मधेशका मुख्यमन्त्रीसँग असन्तुष्ट सीके, नेतृत्व फेर्ने कि सरकारबाट बाहिरिने?

हिमाल प्रेस १२ असार २०८२ १६:१७
24
SHARES
मधेशका मुख्यमन्त्रीसँग असन्तुष्ट सीके, नेतृत्व फेर्ने कि सरकारबाट बाहिरिने?

काठमाडौँ- जनमत पार्टीले मधेशका मुख्यमन्त्री सतिशकुमार सिंहसँग गत वर्ष साउन महिनामा स्पष्टीकरण सोध्यो। जनकपुरधामस्थित केन्द्रीय सचिवालय कार्यालयमा नेताकार्यकर्ताहरूसँग भेटघाट गरिरहेकै बेला मुख्यमन्त्री सिंहको मोबाइलमा स्पष्टीकरणपत्र पुगेको थियो।

पार्टीको अनुशासन समितिले मुख्यमन्त्री सिंहलाई सोधेको स्पष्टीकरणपत्रको ब्यहोराबाट प्रस्ट थियो– जनमत पार्टी मुख्यमन्त्री सिंहको कार्यशैलीबाट सन्तुष्ट छैन।

पार्टीसँग समन्वय नै नगरी मन्त्रालय बाँडफाँट गरेको, पार्टीले देखिने गरी जनताको हकहितका लागि मन्त्रालयहरूको काममा ध्यान दिनभन्दा अनावश्यक उद्घाटन समारोहहरूमा समय खर्चिँदै आएको, पार्टीले दिएका निर्देशनहरू बेवास्ता गरेको, जनमत पार्टीको छविमा बारम्बार आँच पुर्‍याएकोलगायतका आरोप लगाउँदै जनमत पार्टीको अनुशासन समितिले मुख्यमन्त्री सिंहसँग स्पष्टीकरण सोधेको थियो।

नेपालको संघीयता अभ्यासका क्रममा पार्टीले मुख्यमन्त्रीसँग स्पष्टीकरण सोधेको त्यो पहिलो घटना थियो।

जनता समाजवादी पार्टी (जसपा) नेपालबाट मुख्यमन्त्री बनेका सरोजकुमार यादव नेतृत्वको सरकार ढलेसँगै भागबण्डामा मधेश सरकारको नेतृत्व जनमत पार्टीको हिस्सामा परेको थियो।

प्रदेश संसदीय दलका नेता महेश यादव भए पनि लोसपा परित्याग गरेर भर्खरै पार्टी प्रवेश गरेर प्रदेशसभा सदस्यमा निर्वाचित भएका सिंहलाई जनमत पार्टीले मुख्यमन्त्री बनाउने निर्णय गर्‍यो। जनमत पार्टीको यो निर्णयबाट त्योबेला संसदीय दलभित्र असन्तुष्टिसमेत देखिएको थियो।

दलभित्रको असन्तुष्टिका बाबजुद जनमत सिंहलाई मधेशको मुख्यमन्त्री बनाउने निर्णयबाट ‘ब्याक’ भएन। विश्वास र आशा गरे अनुसार सिंहले सरकारको नेतृत्व सम्हाल्न नसकेको निष्कर्ष पार्टीको रहेको जनमत पार्टीका नेताहरू बताउँछन्।

मुख्यमन्त्री सिंहको कार्यशैलीबाट स्वयं अध्यक्ष सीके राउत असन्तुष्ट बन्न थालेको जनमतका नेताहरूको भनाइ छ। ‘सरकारले पार्टीले भने र सोचेअनुसार काम गर्न सकेको छैन, नेतृत्व असन्तुष्ट बन्नु स्वाभिवक हो,’ जनमतका एक शीर्ष नेताले भने।

सामाजिक सञ्जालमा अध्यक्ष राउतले गरेको टिप्पणीले समेत उनी मुख्यमन्त्री सिंहको कार्यशैलीबाट सन्तुष्ट नरहेको प्रष्ट हुन्छ। उनले जनमत पार्टीकै नेतृत्वको सरकार र मुख्यमन्त्री हुँदा पनि सरकार सञ्चालनमा पार्टी निर्देशनको अवहेलना भएको जिकिर गरेका छन्।

राउतले मधेश सरकारका विषयमा संसदीय दल तथा पार्टी सचिवालय बैठकमा छलफल गरेर आवश्यक निर्णय गर्ने उल्लेख गरेका छन्।

‘जनमत पार्टीकै नेतृत्वको सरकार र मुख्यमन्त्री हुँदा पनि यस्तो हुनु, सरकार सञ्चालनमा पार्टी निर्देशनको पूरा अवहेलना हुनु एकदमै दुर्भाग्यपूर्ण छ,’ अध्यक्ष राउतले लेखेका छन्,‘यस विषयमा जनमत पार्टीको संसदीय दल तथा पार्टी सचिवालयमा छलफल हुँदैछ, आवश्यक निर्णय त्यहाँबाट गरिनेछ।’

राउतको असन्तुष्टि मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट र सरकारका तर्फबाट हुने नियुक्तिप्रति छ। जनमत पार्टीले लिएको नीति, सिद्धान्त र भिजनविपरित मधेश सरकारको वार्षिक कार्यक्रम आएको उनको भनाइ छ।

राउतले सरकारले ल्याएको बजेटमा जनमत पार्टीले जनताका बीचमा गएर माग गरेका अधिकांश योजनाका साथै पार्टीले राखेका गौरवका योजनाहरू समावेश नगरिएको उल्लेख गरेका छन्। उनले विचौलिया वा अन्य पार्टीका माध्यमबाट राखिएका कार्यक्रमहरू बजेटमा समावेश गरिएको जिकिर गरेका छन्।

‘विचौलिया वा अन्य पार्टीका माध्यमबाट राखिएका कार्यक्रमहरूमा २५–५० लाख, २ करोड बजेट राखिएको भने जनमत पार्टीले सिफारिस गरेका कार्यक्रम परिहाले पनि ५–५ लाख बजेट छुट्ट्याइएको छ,’ राउतले भनेका छन्,‘तल र माथि सिरियली अरुको योजनामा २५–५० लाख वा करोडको बजेट छ, तर बीचमा मैले नै दिएको मेरो निर्वाचन क्षेत्र सप्तरी–२ को योजना आयो भने ५–५ लाखको बजेट छ। कस्तो बिडम्बना! कस्तो प्रतिसोध!’

सरकारको नेतृत्व गरिरहे पनि प्रदेश सरकारका तर्फबाट हुने राजनीतिक नियुक्तिमा समेत पार्टीबाट एक जना नपरेकोमा राउतको असन्तुष्टि छ। पछिल्लो समय सञ्चार प्राधिकरण, मिडिया काउन्सिल, चलचित्र तथा लोकसंचार प्रवद्र्धन बोर्डलगायतमा पार्टीका तर्फबाट एक जना पनि नपरेकोमा उनले असन्तुष्टि जनाएका हुन्।

‘…२–३ दर्जन राजनैतिक नियुक्तिहरू हुँदा सबै अरू पार्टीहरूले भागबन्डा गरेर लिए, जनमत पार्टीको तर्फबाट एउटा सदस्यसमेत परेनन्,’ राउतले भनेका छन्,‘जनमत पार्टीलाई त मधेश सरकारको गतिविधिबाट अनभिज्ञ राखिएको छ, सूचना मागे पनि पाइँदैन। त्यसैले जनमत पार्टीका कार्यकर्ताहरू आक्रोशित हुनु स्वाभाविक हो।’

दलकै मुख्यमन्त्री छँदा पनि बजेट वितरणदेखि राजनैतिक नियुक्तिमा समेत किनारा लगाउन थालिएपछि अध्यक्ष राउत असन्तुष्ट बनेका हुन्। अध्यक्ष राउतबाट सामाजिक सञ्जालमा व्यक्त भएका धारणाहरू मुख्यमन्त्रीलक्षित रहेको जनमत पार्टीका एक पदाधिकारीले बताए।

‘हाम्रो पार्टी सरकारको नेतृत्व गरिरहेको छ। तर, पार्टीले भनेअनुसारकै बजेट वितरण भएको छैन, योजनाहरू समावेश गरिएका छैनन्,’ ती नेता भन्छन्,‘अध्यक्षज्यू मुख्यमन्त्रीको कार्यशैलीबाट असन्तुष्ट देखिनु भएको छ। पार्टीले सोचेअनुसार मधेशमा काम हुन सकेको छैन।’

बजेट वितरणदेखि पछिल्लो समय भएका राजनैतिक नियुक्तिका साथै प्रदेश सरकारको कामकारबाहीका विषयमा छलफल गर्न जनमत पार्टीले आगामी आइतबार सचिवालय बैठक बोलाएको छ।

जनमत पार्टीका प्रवक्ता शरदसिंह यादवले आगामी आइतबार दिउँसो पार्टीको सचिवालय बैठक बोलाइएको जानकारी दिए। सचिवालय बैठकले आवश्यक निर्णय गर्ने उनले बताए।

प्रकाशित: १२ असार २०८२ १६:१७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast