
बुटवल- इलाका प्रशासन कार्यालय बुटवलमा राष्ट्रिय परिचयपत्र बनाउन सर्वसाधारणले घन्टौं लाम बस्नुपर्ने भएपछि एउटा स्टेसन थप गरिएको छ। हिमालप्रेसमा जेठ २३ गते ‘राष्ट्रिय परिचयपत्र बनाउन सकस, प्रशासन भन्छ थेग्न सकिएन’ भन्ने शीर्षकमा समाचार प्रकाशन भएको थियो।
प्रशासनसँगको सहकार्यमा बुटवल उपमहानगरपालिका परिसरमा आइतबार नयाँ स्टेसनको उद्घाटन गरिएको छ। नगरप्रमुख खेलराज पाण्डेयले उद्घाटन गर्दै बुटवल उपमहानगरकाभित्र बसोबास गरेकाहरुलाई पहिलो प्राथमिकतामा राखेर सेवा दिने बताए।
उनले राष्ट्रिय परिचयपत्र वितरण वडाबाटै गरेको बताउँदै प्रशासनसँगको समन्वयमा अब उपमहानगरभित्र परिचपयपत्र बनाउन सकिने बताए। नगरप्रमुख पाण्डेयले सर्वसाधरण नागरिकको सक्दो सेवाका लागि उपमहानगर लागि परेको बताए।
यस्तै इलाका प्रशासन कार्यालय बुटवलका प्रमुख रामचन्द्र अर्यालले राष्ट्रिय परिचयपत्र बनाउन सर्वसाधरण नागरिकहरुको चाप अत्यधिक भएकाले उपमहानगरपालिकाभित्र स्टेसन थप गरिएको बताए। उनले इलाका प्रशासनबाट दैनिक २ सय जनालाई सेवा दिएकोमा सर्वसाधरण फर्कनुपरेकाले उपमहानगरभित्र स्टेसन थपेर सेवा दिनपरेको बताए।
उनका अनुसार इलाका प्रशासन कार्यालय बुटवलबाट ६० हजार कार्डहरू छापिएको र दैनिक ५ सयको आधारमा परिचयपत्र समेत वितरण गर्दै आइरहेको छ। प्रशासनले दैनिक १ सय ८० जनालाई टोकन र १५ देखि २० जना जेष्ठ नागरिक, अपाङ्गता भएका र बिरामीहरुलाई लाइनमा नबसि सेवा दिने गरेको छ।
इलाका प्रशासन कार्यालय बुटवल कार्यालयले जिल्लामै सबैभन्दा बढी राष्ट्रिय परिचय पत्रको सेवा दिएको छ। बुटवलमा जिल्लाबाहिर पाल्पा, कपिलवस्तु, गुल्मी, अर्घाखाँची, प्यूठान, बागलुङसम्मका सेवाग्राही आउने गरेकाले सेवाग्राहीको संख्या चार महिनादेखि स्थिर रहेको प्रशासनले जनाएको छ।
माघदेखि जेठ २२ गतेसम्म १४ हजार ५७८ जनाले इलाका प्रशासन कार्यालय बुटवलबाट राष्ट्रिय परिचयपत्र बनाएका छन्। यस्तै यो आर्थिक बर्षको जेठ २२ गतेसम्म २७ हजार १७ जनाले राष्ट्रिय परिचय पत्र बनाएको तथ्यांक छ।