
काठमाडौँ– नेकपा (एमाले) का मुख्य सचेतक महेश बर्तौलाले ‘भिजिट भिसा’ प्रकरणबारे सत्तापक्ष र प्रमुख प्रतिपक्षबीच दुईबुँदे सहमतिमा सरकार प्रतिबद्ध रहेको स्पष्ट पारेका छन्।
प्रतिनिधिसभाको आइतबारको बैठकमा विनियोजन विधेयक, २०८२ का विभिन्न शीर्षकमाथि जारी छलफलमा मुख्य सचेतक बर्तौलाले दुईबुँदे सहमतिका पक्षमा केही दिनमै संयन्त्र बनाउने जानकारी दिए।
‘विपक्षी दलसँग भएको समझदारीबारे सरकार प्रतिबद्ध छ। एक महिना कुर्दैनौँ। आजको मितिले बढीमा पाँच दिनभित्रमा हामी संयन्त्र बनाउँछौँ,’ उनले भने, ‘गृहमन्त्री रमेश लेखकले नै सदनमा उपस्थित भएर घोषणा गर्नुहुनेछ। त्यस प्रकारको तयारी उच्चस्तरबाट भएको छ।’
मुख्य सचेतक बर्तौलाले गत जेठ १३ गतेदेखि लगातार सदन अवरोध कायम राखेको उल्लेख गर्दै रास्वपा र राप्रपाका सांसदहरुको अवरोधप्रति असहमति व्यक्त गरे।
प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले सहमतिअनुसार सरकारले भिजिट भिसा प्रकरणमा छानबिन समिति बनाउन ढिलाइ गर्न नहुने राय व्यक्त गरेका थिए।