
काठमाडौँ- बंगलादेशस्थित नेपाली राजदूतावास र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा ढाकामा ‘नेपाल–बंगलादेश पर्यटन सम्मेलन’ कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा बोल्दै बंगलादेशका लागि नेपाली राजदूत घनश्याम भण्डारीले बंगलादेशी पर्यटकहरूमाझ नेपालप्रतिको आकर्षण बढ्दै गएको उल्लेख गर्दै नेपालको प्राकृतिक, सौन्दर्य, सांस्कृतिक विविधता र रोमाञ्चक साहसिक गतिविधिको विशेषता औँल्याए।
उनले नेपाल र बंगलादेशबीचको पर्यटन तथा जनस्तरको सम्पर्कलाई साझा सम्पदा र मित्रताको रुपमा वर्णन गर्दै दुवै देशका व्यवसायीहरूलाई ‘बी टू बी’ सम्बन्ध थप मजबुत बनाउन आग्रह गरे।
नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशकको जिम्मेवारी सम्हाल्दै आएका रोहिणीप्रसाद खनालले नेपालको विविध पर्यटकीय गतिविधि पदयात्रा, हिमाल आरोहण, प्याराग्लाइडिङजस्ता साहसिक गतिविधिदेखि अध्यात्मिक विश्राम, स्वास्थ्य पर्यटनजस्ता क्षेत्रबारे प्रस्तुति दिए।
बंगलादेशका नागरिक उड्डयन तथा पर्यटन मन्त्रालयका सहसचिव एकेएम मोनिरुज्जमानले नेपाल–बंगलादेशसम्बन्ध सुदृढ पार्न पर्यटनको भूमिकामाथि जोड दिए।
कार्यक्रममा बंगलादेशी पर्वतारोही इक्मारुल हसन शकिलले आफ्नो ‘सी टु समिट’ अभियान जुन सगरमाथा आरोहणमा समाप्त भएको थियो बारे अनुभव साझा गरे।
बंगलादेश ट्राभल एजेन्ट्स संघका अध्यक्ष अब्दुस सलाम अरेफ र एसियन टुरिज्म फेयरका अध्यक्ष मोहीउद्दिन हेलाले पनि कार्यक्रमलाई सम्बोधन गरेका थिए।