
काठमाडौँ- आइतबार बिहान अमेरिकाले इरानका तीन प्रमुख परमाणु केन्द्रहरूमा आक्रमण गरेपछि स्थिति तनावपूर्ण बन्दै गएको छ। इरानले ती आक्रमणको जवाफ दिने चेतावनी दिएको छ।
अमेरिकी आक्रमणपछि इजरायलमाथि दर्जनौँ मिसाइल प्रहार गरेपछि इरानी सञ्चारमाध्यमहरूले सोमबार साँझबाट होर्मुज जलडमरूको (स्ट्रेट अफ होर्मुज) बन्द गर्ने तयारी रहेको जनाएका छन्। होर्मुज जलडमरू बन्द गर्ने सम्बन्धी इरानको संसदले समेत पारित गरेको जनाइएको छ।
विश्वको तेल आपूर्तिमा असर पर्ने जोखिम
होर्मुज जलडमरूको विश्वकै सबैभन्दा महत्वपूर्ण तेल ढुवानी मार्गहरूमध्ये एक हो। विश्वव्यापी तेल र ग्यास आपूर्तिको करिब २० प्रतिशत हिस्सा यही जलमार्ग हुँदै जाने गर्छ।
यो जलडमरूको फारसको खाडीलाई अरब सागर तथा हिन्द महासगरसँग जोड्छ। सबैभन्दा साँघुरो स्थानमा यसको चौडाइ ३३ किलोमिटरमात्र रहेको छ। तर, जहाज आवागमनका लागि प्रयोग हुने मार्ग झनै साँघुरो तीन किलोमिटरमात्र हो।
भारतका लागि कस्तो असर?
भारतका लागि होर्मुज स्ट्रेट अत्यन्तै महत्वपूर्ण ठानिन्छ। भारतले दैनिक झन्डै ५५ लाख ब्यारेल कच्चा तेल आयात गर्छ, जसमा करिब २० लाख ब्यारेल तेल प्रतिदिन यही मार्ग हुँदै भारत पुग्छ। यो जलमार्गमा कुनै अवरोध आएको खण्डमा भारतको ऊर्जा सुरक्षामा गम्भीर असर पर्नेछ।
सागरमा संघर्षको जोखिम
यदि इरानले होर्मुज स्ट्रेट बन्द गरे संघर्षलाई समुद्री क्षेत्रसम्म तान्न सक्ने अनुमान गरिएको छ। यस्तो अवस्थामा तेल ट्यांकरहरूमाथि मिसाइल आक्रमण, जहाजहरू रोकिनु वा साइबर आक्रमण जस्ता घटना बढ्न सक्छन्।
विगतमा कहिल्यै बन्द नभएको होर्मुज स्ट्रेट
हालसम्म इरानले कुनै पनि युद्धको समयमा होर्मुज स्ट्रेट पूर्णरूपमा बन्द गरेको छैन। यसको एक प्रमुख कारण भनेको इरानको आफ्नै व्यापार पनि यही मार्गबाट हुने गरेको छ। जलमार्गको अवरोधले इरान र उसका मित्र राष्ट्रहरूलाई समेत ठूलो नोक्सान पुर्याउने जोखिम हुनेछ।
इरानको सरकारी च्यानल प्रेस टिभीका अनुसार इरानको संसदले होर्मुज स्ट्रेट बन्द गर्ने प्रस्ताव पारित गरिसकेको छ। अन्तिम निर्णय सुप्रिम नेसनल सेक्युरिटी काउन्सिलले लिने बताइएको छ।
होर्मुज स्ट्रेटको रणनीतिक महत्व
अहिलेसम्म विश्वव्यापी तेल आपूर्तिमा कुनै ठूलो अवरोध देखिएको छैन। तर, इजरायल र अमेरिकाले इरानमाथि गरेका आक्रमणपछि लगानीकर्ताहरू तनावमा देखिएका छन्। इरानले होर्मुज स्ट्रेट बन्द गर्ने सम्भावित डरले तेलको मूल्य करिब १० प्रतिशत उकालो लागेको छ।
फारसको खाडी र ओमानको खाडीबीच रहेको होर्मुज स्ट्रेट विश्वकै सबैभन्दा संवेदनशील जलमार्ग मानिन्छ। यहाँबाट दैनिक झन्डै दुई करोड ब्यारेल कच्चा तेल, जुन विश्व उत्पादनको पाँचौं हिस्सा हो, ढुवानी हुन्छ।
होर्मुज स्ट्रेट विश्वकै सबैभन्दा महत्वपूर्ण तेल तथा ग्यास आपूर्ति हुने मार्ग मानिन्छ। यो मध्यपूर्वका कच्चा तेल उत्पादक मुलुकहरूलाई एसिया, युरोप र अमेरिकालगायतका क्षेत्रसँग जोड्ने मुख्य मार्ग हो। इरान र अबर प्रायद्वीपबीचको यो संकीर्ण जलमार्ग बन्द हुनुले वैश्विक आपूर्ति शृंखलामा ठूलो झड्का पुर्याउने अनुमान गरिएको छ।
अमेरिकी ऊर्जा सूचना प्रशासन (ईआईए) ले यसलाई ‘महत्वपूर्ण तेल संकुचन विन्दु’ भनेको छ।
अमेरिकाले आइतबार इरानका तीनवटा परमाणु केन्द्रमाथि हवाई आक्रमण गरेपछि, विश्व तेल बजार तत्काल प्रभावित भयो। जानकारहरूका अनुसार इरानले होर्मुज स्ट्रेटमा कुनै अवरोध गरे तेलको मूल्य प्रति ब्यारले सय डलर वृद्धि हुनसक्ने जनाएका छन्।
इरानका सर्वोच्च नेता अयातुल्लाह खामेनीका सल्लाहकार होसेन शरियत्मदारीले अमेरिकी आक्रमणको जवाफस्वरूप होर्मुज स्ट्रेट बन्द गर्नुपर्ने अभिव्यक्ति दिँदै भने, ‘अब हाम्रो पालो आएको छ।’
अमेरिकाको आग्रह : चीनले इरानलाई होर्मुज स्ट्रेट बन्द गर्न नदिन आग्रह गरोस्
इरानको संसदले होर्मुज स्ट्रेट बन्द गर्ने प्रस्ताव पारित गरेपछि अमेरिकाले गम्भीर चासो व्यक्त गरेको छ। अमेरिकाका विदेशमन्त्री मार्को रुबियोले चीनसँग आग्रह गर्दै इरानलाई यस्तो कदम चाल्नबाट रोक्न फोनवार्ता गर्न सुझाव दिएका छन्।
फक्स न्युजलाई दिएको अन्तर्वार्तामा रुबियोले भने,‘म चीन सरकारसँग आग्रह गर्छु कि उसले इरानसँग प्रत्यक्ष सम्पर्क गरेर यो विषयमा वार्ता गरोस्, किनभने तेल आपूर्तिका लागि चीन होर्मुज स्ट्रेटमाथि धेरै हदसम्म निर्भर छ।’
इरानले होर्मुज स्ट्रेट बन्द गरे यो आर्थिक आत्महत्या जस्तै हुने उनको चेतावनी छ। रुबियोले भने,‘यदि इरानले होर्मुज स्ट्रट बन्द गर्छ भने, त्यो आर्थिक आत्महत्या जस्तै हुनेछ। अमेरिका यो स्थितिलाई सामना गर्न तयार छ। तर, अन्य मुलुकहरूले पनि त्यसतर्फ ध्यान दिनुपर्छ, किनभने यसको प्रभाव उनीहरूको अर्थतन्त्रमा झन गम्भीर हुनेछ।’