
पोखरा- पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ८ अर्ब ३५ करोड १२ लाख बराबरको बजेट प्रस्तुत गरेको छ। आइतबार पोखरा महानगरपालिकाको १७ औं नगरसभामा उपप्रमुख मञ्जुदेवी गुरुङले आगामी आवको लागि उक्त रकम बराबरको बजेट प्रस्तुत गरेकी हुन्।
बजेटको खर्च व्यहोर्ने स्रोतमा संघीय सरकार सशर्त अनुदानबाट ३ अर्ब १३ करोड १२ लाख रहेको छ। आन्तरिक आयबाट ५ अर्ब २२ करोड व्यहोरिने छ।
खर्च केन्द्रगत रुपमा नगर कार्यपालिकाको कार्यालयतर्फ ९५ करोड अर्थात् १८.१५ प्रतिशत, सामाजिक विकासतर्फ ३८ करोड अर्थात् ७.२८ प्रतिशत, आर्थिक विकासतर्फ १८ करोड अर्थात् ३.४५ प्रतिशत, वडा कार्यालयतर्फ १ अर्ब अर्थात् १९.१६ प्रतिशत, पूर्वाधारतर्फ २ अर्ब ३३ करोड अर्थात् ४४.६४ प्रतिशत, सहरी विकास पर्यटन वन तथा वातावरणतर्फ ३८ करोड अर्थात् ७.२८ प्रतिशत बजेट प्रस्ताव गरिएको छ।
आन्तरिक राजश्व परिचालनतर्फ ३ अर्ब २३ करोड ७२ लाख २७ हजार अर्थात् ६१.८६ प्रतिशत रहेको छ। स्थानीय राजश्व बाँडफाँडबाट १ अर्ब १ करोड १९ लाख १४ हजार अर्थात् १९.३३ प्रतिशत, प्रदेश राजश्व बाँडफाँडबाट ४ करोड २८ लाख ७२ हजार अर्थात् ०.८० प्रतिशत, संघीय राजश्व बाँडफाँडबाट ३३ करोड ८ लाख ४० हजार अर्थात् ६.३२ प्रतिशत, संघीय समानीकरण अनुदानबाट ५२ करोड ८७ लाख अर्थात् १०.१० प्रतिशत, प्रदेश अनुदानबाट ८ करोड १५ लाख ४६ हजार अर्थात् १.५५ प्रतिशत ब्यहोरिने उपप्रमुख गुरुङले बताइन्।
बजेटले पर्यटकीय राजधानी पोखराको पर्यटकीय पूर्वाधारको विकास, उत्पादनमूलक व्यावसायिक कृषि प्रणालीको विकास, समानुपातिक विकास प्रक्रिया अवलम्बन, फोहोरमैलाको वैज्ञानिक व्यवस्थापन मार्फत प्रदूषण नियन्त्रण, सार्वजनिक सम्पत्तिको संरक्षण गर्दै उत्पादनशील उपयोग, सभ्य, सुसंस्कृत र व्यवस्थित शहरीकरणको विकास लगायतलाई प्राथमिकता दिएको छ।
साथै, सामाजिक न्याय, लैंगिक समावेशीकरण र सहभागितामूलक विकासका माध्यमबाट समतामुलक समाजको निर्माण, आधारभूत शिक्षा र स्वास्थ्य सेवाको प्रत्याभूत गर्ने लगायत रहेका छन्। साथै, हरित, उत्थानशील र दिगो पूर्वाधार विकासमा जोड दिने, पर्यटन प्रवर्द्धन, वातावरण संरक्षण, सम्वर्द्धन तथा फोहोरमैला व्यवस्थापन, समावेशी, सन्तुलित र समतामूलक विकास, संस्थागत विकास, सुशासन प्रवर्द्धन तथा गुणस्तरीय सेवा प्रवाह, स्वरोजगार, उद्यमशीलता तथा व्यवसायिक कृषि प्रणालीको प्रवर्द्धन, गुणस्तरीय, जवाफदेही र प्रतिस्पर्धी मावनस्रोत विकासमा जोड दिइएको छ।
त्यसअघि महानगर प्रमुख धनराज आचार्यले आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। देशका ६ वटा महानगरमध्ये पोखरा क्षेत्रफल आधारमा सबैभन्दा ठूलो महानगर हो।