेलाई कडा कारबाही गर्नु, धार्मिक स्थलहरूमा पनि पूजापछि उत्पन्न फोहोरको व्यवस्थापनका लागि नियमन गरिनु र जिम्मेवार व्यवहार अपनाउनु- यी साना प्रयासहरू नै नदी संरक्षणका लागि ठूला पाइला हुन सक्छन्।

अब हामी सबैले ‘सरकारले गर्छ’ ‘कुनै संस्थाले गर्छ’ भन्ने सोच छोडेर ‘मैले गर्छु’ भन्ने भावना बोेक्नुपर्छ। श्रद्धा तब मात्र सार्थक हुन्छ, जब त्यसमा जिम्मेवारी मिसिन्छ। त्यसैले आस्था मात्र हैन, व्यवहार पनि बदलिए हाम्रो नदी बाँच्नेछ, सभ्यता बच्नेछ, संस्कार टिक्नेछ र हामी सोच्छ र सफा वातावरणमा बाँच्न पाउँछौँ।

लेखिका – ‘क्लिन अप नेपाल’सँग आबद्ध छिन्।

प्रकाशित: १३ असार २०८२ १८:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast