
काठमाडौँ- पुराना दलको आलोचनासहित सम्भावना, सुशासन र समृद्धिको नारा बोकेर उदाएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र पूर्व पञ्चहरूको दलको नामले चिनिएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) आफ्नै कमजोरी र ठूला दलको घेराबन्दीमा फस्दै गएका छन्। जनताको निराशालाई चिर्ने उनीहरूको आकांक्षा आन्तरिक समस्याले कमजोर बनेको छ।
नयाँ होऊन् वा पुराना पञ्चका दल, यिनले राजनीतिलाई नयाँ बाटो दिन खोजे। तर आक्रामक सुरुवातका बाबजुद उनीहरूको लक्ष्यमा तगारो लाग्यो। आफूलाई वैकल्पिक ठान्ने यी शक्तिको आन्दोलन अहिले सुस्ताएको छ। देशलाई नयाँ नेतृत्व र शासन व्यवस्था दिने योजना बोकेर अघि बढेका रास्वपा र राप्रपाको यात्रा शिथिल बनेको छ।
यी दुवै शक्तिका कार्यशैली र नीति फरक भए पनि साझा लक्ष्य थियो- देश निर्माण गर्ने। देशमा व्याप्त निराशालाई चिर्न वैकल्पिक मार्ग खोज्ने। तर उनीहरूको लडाइँ निर्णायक नबन्दै किनारामा परेको छ। निराशा चिर्न खोज्ने यी दल आफैं समस्यामा फसे। कोही नेतृत्वविहीन छन्, कोही नेतृत्वको तिक्तताले छिन्नभिन्न। देशलाई विकल्प दिने उनीहरूको यात्रामा ब्रेक लागेको छ भने उनीहरूको साखमाथि प्रश्न उठेको छ।
रास्वपाः निराशा चिर्ने खोज्दै गर्दा आफैं निराश
तीन वर्षअघि रवि लामिछानेले ‘सुशासन’को नारासहित रास्वपा गठन गरे। ‘म राजनीति गर्न पुरानै दलमा जान सक्थे तर पुराना दल गन्हाए, उनीहरूबाट परिवर्तन सम्भव छैन,’ उनको ठम्याइ थियो। भ्रष्टाचार, परनिर्भरता र वैदेशिक रोजगारीको बाध्यतालाई मुख्य समस्या ठान्दै उनले नयाँ दलको बाटो रोजे। ‘स्थापित दलको दलदलमा फस्नुभन्दा नयाँ संरचना बनाएर चुनौती दिन्छु,’ उनको संकल्प थियो।
सञ्चारकर्म छोडेर राजनीतिमा आएका उनले स्थापित दलमा छिरेर हस्तक्षेप गर्ने कि नयाँ पार्टी बनाउने? धेरै छलफलपछि नयाँ दल बनाउने निष्कर्षमा पुगेका थिए। उनकै अनुसार उनले नेतृत्वका लागि धेरैको ढोका ढक्ढकाए तर अन्ततः आफैं अघि बढेँ।
‘बेथितिको व्याख्या होइन, भत्काउनु छ। यी बेथितिलाई लल्कारेर मात्र थिति बस्छ,’ जेलबाट उनको सन्देश छ, ‘देशको बेथितिको थप व्याख्या गर्नु छैन, बेथिति भत्काउनु छ। बेथितिका वाहकहरूलाई निवेदन दिएर वा अनुरोध गरेर यो देशमा थितिको शासन सुरु हुँदैन। यिनीहरूलाई लल्कारेर र धावा बोलेर मात्र थिति बसाल्न सकिन्छ भन्ने लागेर राजनीतिमा आएको थिएँ।’
जुन संकल्पका साथ रविले रास्वपा स्थापना गरे। त्यसलाई जनताले पनि साथ दिए। गएको आम निर्वाचनबाट रास्वपा चौथो शक्ति बन्यो। २०७९ को निर्वाचनमा रास्वपाले प्रत्यक्षतर्फ ७ सिट र समानुपातिकमा ११ लाख ३० हजार मत ल्याएर चौथो शक्ति बन्यो। चितवन–२ को उपनिर्वाचनमा रविले दुईपटक नै सानदार जितले पार्टीको साख बढायो।
तर सहकारी ठगी प्रकरणमा मुछिएपछि रविको यात्रामा ब्रेक लाग्यो। ‘ठूला ठगहरूले मलाई ठग सावित गर्न खोजे, तर म डगमगाएको छैन,’ उनको दाबी छ। पाँच जिल्लामा मुद्दा खेपिरहेका रविलाई उच्च अदालत, तुल्सीपुरले पुर्पक्षका लागि थुनामा पठाएको छ। सुप्रिम सहकारी प्रकरणमा उनलाई जेल राखेर अनुसन्धान गर्न आदेश भएको छ।
रविको जेलयात्रापछि रास्वपा नेतृत्वविहीन छ। कार्यवाहक सभापति डीपी अर्यालले पार्टी सम्हाले पनि रविको अभाव खट्किएको छ। सहकारी प्रकरणमा धरौटीमा छुटेपछि रविले ‘जनयात्रा’ मार्फत जिल्ला-जिल्ला पुग्ने योजना बनाएका थिए। चैत १८ मा घण्टी बजाएर देश दौडाहामा निस्कने तयारी थियो, तर चैत २२ मा थुनामा पठाउने आदेश आयो। यसलाई उनीहरूले ठूला दलको घेराबन्दी भन्दै आएका छन्।
हुन त अहिले उनी आफैँ ‘षड्यन्त्र’मा परेको दाबी गरिरहेका छन्। ‘देशको इतिहासका सबै भन्दा ठूला ठगहरूले उल्टै मलाई ठग सावित गर्ने षड्यन्त्र गरिरहेका छन्। तर म हल्लिएको छैन,’ रविले भनेका छन्।
रास्वपाको यात्रा चुनौतीपूर्ण छ। महाधिवेशन स्थगित भएको छ, उसको रणनीति संसद् अवरोधमा सीमित छ। ‘बर्खामा रचनात्मक काम गर्छौँ, विदेशका युवालाई पनि जोड्दैछौँ,’ प्रवक्ता मनिष झाले भने, ‘हामी अन्य कार्यक्रम पनि ल्याउँदै छौँ। यसमा छलफल चलिरहेको छ।’
उनले जे भने पनि रविको अनुपस्थितिले रास्वपा चिन्तामा छ। नेताहरूले एकसेएक नेता भएको दाबी गरे पनि नेतृत्वको अभाव लुकेको छैन। केन्द्रीय समितिले कार्यवाहक महामन्त्री कबिन्द्र बुर्लाकोटी र कार्यवाहक प्रवक्ता मनिष झालाई पूर्ण जिम्मेवारी दिएको छ। तर डीपी अर्याललाई ‘पूर्ण सभापति’ बनाउन रास्वपा नेतृत्व नै हच्के। रविको संसदीय दलको नेता पद पनि रिक्त छ। रविमाथि अन्याय भएको भन्दै कार्यकर्ताले हस्ताक्षर अभियान चलाएका छन्।
राप्रपाः राजावादी आन्दोलनको टुटफुट
राजसंस्था र हिन्दुराष्ट्रको नारासहित राप्रपाले सडक ततायो। सत्तामा रहेका दुई ठूला दल लगायतलाई ‘भ्रष्ट’ ठान्दै पूर्वराजालाई अभिभावक बनाउने ध्येय बोकेर आन्दोलन अघि बढायो। तर आन्तरिक किचलोले आन्दोलन कमजोर बन्यो। देशमा अभिभावकका रूपमा राजालाई राख्नुपर्ने भन्दै राप्रपा अघि बढेको थियो। राप्रपाको आन्दोलन त्यतिबेलासम्म चल्यो, जुन बेला पूर्वपञ्चहरूसहित ‘नवराजावादी’हरूले आन्दोलन अघि बढाउने प्रयत्न गरे।
पूर्वपञ्च नवराज सुवेदी नेतृत्वको राजसंस्था पुनर्स्थापना संयुक्त जनआन्दोलन समिति गठन लगत्तैबाट राप्रपामा असन्तुष्टि देखियो। अध्यक्ष राजेन्द्र लिङ्देन आफैं आन्दोलनको कमान्डर बन्न चाहन्थे, तर सुवेदी अघि सरे। सुवेदी राप्रपाकै नेता भए पनि नेतृत्वको टकरावले पार्टी विभाजित भयो।
सुवेदीको नेतृत्वमा आन्दोलनले गति लिँदा सहभागिता बढ्यो। तर चैत १५ को तीनकुने हिंसाले आन्दोलनमा ब्रेक लाग्यो। राज्य र आन्दोलनकारीबीचको टकरावमा दुई जनाको ज्यान गयो, दर्जनौँ सम्पत्ति जले। त्यसपछि आन्दोलन सुस्तायो।लिङ्देनविरुद्ध धवलशमशेर जबरा र रवीन्द्र मिश्रले सुवेदीको साथ दिए। जेठ १५ बाट निर्णायक आन्दोलनको घोषणा भए पनि नेतृत्वको तिक्तताले यो तुहियो। नेतृ अञ्जु सुवेदी भन्छिन्, ‘लिङ्देनले नेतृत्व गर्नुपर्थ्यो, गलत नेतृत्वले आन्दोलन बिग्रियो।’
राप्रपाले २०७९ मा प्रत्यक्षमा ७ र समानुपातिकमा ५ लाख ८५ हजार मत ल्याएर १४ सिट जित्यो। राजावादी दलमध्ये पहिलो भए पनि सडक संघर्षलाई निर्णायक बनाउन नसक्दा पार्टीमा असन्तुष्टि छ। यो दल मिलेर बसेकाे भए त अहिलेसम्म धेरै पटक सरकारकाे नेतृत्वमा रहने अवसर हुन्थ्यो ।
किन असफल भए यी दल ?
पुराना शक्तिलाई चुनौती दिने रास्वपाको प्रयास चुनौतीपूर्ण थियो। ‘रास्वपा रविको ब्रान्डमा अडिएको छ। उनको अनुपस्थितिमा पार्टी संघर्षरत छ,’ विश्लेषक डम्बर खतिवडा भन्छन्, ‘रविको आवाज र कर्मले रास्वपालाई उभ्याएको थियो, तर उनी स्वयं मुद्दामा पर्दा पार्टी कमजोर भयो। जहाँ जहाँ रवि पुग्थे त्यही उनको हाई हाई हुन्थ्यो।’ खतिवडाका अनुसार रास्वपाले एजेण्डा बलियो उठाए पनि नेतृत्व एक जनामा सीमित हुँदा दल कमजोर बनेको हो।
राजावादी आन्दोलनमा पनि यस्तै समस्या देखियो। विश्लेषक डा. विष्णु दाहाल भन्छन्, ‘राजावादीले नयाँ भिजन दिन सकेनन्। पुरानो व्यवस्था फर्काउने कुरामा जनतालाई विश्वस्त पार्न चुके।’ आन्दोलनमा दृढता र नेतृत्वको कमीले जनविश्वास गुम्यो। ‘निराशा जनतामा छ, तर समस्याको समाधान राजसंस्था हो कि होइन, राप्रपाले बुझाउन सकेन,’ दाहाल थप्छन्। व्यवस्था परिवर्तनको आवश्यकता र अनिवार्यता स्पष्ट नहुँदा आन्दोलन सुस्तायो।
निराशा चिर्ने सपना बोकेका रास्वपा र राप्रपाले जनताको विश्वास जित्ने अवसर पाए। तर आन्तरिक कमजोरी र ठूला दलको घेराबन्दीले उनीहरूको यात्रा कमजोर बन्यो। स्पष्ट रणनीति र दृढ नेतृत्वबिना यी दलको सान्दर्भिकता हराउन सक्छ।तर समयमा सम्हालिएर आम नागरिकको भावनालाई ‘क्यास’ गर्न सकेमा उनीहरू नेतृत्वमा पुग्न सक्छन्। अहिले आम नागरिकमा निराशा बाहेक केही छैन।