मनसुन ढिला र मल अभावले धान रोपाइँ प्रभावित

हिमाल प्रेस १२ असार २०८२ १३:२९
10
SHARES
मनसुन ढिला र मल अभावले धान रोपाइँ प्रभावित

रुपन्देही- लुम्बिनी प्रदेशमा समयमै मनसुन सक्रिय नहुँदा यो वर्षको धान रोपाइँ ढिलो भएको छ। सिँचाइ सुविधा भएका खेतमा भने रोपाइँ सुरु भए पनि वर्षामा भर पर्ने अधिकांश क्षेत्र अझै बाँझै छन्। असार दोस्रो सातासम्म पनि मनसुन नआएकाले विशेषगरी पूर्वी नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके र बर्दियाजस्ता मुख्य धान उत्पादन क्षेत्रका किसानहरू चिन्तित छन्।

प्रदेशको कृषि विकास निर्देशनालयका अनुसार ६ लाख ८० हजार हेक्टर खेतीयोग्य जमिनमध्ये ३ लाख २ हजार ९३९ हेक्टरमा धान खेती हुने भए पनि अहिलेसम्म जम्मा २९ हजार २५० हेक्टरमा मात्र रोपाइँ सम्पन्न भएको छ।

सबैभन्दा बढी प्युठानमा ८२ प्रतिशत धान रोपाइँ सकिएको छ भने बाँकेमा भने अहिलेसम्म रोपाइँ नै सुरु हुन सकेको छैन। रुपन्देही, कपिलवस्तु, दाङजस्ता प्रमुख धान उत्पादन जिल्लामा पनि रोपाइँको अवस्था न्यून छ।

धान रोपाइँ ढिलिनुमा वर्षा मात्र होइन, मल अभाव र उत्पादन लागत बढेको समस्या पनि रहेको किसानहरूको गुनासो छ। ओमसतिया गाउँपालिका–३ का कृषक गङ्गाराम चौधरीका अनुसार समयमा मल नपाउँदा खेतमा रोपाइँ गर्न सकिएको छैन। ‘मल आउँछ तर पहुँच हुनेहरूले मात्र पाउँछन्, हामी त भारतबाट आउने कमसल मलमा भर पर्नुपर्छ,’ चौधरीले भने।

नेपालमा वार्षिक ११ लाख मेट्रिक टन मलको आवश्यकता रहे पनि तीनदेखि पाँच लाख मेट्रिक टन मात्र आपूर्ति हुने गरेको छ। कृषि सामग्री कम्पनी लिमिटेड, भैरहवा क्षेत्रीय कार्यालयका अनुसार, लुम्बिनी प्रदेशका लागि चालु आर्थिक वर्षमा ५६ हजार मेट्रिक टन युरिया र ३९ हजार मेट्रिक टन डिएपी प्राप्त भएको हो। तर अहिले कार्यालयमै मल अभाव छ। ट्रकहरू वीरगञ्जबाट आउन नसक्दा समस्या थपिएको निमित्त प्रमुख सुमन पन्थीले बताए।

हालसम्म ४७ हजार मेट्रिक टन युरिया र ३१ हजार मेट्रिक टन डिएपी वितरण भइसकेको छ भने गोदाममा एक हजार ९८३ मेट्रिक टन युरिया र दुई हजार २४३ मेट्रिक टन डिएपी मात्र मौज्दात रहेको कम्पनीले जनाएको छ। बुटवल–नारायणगढ सडकखण्डमा अवरोध भएकाले पनि मल ढुवानीमा ढिलाइ भएको हो।

लुम्बिनीमा सरदर ११ लाख ८५ हजार मेट्रिक टन धान उत्पादन हुने गर्छ। तर, यस वर्ष समयमै रोपाइँ हुन नसक्दा उत्पादनमा ठूलो गिरावट आउने अनुमान गरिएको छ। किसान, मौसम, मल आपूर्ति र सरकारी व्यवस्थापनबीचको समन्वय कमजोर हुँदा लुम्बिनी प्रदेशमा कृषि संकटको सम्भावना देखिएको छ।

प्रकाशित: १२ असार २०८२ १३:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast