
काठमाडौँ- ‘डोरी’ का निर्देशक अरुण लामाले दोस्रो फिल्म ‘तथास्तु’ निर्माण गर्ने भएका छन्। उनले एक पोस्टर सार्वजनिक गर्दै फिल्म निर्माणको घोषणा गरेका हुन्।
फिल्म कर्म, भाग्य र आन्तरिक रूपान्तरणको कथा भएको निर्देशक लामाले बताए। उनकाअनुसार फिल्मले आध्यात्मिक यात्रा, अन्तरद्वन्द्व र सामाजिक यथार्थबीचको द्वन्द्व प्रस्तुत गर्नेछ। ‘सिमुलेसन थ्योरी’ को पृष्ठभूमिमा भगवान र मानिसहरूको लोकबीचको कथा समेटिनेछ।
निर्देशक लामाले फिल्मको ‘तथास्तु’ राख्नुको कुरालाई समेत अर्थ्याएका छन्। उनले भने, ‘यो शब्दको अर्थ हो, जसरी तपाईंले चाहनुभयो, त्यसैगरी होस्। तर के हामीले चाहेका सबै कुरा साँच्चिकै ठिक हुन्छन् त? के हामी त्यसको लागि तयार छौँ त? जीवनमा प्राप्तिभन्दा बुझाइ महत्वपूर्ण हुन्छ। तपाईंले मागेको कुरा तब मात्र सार्थक हुन्छ, जब तपाईं त्यसलाई ग्रहण गर्न तयार हुनुहुन्छ।’
निर्देशक लामाले फिल्ममा नयाँ पुस्ताका उदाउँदा प्रतिभालाई स्थान दिने बताए। फिल्म नेपाली र हिन्दी दुबै भाषामा निर्माण हुनेछ। अर्को वर्ष अर्थात् २०८३ सालमा फिल्मको छायांकन नेपाल र भारतमा हुनेछ। जी. सेभेन प्रोडक्सनकने प्रस्तुति रहनेछ।
यसअघि निर्देशक लामाले फिल्म ‘डोरी’निर्माण गरेका थिए। फिल्मले सन्तोषजनक व्यापार गर्न सकेन।