अमेरिकी आक्रमणपछि कूटनीतिक विकल्प अन्त्य भएको इरानको टिप्पणी, पाकिस्तानद्वारा आक्रमणको निन्दा

हिमाल प्रेस ८ असार २०८२ १६:३१
88
SHARES
अमेरिकी आक्रमणपछि कूटनीतिक विकल्प अन्त्य भएको इरानको टिप्पणी, पाकिस्तानद्वारा आक्रमणको निन्दा

काठमाडौँ- इरानमाथि अमेरिकाले गरेको हवाई आक्रमणपछि इरानका विदेशमन्त्री अब्बास अरागचीले अमेरिका र इजरायलले कूटनीतिक संवादको मार्ग बन्द गरेको टिप्पणी गरेका छन्।उनले सामाजिक सञ्जालमार्फत यस्तो धारणा सार्वजनिक गरेका हुन्।

अरागचीले लेखेका छन्,‘पछिल्लो साता हामी अमेरिकासँग वार्तामा थियौँ, तर इजरायली आक्रमणपछि कूटनीति बन्द गर्ने निर्णय गरियो। यस साता हामी युरोपेली मुलुक र युरोपियन युनियनका प्रतिनिधिहरूसँग संवादमा थियौँ, त्यहीबेला अमेरिकाले पनि कूटनीतिक ढोका बन्द गर्‍यो।’

उनका अनुसार अमेरिका र इरानबीच २०१५ को परमाणु सम्झौतामा पुनः प्रवेशका लागि छैठौँ चरणको वार्ता तय गरिएको थियो। तर, इजरायलको आक्रमणका कारण संवाद अघि बढ्न सकेन।

‘यसबाट तपाईँहरू के निष्कर्ष निकाल्नुहुन्छ?,’ अरागचीले प्रश्न गर्दै भनेका छन्,‘हामी युरोपेली मुलुकहरूलाई भन्न चाहन्छौँ कि उनीहरूले इरान वार्ताको टेबुलमा फर्कनुपर्ने अपेक्षा राखेका छन्। तर, इरान कहिल्यै त्यो मेचबाट उठेको नै थिएन।’

उनले संयुक्त राष्ट्र सुरक्षा परिषद्का स्थायी सदस्य अमेरिकाले इरानको परमाणु केन्द्रमाथि आक्रमण गरेर अन्तर्राष्ट्रिय कानुन, संयुक्त राष्ट्र चार्टर र परमाणु अप्रसार सन्धिको गम्भीर उल्लंघन गरेको आरोप लगाएका छन्।

यसैबीच पाकिस्तानले इरानको परमाणु केन्द्रहरूमा अमेरिकाले गरेको आक्रमणको निन्दा गरेको छ। पाकिस्तानका विदेशमन्त्री इसहाक डारले इरानको परमाणु केन्द्रहरूमा आक्रमण गर्ने अमेरिकी कदमको निन्दा गरेका हुन्।

डारले सामाजिक सञ्जाल एक्समा लेखेका छन्,‘पाकिस्तानले इरानमाथि भएका अमेरिकी आक्रमणको भत्र्सना गर्दछ। हामी क्षेत्रीय तनाव र हिंसा अझ बढनसक्ने सम्भावनाले अत्यन्त चिन्तित छौँ।’

अमेरिकी आक्रमण अन्तर्राष्ट्रिय कानुनको उल्लंघन रहेको बताउँदै उनले इरानलाई संयुक्त राष्ट्रसंघको चार्टरअन्तर्गत आत्मरक्षाको वैध अधिकार रहेको उल्लेख गरेका छन्।
पाकिस्तानले जारी गरेको आधिकारिक वक्तव्यमा सबै पक्षलाई संवाद र कूटनीतिबाट समाधान खोज्न आह्वान गरिएको छ।

‘सर्वसाधारणको जीवन र सम्पत्तिको रक्षा अत्यन्त जरूरी छ। यो संघर्ष तत्काल अन्त्य हुनुपर्छ। सबै पक्षले विशेषगरी अन्तर्राष्ट्रिय मानवीय कानुनको पालना गर्नुपर्छ। संवाद र कूटनीति नै यो संकट समाधानको एकामात्र बाटो हो,’ वक्तव्यमा भनिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast