अमेरिकाले इरानका तीन प्रमुख परमाणु केन्द्रमा हवाई आक्रमण गर्‍यो, ट्रम्पले गरे पुष्टि

हिमाल प्रेस ८ असार २०८२ ८:३८
40
SHARES
अमेरिकाले इरानका तीन प्रमुख परमाणु केन्द्रमा हवाई आक्रमण गर्‍यो, ट्रम्पले गरे पुष्टि फाइल तस्बिर

काठमाडौँ- अमेरिकाले इरानका तीन प्रमुख परमाणु केन्द्रहरूमा आक्रमण गरेको छ। अमेरिकाले इरानका तीन प्रमुख परमाणु केन्द्रहरू फोर्दो, नताञ्ज र इस्फहानमा सफल हवाई आक्रमण गरेको हो।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका तीन प्रमुख परमाणु केन्द्रमा आक्रमण गरेको भन्ने पुष्टि गरेका छन्। साथै यी आक्रमणबारे इरानले पनि पुष्टि गरेको छ।

राष्ट्रपति ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेखेका छन्,‘हामीले फोर्दो, नताञ्ज र इस्फहानमा अवस्थित तीनवटै परमाणु केन्द्रहरूमा सफलतापूर्वक आक्रमण गरेका छौँ। हाम्रा सबै विमानहरू अहिले इरानी हवाई सीमाबाट बाहिर छन्।’

उनले इरानका परमाणु केन्द्रहरूमा आक्रमण गरेर सबै विमानहरू सुरक्षित रुपमा अमेरिका फर्किएको उल्लेख गरेका छन्। ‘फोर्दोमा सबै बम खसालिएको छ र सबै विमानहरू सुरक्षित रुपमा अमेरिकातर्फ फर्किएका छन्,’ अमेरिकी सेनालाई बधाई दिँदै ट्रम्पले भनेका छन्,‘विश्वमा हाम्रो जस्तो सेना अरू कतै छैन। अब शान्तिको समय हो।’

आक्रमणपछि राष्ट्रका नामममा उनले सम्बोधनसमेत गरेका छन्। आफ्नो सम्बोधनमा ट्रम्पले इरानको तीनवटै परमाणु केन्द्रमा भएका आक्रमणहरू सफल रहेको उल्लेख गरेका छन्।
‘यी तीन स्थान–फोर्दो, नताञ्ज र इस्फहान ती स्थान हुन्, जसको बारेमा मानिसहरूले धेरै अघिदेखि सुनिरहेका थिए। आज हामी भन्न सक्छौँ कि आक्रमण प्रभावकारी र सफल रह्यो।’
नेतन्याहूको समर्थन

अमेरिकाको यो कारबाहीलाई इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतन्याहूले समर्थन जनाएका छन्। उनले भनेका छन्,‘राष्ट्रपति ट्रम्प र म सधैँ भन्छौँ–ताकतबाटै शान्ति आउँछ। आज राति ट्रम्प र अमेरिकाले ठूलो शक्तिका साथ काम गरेका छन्।’

अमेरिकी राष्ट्रपति ट्रम्पले इजरायली प्रधानमन्त्री नेतन्याहू र इजरायली सेनालाई समेत सहयोगका लागि धन्यवाद दिएका छन्। साथै उनले इरानलाई चेतावनीसमेत दिएका छन्।
‘यदि इरानले शान्ति स्थापना गरेन भने, भविष्यमा अझ ठूलो आक्रमण हुनसक्छ,’ ट्रम्पले चेतावनी दिएका छन्।

संयुक्त सैन्य समन्वय रोयटर्सलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार इरानका परमाणु केन्द्रहरूमा अमेरिका–इजरायलको संयुक्त समन्वयमा गरिएको हो। आक्रमणमा यूएस बी–२ स्टेल्थ बौम्बर प्रयोग गरिएको अमेरिकी अधिकारीले जनाएका छन्। बी–२ बमवर्षक विमानहरू यसअघि गुआम द्विपमा तैनाथ गरिएको बताइएको छ।

इरानले के भन्यो?

इरानले अमेरिकाले आक्रमण गरेका स्थानहरू पहिले नै खाली गरिएको जनाएको छ। इरानका सरकारी टेलिभिजनका उपराजनीतिक निर्देशक हसन अबेदिनीले अमेरिकी आक्रमणबाट ठूलो क्षति नभएको दाबी गरेका छन्।

‘हामीले खतरानक पदार्थहरू पहिले नै हटाइसकेका थियौँ, त्यसैले कुनै ठूलो क्षति भएको छैन,’ उनले भनेका छन्। तस्नीम समाचार एजेन्सीले कौम प्रान्तका संकट व्यवस्थापन प्रवक्ता मोर्तजा हैदरीले फोर्दो क्षेत्रको केही भाग हवाइ आक्रमणको चपेटामा परेको पुष्टि गरेको बताएको छ।

इस्फहानका उपगभर्नर अकबर सालेहीले ‘इस्फहान र नताञ्ज क्षेत्रमा विस्फोटका आवाजहरू सुनिएको छ। ती स्थानहरूमा आक्रमण भएको देखिएको छ,’ बताएका छन्। इरानका अधिकारीहरूले अमेरिकी राष्ट्रपति ट्रम्पले उल्लेख गरेका तीनवटै स्थानमा आक्रमण भएको पुष्टि गरेका छन्। यसले अमेरिका र इरानबीचको तनावलाई थप चर्काउने अनुमान गरिएको छ।

प्रकाशित: ८ असार २०८२ ८:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast