
काठमाडौँ– प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सही विचार र नेतृत्व भएकाले नेकपा विभाजनपछि एमाले पहिलेकै अवस्थामा फर्कन सफल भएको बताएका छन्।
सोमबार ललितपुरमा राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफूहरुलाई सिध्याउँछौँ भनेर प्रतिक्रियावादीहरु लागे पनि सही विचार र नेतृत्व भएकाले नेकपा विभाजनपछि एमाले पहिलेकै अवस्थामा फर्कन सफल भएको बताए।
उनले अझै पनि एमालेलाई घेराबन्दीमा पार्ने र भ्रमपूर्ण प्रचार हुने गरेकाले त्यसका विरुद्ध लाग्न युवा संगठनलाई निर्देशन दिए।
प्रधानमन्त्री ओलीले युवाहरुले व्यक्तिको नभई सही विचार र नेतृत्वको पक्षपोषणमा लाग्नुपर्नेमा जोड दिए। सामाजिक न्याय, राष्ट्रिय हित, रक्षा, सुशासन र वैज्ञानिक दृष्टिकोणजस्ता एमालेका नीतिप्रतिको प्रतिबद्ध संगठन उभिन पनि उनले युवा संघलाई आग्रह गरे।
युवा संघ जनताको स्वाभिमानको मजबुद किल्ला भएकाले यसलाई कसैले भत्काउन नसक्ने स्पष्ट गर्दै ओलीले युवा संघ सामाजिक क्रियाकलाप, जागरण र देशभक्तिपूर्ण भावको नेतृत्वकर्ता भएको बताए।