
काठमाडौँ- नेकपा एमाले निकट शिक्षकहरूको संगठन नेपाल राष्ट्रिय शिक्षक संगठनको १४औं राष्ट्रिय महाधिवेशनबाट हंसबहादुर शाही अध्यक्षमा निर्वाचित भएका छन्।
उनी यसअघि दुई कार्यकाल महासचिवको जिम्मेवारी सम्हालिसकेका नेता हुन्। काठमाडौँमा सम्पन्न महाधिवेशनबाट शाहीको नेतृत्वमा ११ सदस्यीय केन्द्रीय कार्यसमिति बनेको छ।
नयाँ कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा जंगबहादुर गर्बुजा, उपाध्यक्षमा गोविन्द भण्डारी र महिला उपाध्यक्षमा अम्बिका चापागाई चयन भएका छन्। महासचिवको जिम्मेवारी प्रकाश खनाल छन् भने उपमहासचिवमा श्रीराम दाहाल, खुला सचिवमा बामदेव सुवेदी, महिला सचिवमा वेणु काफ्ले र कोषाध्यक्षमा नरबहादुर रावल चयन भएका छन्।
महाधिवेशनले काठमाडौँबाट राष्ट्रिय समिति सदस्यमा माधवप्रसाद ओली, राधा पौडेल र चिना शर्मालाई चयन गरेको छ।
अध्यक्ष पदका लागि शाहीसँगै कमला थापा र यमबहादुर कुँवर आकांक्षी थिए। तर अन्ततः शाहीले बाजी मारे।
नवनिर्वाचित अध्यक्ष शाही २०४६ सालमा शिक्षण सेवामा प्रवेश गरेका थिए। सोही वर्ष उनले नेपाल राष्ट्रिय शिक्षक संगठनको सदस्यता लिएर संगठनिक यात्रा प्रारम्भ गरेका थिए।
उनले दुई कार्यकाल कालिकोट जिल्ला अध्यक्षका रूपमा काम गरे। साथै, शिक्षक युनियन कालिकोटको नेतृत्व र विद्यालयस्तरीय शैक्षिक नेतृत्व पनि सम्हाले।
शाहीले सम्हालेका मुख्य संगठनिक जिम्मेवारीमा २०५७–२०६२ सम्म कालिकोट जिल्ला अध्यक्ष, २०६०–२०७५ सम्म प्रधानाध्यापक, २०६२–२०६५ सम्म केन्द्रीय सदस्य, २०७०–२०७५ सम्म उपाध्यक्ष र २०७६ देखि २०८२ सम्म लगातार दुई कार्यकाल महासचिव रहेका छन्।
उनी शिक्षक आन्दोलन, संगठन विस्तार र नेतृत्व विकासका निम्ति संघर्षशील, निष्ठावान र जिम्मेवार व्यक्तित्वको रूपमा चिनिन्छन्। संगठनभित्र उनको संयमित र समावेशी नेतृत्व शैलीको कदर हुँदै आएको छ।
महाधिवेशनले संगठनलाई नयाँ उचाइमा लैजाने, शिक्षक हितका विषयमा दृढ अडान लिने र शिक्षा प्रणालीमा गुणस्तर सुधार ल्याउने गरी शाहीको नेतृत्वमा आशा गरिएको छ। शाहीले आफू संगठनलाई अभियानमुखी, रूपान्तरणशील र समावेशी ढंगले अगाडि बढाउने प्रतिबद्धता जनाएका छन्।
कसले कति मत ल्याए?