
पोखरा- पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा.बाबुराम भट्टराईले बेइमानी र गन्हाएका पार्टीहरूसँग कुनै पनि हालतमा सहकार्य नहुने बताएका छन्। पोखरामा मंगलबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै डा.भट्टराईले जनताको मुद्दामा सहमत हुने जुनसुकै पक्षसँग सहकार्य गर्न सकिने तर बदनाम र भ्रष्ट शक्तिसँग कुनै सम्झौता नहुने बताएका हुन्।
उनले भने, ‘हामी जनताको मुद्दा लिएर सहकार्य गर्छौं। त्यसका निम्ति यी मुद्दाहरूमा सहमत हुने जो कसैसँग सहकार्य गर्न सक्छौं। मुख्य रूपमा जो बेइमान छन्, गन्हाएका छन्। तीसँग त हामी सहकार्य गर्दैनौं।’
भट्टराईले वैकल्पिक, स्वच्छ छवि भएका पक्षहरूसँग सहकार्य गर्न सकिने बताए। त्यसका लागि समन्वयन समिति समेत बनाइएको प्रस्ट पारे। ‘जो नयाँ, वैकल्पिक, स्वच्छ छविका छन्, त्यस्ता जुनैसँग पनि सहकार्य गर्न सक्छौं। यो मुद्दामा मिल्ने जो पनि हुन सक्छ। हामीले वार्ता समिति बनाएका छौं। र, वार्ता समितिले विभिन्न पक्षहरूसँग कुराकानी गरिरहेको छ। छिट्टै तपाईंले देख्न सक्नुहुनेछ।’
भ्रष्टाचारको सन्दर्भ उठाउँदै डा.भट्टराईले आफूलाई त्यसमा जोड्ने प्रयत्न नगर्न आग्रह गरे। ‘भ्रष्टाचारीहरूको यहाँ जुन लर्को लागेको छ, त्यसमा बाबुराम भट्टराईलाई जोड्ने प्रयत्न नगरिदिनुहोला। त्यो सत्य पनि होइन,’ उनले भने।