गाजामा इजरायली आक्रमणमा ३८ जनाको मृत्यु

हिमाल प्रेस ११ असार २०८२ २०:३८
18
SHARES
गाजामा इजरायली आक्रमणमा ३८ जनाको मृत्यु इजरायली सेनाको बम आक्रमणबाट ध्वस्त दक्षिणी गाजाको एउटा बस्ती। फाइल तस्बिर : एपी/रासस

गाजा (रासस/सिन्ह्वा)- इजरायली सुरक्षाकर्मीहरूले गाजा क्षेत्रमा गरेको हवाई आक्रमण तथा गोली प्रहारका कारण बुधबार कम्तीमा ३८ जना प्यालेस्टिनी नागरिकको ज्यान गएको गाजाका स्वास्थ्य स्रोतहरूले जानकारी दिएका छन्।

गाजाको दक्षिणी भागमा भएको झडपका क्रममा इजरायली सेनाका सात जना सुरक्षाकर्मीको ज्यान गएको पनि इजरायली सेनाले जानकारी गराएको छ।

स्थानीय प्रत्यक्षदर्शी र स्वास्थ्यकर्मीहरूका अनुसार, गाजाको केन्द्रमा रहेको नेतजारिम गलैंचामा अमेरिकी सहयोग प्राप्त खाद्य सहायता वितरण केन्द्र नजिकै खाना लिन पर्खिरहेका नागरिकहरूलाई लक्षित गरी गोली चलाइएको थियो। अल–अव्दा अस्पतालले १० वटा शवहरू प्राप्त भएको र ५३ जना घाइतेको उपचार गरिएको जनाएको छ।

त्यसै गरी गाजाको दक्षिणी क्षेत्रमा पर्ने राफाहको उत्तरतर्फको अल–शकुश क्षेत्रमा भएको अर्को घटनामा इजरायली फायरिङबाट एक जनाको मृत्यु भएको र ६ जना घाइते भएको जनाइएको छ।

गाजाको नागरिक सुरक्षा निकायका अनुसार गाजा सहरको पूर्वी क्षेत्रमा रहेको अल–शुजैय्या क्षेत्रमा एक इन्धन स्टेशननजिक रहेको भवनमा भएको हवाई आक्रमणका कारण एउटै परिवारका सात सदस्यहरूको ज्यान गएको छ, जसमा महिला र बालबालिका पनि परेका छन्।

त्यस्तै, देर अल–बालाह, अल–नुसेरात शरणार्थी शिविर र जबालियामा भएका अन्य आक्रमणहरूमा पनि कम्तीमा १५ जनाको मृत्यु भएको तथा अरू केही हराइरहेका जनाइएको छ।

गाजाको पश्चिमी क्षेत्रमा रहेको अन्सार सरकारी भवन नजिक भएको अर्को आक्रमणमा पाँच जनाको मृत्यु भएको छ, जसमा एक महिला र एक बालक पनि परेका छन्।

यी घटनाहरूमा इजरायली पक्षबाट तत्काल कुनै आधिकारिक प्रतिक्रिया प्राप्त भएको छैन।

यसैबीच, इजरायली सेनाले मंगलबार गाजाको दक्षिणमा एक सशस्त्र सवारीसाधन विस्फोटमा परेको घटनामा सात जना आफ्ना सैनिकको ज्यान गएको पुष्टि गरेको छ।

इजरायलले मार्च १८ देखि गाजामा पुनः सैन्य कारबाही सुरु गरेको हो। गाजाका स्वास्थ्य अधिकारीहरूका अनुसार, त्यसयता पाँच ७५९ जना प्यालेस्टिनी नागरिकको मृत्यु भइसकेको छ भने १९ हजार ८०७ जना घाइते भएका छन्।

युद्ध सुरु भएको सन् २०२३ को अक्टोबर यता गाजामा कूल ५६ हजार ७७ जनाको मृत्यु भएको र एक लाख ३१ हजार ८४८ जना घाइते भएको जनाइएको छ।

प्रकाशित: ११ असार २०८२ २०:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast