
बुटवल- राप्रपा सांसद दीपक बोहराको निधनपछि रिक्त रहेको रूपन्देही-३ मा उपनिर्वाचनमा गर्ने भएसँगै चुनावी सरगर्मी बढेको छ। राजनीतिक दलहरूले आफ्ना उम्मेदवारी तय गर्ने अन्तिम तयारीमा रहदा आकांक्षीहरू टिकट लिने प्रयत्नमा छन्।
नेकपा एमालेले उपनिर्वाचनका लागि खिमलाल भट्टराईलाई उम्मेद्वार बनाउने गरि तयारी गरेको छ। सोमबार प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका भट्टराईले रुपन्देही क्षेत्र ३ को उपनिर्वाचनका विषयमा छलफल गरेका हुन्।
भेटमा पार्टी अध्यक्षले एमालेले जित्ने गरी चुनावमा खटिन आग्रह गरेको पोलिटब्युरो सदस्य भट्टराईले बताए। ‘पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ज्यूसँग वालुवाटारमाभेटघाट भयो, चुनावका बारेमा कुरा भयो, उहाँले एमालेले जित्ने गरी लाग्नुस् भन्नुभएको छ’ हिमालप्रेससँग भने।
उनले आफू आकाक्षी भएको र पार्टीले निर्णय गरेको अवस्थामा चुनाव लड्ने बताए। भट्टराइले प्रधानमन्त्री ओलीसँग भेट गरेको फोटो सामाजिक सञ्जालमा सार्वजनिक गरेका थिए। उनले फेसबुकमा लेखेका छन्, ‘सम्माननीय प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीज्यूसँगको महत्वपूर्ण भेट।’ यो भेटपछि नै समाचार सार्वजनिक भएकाले भट्टराइ नै आधिकारिक उम्मेद्वार भएको एमालेकै नेताहरुले बताएका छन्।
राष्ट्रियसभाका पूर्व सदस्य समेत रहेका भट्टराई नेकपा एमालेको पोलिटब्युरो सदस्य हुन्। ०७९ को निर्वाचनमा भट्टराई रूपन्देही क्षेत्र नम्बर–५ बाट उम्मेदवार बन्ने योजना अनुसार राष्ट्रियसभा सदस्य पदबाट राजीनामा गरेपनि त्यसबेला दोहोरो उम्मेदवारी परेपछि उक्त स्थानमा वासुदेव घिमिरेको उम्मेदवारीलाई आयोगले मान्यता दिएको थियो।
असार ६ गते निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभाका रिक्त दुईस्थानसहित १८ स्थानीय तहका रिक्त स्थानमा निर्वाचन गर्ने विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग परामर्श गरेको थियो।
निर्वाचन आयोगले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको निर्वाचन आगामी कात्तिक दोस्रो देखि तेस्रो साता गर्दा उपयुक्त हुने सुझाव दिएको थियो।
प्रतिनिधिसभातर्फ रूपन्देही क्षेत्र नं ३ र गण्डकी प्रदेशसभाको मनाङ क्षेत्र नं १ को २ मा रिक्त स्थानको पदपूर्ति गर्न आयोगले उपनिर्वाचनको तयारी गरेको हो। सरकारको परामर्शमा आगामी असार २० गतेभित्र निर्वाचन आयोगले मिति तोक्ने तयारी गरेको छ।
२०७९ मा भएको निर्वाचनमा रूपन्देही ३ बाट निर्वाचित राप्रपाका नेता दीपक बोहराको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो। २०७९ सालमा बहालवाला गृहमन्त्री कांग्रेस नेता बालकृष्ण खाण पराजित भएका थिए।
उपनिर्वाचनको चर्चासँगै रूपन्देही ३ मा आकाक्षीले लविङ बढाएका छन्। एमालेबाट भट्टराईकै उम्मेद्वारी टुंगिएको पुष्टि भएको छैन। नेकपा एमाले रूपन्देहीका अध्यक्ष यज्ञ गैरैले आफूले पनि अनलाइनमा समाचार पढेको बताउँदै पार्टीले आधारिक रूपमा निर्णय गर्ने तहमा पुगिनसकेको बताए।
उनले भट्टराई उपनिर्वाचन हुँदा सशक्त दावेदार रहेको बताए। उनले क्षेत्रीय, जिल्ला, प्रदेश हुँदै केन्द्रमा उम्मेद्वार सिफारिस गर्ने बताए। ‘नेताहरुले उम्मेद्वार हुनका लागि इच्छा राख्ने कुरा स्वाभाविक हो’ उनले भने, ‘पार्टी तहले निर्णय गर्ने बेला भइसकेको छैन।’
एमालेबाट उपनिर्वाचन हुँदा भट्टराईसँगै एमाले पोलिटब्युरो सदस्य दधिराम न्यौपाने (एमएस), केन्द्रीय निर्वाचन आयोगका सदस्य भरत पोखरेल तथा सिद्धार्थनगर नगरपालिकाका पूर्वमेयर हरि अधिकारीले पनि चर्चा हुने गरेको छ।