
काठमाडौँ- शैलुङ गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि शिक्षा क्षेत्रलाई प्राथमिकतामा राख्दै २ करोड ६७ लाख ८० हजार बराबरको बजेट विनियोजन गरेको छ। बजेटमा विशेष गरी बाल विकास शिक्षक, विद्यालय कर्मचारी र लेखापालको तलब वृद्धि प्रमुख आकर्षण बनेको छ।
संघीय सरकारले प्रारम्भिक बाल विकास सहजकर्ता (ईसीडी शिक्षक), कार्यालय सहयोगी र लेखापालको तलब क्रमशः मासिक १२,०००, १०,००० र १५,००० निर्धारण गरे छ। उक्त रकममा शैलुङ गाउँपालिकाले बढाएको थप हुन्छ।
स्थानीय तहले ७ हजार रुपैयाँ थप गर्दा बाल शिक्षक र विद्यालय कर्मचारीको तलब क्रमशः १९,०००, १७,००० र २२,००० पुग्छ। गाउँपालिकाले बाल शिक्षक, कर्मचारी र लेखापालको तलब शीर्षकमा मात्र ७४ लाख विनियोजन गरेको छ। यसबाट वृद्धि गरेर पठाइने पालिकाको भनाइ छ। बजेट बक्तव्यमा उनीहरूको तलब थप गरिएको उल्लेख छ।
शिक्षामा सुधार ल्याउने उद्देश्यले गाउँपालिकाले १० वर्षे शिक्षा योजना तर्जुमा गर्न पनि बजेट छुट्याएको छ। साथै, विद्यार्थीकै क्षमता विकासमा जोड दिँदै राष्ट्रपति रनिङ शिल प्रतियोगिता सञ्चालन गर्न आवश्यक बजेट व्यवस्था गरिएको छ।
यसैगरी, गाउँपालिकाको सामुदायिक विद्यालयबाट एसईई पास गरी नेपाल सरकारको पूर्ण छात्रवृत्तिमा उच्च शिक्षामा नाम निकाल्न सफल विद्यार्थीहरूलाई प्रोत्साहन गर्न रकम छुट्याइएको छ।
गाउँपालिकाको नमुना विद्यालयको रूपमा चयन भएको दुर्गा माध्यमिक विद्यालयका लागि स्कुल बस खरिद गर्न साझेदारीमा रु १५ लाख विनियोजन गरिएको छ।
शिक्षा क्षेत्रको समग्र सुधार र पहुँच वृद्धि गर्ने उद्देश्यले गरिएको यो बजेट विनियोजनलाई शैलुङ गाउँपालिका अध्यक्षले “शिक्षालाई समृद्धिको आधार बनाउने अभियानको थालनी” भन्दै उच्च प्राथमिकता दिएका छन्।