
काठमाडौँ- नसर्ने रोग, लैङ्गिक असमानता र यौन दुर्व्यवहार रोकथाममा विद्यालयको भूमिकालाई सशक्त बनाउन तिलाठी कोइलाडी गाउँपालिकामा चारदिने शिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम भाष्कर-तेजश्री स्मृति प्रतिष्ठानको आयोजनामा सम्पन्न भएको हो।
प्रतिष्ठानले विशेषगरी विद्यालय शिक्षकमार्फत विद्यार्थीलाई जागरूक गराउँदै समाजमा दीर्घकालीन परिवर्तन ल्याउने लक्ष्यसहित यसप्रकारका तालिमहरू सञ्चालन गर्दै आएको छ। यसपटक तालिममा गाउँपालिकाभित्रका सबै सामुदायिक विद्यालयका कक्षा ४ देखि ८ सम्म स्वास्थ्य, शारीरिक तथा सिर्जनात्मक कला अध्यापन गर्ने २९ जना शिक्षक, सामाजिक अध्ययन तथा मानव मूल्य शिक्षा अध्यापन गर्ने २७ जना शिक्षक र एक जना विद्यालय नर्स गरी कुल ५७ जनालाई प्रशिक्षण दिइएको थियो।
तालिममा अनुसन्धान-प्रमाणित शैक्षिक पाठ्यक्रम र व्यावहारिक मोड्युलको प्रयोग गरिएको थियो। प्रशिक्षकहरूले नसर्ने रोगको रोकथाम, लैङ्गिक समानता र यौन दुर्व्यवहारको पहिचान तथा रोकथामका उपायहरूमा सहभागीहरूलाई सचेत गराएका थिए।
कार्यक्रमको उद्घाटनमा गाउँपालिका प्रमुख अरुण कुमार मण्डलले तालिमले विद्यालयमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरे। ‘शिक्षकहरूले प्राप्त ज्ञान र सीप विद्यार्थीहरूमा प्रभावकारी रूपमा हस्तान्तरण गर्न सके यसले दीर्घकालीन रूपमा निरोगी र समतामूलक समाज निर्माणमा टेवा पुग्नेछ,’ उनले भने।
शिक्षा शाखा प्रमुख चन्द्रभूषण रायले तालिम प्रभावकारी र व्यावहारिक भएको बताउँदै प्रतिष्ठानप्रति धन्यवाद व्यक्त गरे। उनले आगामी दिनमा यस्ता कार्यक्रमलाई गाउँपालिकाले निरन्तर साथ र समर्थन दिने प्रतिबद्धता जनाए।
तालिम सहभागी शिक्षक सरोज कुमार कर्णले तालिममा सिकेका सीप विद्यालयस्तरमै कार्यान्वयन गर्न सके विद्यालयबाटै स्थायी परिवर्तन सम्भव हुने बताए।
भाष्कर-तेजश्री स्मृति प्रतिष्ठानका अनुसार यसअघि झापा जिल्लाको विर्तामोड नगरपालिकामा ३७ जना र जुम्लाको चन्दननाथ नगरपालिकामा २९ जना शिक्षकलाई यस्तै तालिम दिइसकिएको छ। प्रतिष्ठानकी अनुसन्धान तथा तालिम अधिकृत संगीता कार्कीका अनुसार तालिम अब सातै प्रदेशका स्थानीय तहमा सञ्चालन हुँदैछ।