
सुर्खेत- कर्णाली प्रदेशसभाका सांसदहरूले नागरिकमैत्री कानुन निर्माणलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाएका छन्। आइतबार संसदीय मामिला पत्रकार समाजद्वारा आयोजित संसदीय निगरानी र सार्वजनिक सुनुवाइका लागि सवाल पहिचान विषयक कार्यशालमा सहभागी सांसदहरूले प्रदेशसभालाई नागरिकमैत्री कानुन निर्माणको थलो बनाउने प्रतिबद्धता जनाएका हुन्।
प्रदेश मामिला समितिको सभापतससमेत रहेकी सांसद कल्याणी खड्काले प्रदेशसभामार्फत नागरिकका आवाजको प्रतिनिधित्व गरिरहेको उल्लेख गर्दै सरकारलाई नागरिकप्रति उत्तरदायी बनाउन सांसदको भूमिका महत्त्वपूर्ण हुने बताइन्।कार्यशालाका सहभागीले उठाएका सवालको जवाफ दिँदै उनले आफ्नो समितिमा आएका विधेयकलाई समयमै संसदमा प्रवेश गराउनेदेखि सरकारका कामकारबाहीको निगरानी गरी आवश्यक निर्देशनसमेत दिने गरेको बताइन्।
यस्तै अर्थ तथा प्राकृतिक स्रोत समितिका सभापति दक्षिणा शाहीले महिला, बालबालिका, दलित, अपांगाता भएका व्यक्ति तथा समुदायका सवाललाई संसदमा प्राथमिकताका साथ उठाउने गरेको बताइन्। उनले आफ्नो क्षेत्राधिकारमा रहेको समितिमार्फत् नागरिकका सवाललाई प्राथमिकता दिई कानुन निर्माणमा संसदलाई उत्तरदायी बनाउन आगामी दिनमा थप भूमिका खेल्ने बताइन्।
सामाजिक विकास समितिका सभापति पूर्णबहादुर खत्रीले लोपोन्मुख राउटे समुदायको उत्थानका लागि सरकारले नीति ल्याउन लागेको बताए, जसका लागि सरोकारवालाहरुसँग छलफल अघि बढिसकेको उनको दाबी छ।
नेकपा माओवादी केन्द्र संसदीय दलका प्रमुुख सचेतक कृष्णबहादुर जिसीले लक्षित समुदायका मुद्दालाई प्रदेशसभामार्फत् उठाइरहेको बताए। सामाजिक न्यायको क्षेत्रमा कतिपय विषयहरू अझै पनि संसदमा प्रवेश गर्न नसकेको उल्लेख गर्दै कार्यशालाबाट प्राप्त सुझावलाई आगामी दिनमा मनन गर्ने उनले बताए ।
नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक टेकराज पछाईले संसदले बनाउने सरकार, संसद र नागरिकप्रति उत्तरदायी हुनुपर्ने धारणा राखे। प्रदेशसभामार्फत बनाइएका कानुनहरु प्रभावकारी कार्यान्वयन भए नभएको परीक्षण गर्ने जिम्मेवारी सांसदलाई रहेको उल्लेख गर्दै उनले सरकार र संसदको पहिलो प्राथमिकतामा नागरिक हुनुपर्ने तर्क गरे।
यस्तै नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक हिक्मतबहादुर विष्टले मानवअधिकार रक्षक विधेयक र राउटे समुदायको उत्थानसँग सम्बन्धित विधेयकलाई अघि बढाउने तयारी रहेको बताए।