माओवादी सांसदले राजीनामा मागेपछि गृहमन्त्रीले भने- राजीनामा ठूलो कुरा होइन, पद्धति बनाउनुपर्छ

हिमाल प्रेस १० असार २०८२ १६:३०
36
SHARES
माओवादी सांसदले राजीनामा मागेपछि गृहमन्त्रीले भने- राजीनामा ठूलो कुरा होइन, पद्धति बनाउनुपर्छ

काठमाडौँ- भिजिट भिसा प्रकरणको छानबिनसम्बन्धी समितिसम्म गठन भइसकेको अवस्थामा गृहमन्त्री रमेश लेखकले किन राजीनामा नदिएको भन्ने प्रश्न संसद्‌मा उठेको छ। नेकपा माओवादी केन्द्रका सांसद तथा पूर्वमन्त्री अमनलाल मोदीले गृहमन्त्रीको पदत्यागको आवश्यकता औंल्याउँदै मंगलबारको संसद् बैठकमा प्रश्न गरे।

सांसद मोदीले भने,‘गम्भीर आरोप लागेपछि वा छानबिन समिति बनेपछि अनुसन्धानमा बाधा नपरोस् भनेर राजीनामा दिने परम्परा छ। बेदाग साबित भएपछि फेरि फर्किने चलन पनि देखिएको छ। मन्त्री भएर उच्च मूल्य र सादा जीवन बाँच्नेहरू पनि त्यही बाटोबाट फर्किएका छन्। त्यसो भए गृहमन्त्रीले किन राजीनामा दिनुभएन्?’

मोदीको प्रश्नको जवाफ दिने क्रममा गृहमन्त्री लेखकले राजीनामा नै समाधान होइन भन्ने तर्क राखे। उनले प्रश्न गर्दै भने, ‘यदि कर्मचारीमाथि अनुसन्धान भइरहेको बेला मन्त्रीले पनि राजीनामा दिँदै जानुपर्ने हो भने, अहिलेसम्म कति मन्त्रीले राजीनामा दिइसकेका छन्? अनि अब कति दिनुपर्ने होला?’

गृहमन्त्री लेखकले राजीनामाभन्दा पनि व्यवस्थागत सुधार आवश्यक रहेको औंल्याए। उनले भने, ‘राजीनामा दिनु ठूलो कुरा होइन। तर, पद्धति र प्रणाली के बनाउने भन्ने विषय हो। राष्ट्रसेवक कर्मचारीमाथि अनुसन्धान हुनु सामान्य प्रक्रिया हो। त्यसलाई मन्त्रीसँग जोडेर हतारमा निष्कर्ष निकाल्न मिल्दैन।’

सांसद मोदी पनि पूर्वमन्त्री भइसकेको उल्लेख गर्दै लेखकले भने, ‘स्वयं माननीय सदस्य पनि मन्त्री भइसक्नुभएको छ। त्यसैले मैले त्यतातिर ध्यानाकर्षण गराएको हुँ।’

प्रकाशित: १० असार २०८२ १६:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast