
काठमाडौँ- नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) गण्डकी प्रदेश समितिको आयोजनामा असार ९ र १० गते लुम्ले कृषि केन्द्र, कास्कीमा दुई दिने आवासीय विस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।
प्रदेश उत्प्रेरक फणीन्द्र देवकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पार्टी अध्यक्ष डा. बाबुराम भट्टराई, महासचिव सोनाम सिंह स्याङ्त्याङ, अनुशासन आयोग प्रमुख मोतिप्रसाद रिजाललगायत नेताहरूको विशेष उपस्थिति थियो।
कार्यक्रममा गण्डकी प्रदेशभित्रका केन्द्रीय सदस्य, पूर्वसदस्य, जिल्ला संयोजक, स्थानीय तह संयोजक, आङ्गिक संगठनका प्रमुख, विज्ञ, महिला र युवा प्रतिनिधिको उल्लेख्य सहभागिता रहेको थियो।
बैठकको प्रारम्भसँगै केन्द्रीय समिति बैठकका निर्णयहरू प्रस्तुत गरियो। सहभागी ६५ जनाले राजनीतिक, सांगठनिक र सामाजिक समीक्षासहित आफ्नो कार्यक्षेत्रको प्रतिवेदन प्रस्तुत गरे।
बैठकले रिक्त रहेको गण्डकी प्रदेश संयोजकमा नेत्र चापागाईंलाई नियुक्त गर्दै प्रदेश सम्मेलन आयोजनाको लागि समिति गठन गर्ने निर्णय गर्यो। समितिमा गण्डकीका सम्पूर्ण स्थानीय तहबाट प्रतिनिधित्व सुनिश्चित गरिने जनाइएको छ।
प्रशिक्षण सत्रमा अध्यक्ष डा. भट्टराई र महासचिव स्याङ्त्याङले वैकल्पिक राजनीति, समाजवाद, सामाजिक न्याय र संगठन निर्माणका आधारबारे प्रशिक्षण प्रदान गरे।
प्रमुख निर्णयहरूमा गण्डकीभित्र रहेका केन्द्रीय सदस्यहरूलाई जिम्मेवारीसहित कार्यविभाजन, गण्डकी संयोजकको नाममा खाता सञ्चालन गर्ने, आर्थिक संयन्त्र सुदृढीकरण र नयाँ संयोजन टोलीको घोषणा,
साउन ११ गते भ्रष्टाचारविरुद्ध गण्डकीका ११ वटै जिल्ला प्रशासन कार्यालयअगाडि धर्ना कार्यक्रम, वडा सम्मेलन (भदौ १४), पालिका सम्मेलन (भदौ २१) र प्रदेश सम्मेलन कात्तिक १५ मा गर्ने निर्णय भएका छन्।
त्यस्तै, पोखरा विमानस्थल, फेवाताल, बुढीगण्डकी, बसपार्क, गोर्खाली रबर उद्योग लगायतका क्षेत्रमा भएका अनियमितता विरुद्ध जनदबाब सिर्जना गर्ने रणनीति, प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक प्रणालीको पक्षमा जनचेतना अभियान सञ्चालन गर्ने निर्णय पनि भएका छन्।
बैठकले गण्डकी प्रदेश सरकारले ल्याएको नीति, कार्यक्रम र बजेटको आलोचनात्मक समीक्षा गर्दै वैकल्पिक नीति प्रस्तुत गर्न पनि संगठनलाई निर्देशन दिएको छ। बैठकबाट समाजवादी विचार, संगठन निर्माण र आन्तरिक लोकतन्त्रमा गहिरो छलफल र समीक्षा गरिंदै आगामी संघर्ष र अभियानका लागि मार्गरेखा तय भएको सहभागिहरूले बताएका छन्।