
काठमाडौँ- सुरक्षा विषय सम्बन्धी भारत-नेपाल द्विपक्षीय परामर्श समूह (आईएनबीसीजीएसआई) को सोह्रौँ बैठक भारतको पुणेमा सम्पन्न भएको छ। असार ९ र १० गते भएको बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र मन्त्रालयका सहसचिव (दक्षिण एसिया) गेहेन्द्र राजभण्डारीले गरेका थिए। भारतीय प्रतिनिधिमण्डलको नेतृत्व भने विदेश मन्त्रालयका अतिरिक्त सचिव (उत्तर) मुनु महावरले गरेका थिए।
प्रतिनिधिमण्डलमा सम्बन्धित परराष्ट्र तथा रक्षा मन्त्रालयका अधिकारीहरूका साथै भारतीय सेना र नेपाली सेनाका निर्देशनालयहरूका पदाधिकारीहरू सहभागी थिए।
बैठकमा दुवै पक्षले सुरक्षा र रक्षा सहकार्यसँग सम्बन्धित विविध विषयहरू जस्तै उपकरण आपूर्ति, तालिम, संयुक्त सैन्य अभ्यास, विपद् राहत कार्य र सैन्य आदानप्रदानबारे फलदायी छलफल गरेका थिए।
यसका साथै प्रतिनिधिमण्डलले पारस्परिकरूपमा लाभदायक सहकार्यका सम्भावनाहरू खोज्न प्रमुख सार्वजनिक र निजी रक्षा क्षेत्रका उत्पादन स्थलहरूको पनि भ्रमण गरे।
सन् २००३ मा स्थापित आईएनबीसीजीएसआई भारत र नेपालबीच द्विपक्षीय रक्षा र सुरक्षा सहकार्यलाई समन्वय गर्ने एक छाता संस्थागत संयन्त्र हो।