
काठमाडौँ- नेकपा एमालेले स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सिनाको निलम्बन फुकुवा गरेको छ। बुधबार बसेको एमाले सचिवालय बैठकले दुवै जनाको निलम्बन फुकुवा गरेको हो।
उपमहासचिव प्रदीप ज्ञवालीले बैठकले पाण्डे र तिम्सिनाको निलम्बन फुकुवा गर्ने निर्णय गरेको जानकारी दिए।
पुस १० मा बसेको एमालेको सचिवालय बैठकले पूर्वउपाध्यक्षसमेत रहेका भीम रावल, स्थायी कमिटी सदस्य पाण्डे र केन्द्रीय सदस्य तिम्सिनालाई कारबाही गरेको थियो।
रावललाई पार्टीबाटै निकालिएको थियो भने पाण्डे र तिम्सिनालाई ६ महिनाका लागि निलम्बन गरेर कारबाही गरिएको थियो। अनुशासनविपरित काम गरेको भन्दै उनीहरू पार्टी कारबाहीमा परेका थिए।
भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङले पार्टी कार्यालय निर्माण गर्न दानमा दिएको स्वीकार गरिएकोमा पाण्डे र तिम्सिनाले विरोध जनाएकी थिइन्।
बैठकमा राष्ट्रिय राजनीति र सरकारको कामकारबाहीका विषयमा पनि छलफल भएको उपमहासचिव ज्ञवालीले बताए।
उनका अनुसार बैठकले सरकारको कामकारबाही सन्तोषजनक रहेको निष्कर्ष निकालेको छ। साथै सरकार सञ्चालनका सन्दर्भमा कांग्रेस र एमालेबीच समझदारी बलियो बन्दै गएको बैठकले निष्कर्ष निकालेको उनले बताए।
ज्ञवालीले प्रतिगमन र राजतन्त्रका नाममा विभिन्न गतिविधि भए पनि अहिले निस्तेज भएको जिकिर गरे।