धनुषाका ७ पालिकाले ल्याउन सकेनन् बजेट

हिमाल प्रेस ११ असार २०८२ १६:३०
12
SHARES
धनुषाका ७ पालिकाले ल्याउन सकेनन् बजेट

काठमाडौँ – धनुषाका ७ पालिकाले बजेट ल्याउन सकेका छैनन्। असार १० गते सभा सम्पन्न गरेर बजेट ल्याउनुपर्ने प्रावधान रहे पनि धनुषाका १८ मध्ये ७ स्थानीय तहले आन्तरिक विवादका कारण आगामी वर्षको बजेट ल्याउन नसकेका हुन्।

बजेट ल्याउन नसक्नेमा मिथिला नगरपालिका, क्षिरेश्वरनाथ नगरपालिका, नगराईन नगरपालिका, कमला नगरपालिका, हंसपुर नगरपालिका, सबैला नगरपालिका र औरही गाउँपालिका रहेका छन्।

सबैला नगरपालिकाले मंगलबार नीति तथा कार्यक्रम ल्याए पनि बजेट ल्याउन नसकेको हो। मेयर कारीराम यादवले मंगलबार नीति तथा कार्यक्रम आएको र चाँडै आगामी आर्थिक वर्षको बजेट आउने बताए।

यी स्थानीय तहले तयारी नपुगेको, आन्तरिक विवाद, जनप्रतिनिधिबीचको मतभेद र कार्यपालिका सदस्यको अनुपस्थितिका कारण समयमै बजेट ल्याउन नसकेको जनाएका छन्।

नगराईन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामगुलाम कर्णले नगर अधिवेशनका लागि बोलाइएको कार्यपालिका बैठकमा १९ जना सदस्यमध्ये उपप्रमुखसहित १३ जनाको अनुपस्थिति रहेकाले बजेट पेस गर्न नसकिएको बताए।

उनका अनुसार कार्यपालिकाको बैठक नै नबस्दा नगरसभामा बजेट पेस गर्न नसकिएको हो। यो पालिकामा मेयर नेपाली कांग्रेसबाट निर्वाचित भए पनि कार्यपालिकामा नेकपा एमालेको बहुमत रहेको छ।

त्यस्तै अन्य स्थानीय तहमा पनि प्रमुख तथा उपप्रमुखबीच समन्वयको अभाव, कार्यपालिका सदस्यको असहयोग र विभिन्न विकास योजना तथा बजेट शीर्षकमा मतभेद रहेकाले निर्धारित समयभित्र बजेट पेस हुन नसकेको बताइएको छ।

जनकपुरधाम उपमहानगरपालिका, मुखियापट्टी मुसहरनिया गाउँपालिका, मिथिला बिहारी नगरपालिका र बटेश्वर गाउँपालिकाले मंगलबार बजेट सार्वजनिक गरेका छन्।

लक्ष्मिनीयाँ गाउँपालिका, धनुषाधाम नगरपालिका, गणेशमान चारनाथ नगरपालिका, सहिदनगर नगरपालिका र धनौजी गाउँपालिकाले भने यसअघि नै आफ्नो नीति कार्यक्रम तथा बजेट पेस गरिसकेका छन्।

 

 

प्रकाशित: ११ असार २०८२ १६:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast