
काठमाडौँ– प्रहरीले पर्सामा ठूलो परिमाणमा लागुऔषध चरेससहित एक जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय पर्साले बिहीबार पत्रकार सम्मेलन गर्दै काठमाडौँबाट बीरगञ्जतर्फ जाँदै गरेको प्रदेश २–०३–००१ ख ६३४८ नम्बरको ट्रकबाट ३ सय १९ केजी लागूऔषध चरेश बरामद गरिएको जनाएको हो।
विशेष सूचनाका आधारमा वीरगञ्ज महानगर–२१ परवानीपुर चोकमा रोकी राखेको अवस्थामा ट्रक र चालकको खानतलासी गर्दा ठूलो परिमाणमा लागुऔषध चरेस फेला परेको प्रहरीले जनाएको छ।
ट्रकको पछाडि सामान बोक्ने भागमा सेतो प्लाष्टिकको बोराभित्र लुकाई राखेको अवस्थामा १३ पोकामा ३ सय १९ केजी चरेस बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक किशोर लम्सालले जानकारी दिए।
त्यस्तै ट्रक चालक बुद्धीबहादुर स्याङतानका साथबाट १ लाख ९२ हजार रुपैयाँ समेत फेला परेको प्रहरीले जनाएको छ। उक्त लागू औषध भारत लैजान खोजिएको प्रहरीको भनाइ छ।
ट्रक र बरामद लागूऔषधसहित ट्रक चालक स्याङतानलाई नियन्त्रणमा लिई लागूऔषधसम्बन्धी कसुरमा पर्सा अदालतबाट पाँच दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको समेत प्रहरीले जनाएको छ।