
इटहरी- इटहरी उपमहानगरपालिकामा सबैभन्दा लामो समय प्रमुख प्रशासकीय अधिकृत भएर बसेका रामचरित्र मेहताको एउटै चाहना थियो, छिमेकमा रहेको विराटनगर महानगरमा काम गर्ने। देशकै पुरानो क्षेत्र भएकाले पनि रामचरित्रको धोको विराटनगरमा काम गर्ने थियो।
उनी पटकपटक विराटनगर नै सरुवा मिलाइदिन काठमाडौँ धाए। चाहनाअनुसार नै उनको सरुवा विराटनगरमा भयो। तर, महानगरमा हाजिर हुने वातावरण बनेन। हाल उनी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत सिंहदरबारमा हाजिर गरिरहेका छन्।
विवादास्पद छवि भएकै कारण मेहतालाई अस्वीकृत गरेको विराटनगरका मेयर नागेश कोइराला बताउँछन्। जसका कारण मेहतालाई हाजिरै हुनै पाएनन्।
मन्त्रालयले पछिल्लोपटक गत ९ वैशाखमा मेहतासहित ४७ जना सहसचिवको सरुवा गरेको थियो। इटहरीमा तीन वर्षभन्दा लामो समय बसेका मेहतामाथि स्थानीयस्तरमै आलोचना थियो- उनी एकै स्थानमा किन यति लामो समय रहिरहे?
अन्य प्रमुख प्रशासकीय अधिकृतहरू एक-दुई वर्षमै सरुवा हुँदै गर्दा मेहताले तीन वर्ष भन्दा लामो समय इटहरीमै बिताउनु सामान्य मानिएको थिएन। महानगरले आफूहरूसँग समन्वय नै नगरी संघीय सरकारले प्रमुख प्रशासकीय अधिकृत पठाएको र विवादास्पद छविका मेहताको सरुवा स्वीकृति नदिएको जनाउँदै आएको छ।
विराटनगर महानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीको गत १८ फागुनमा अवकाश भएसँगै नयाँ प्रमुख प्रशासकीय अधिकृत आएका छैनन्।
पराजुलीले त्यसबेलै महानगरमा कार्यरत उपसचिव रामप्रसाद ढुंगेललाई निमित्त दिएका थिए। अहिलेसम्म उनै ढुंगेलले महानगरको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाल्दै आएका छन्।
नेपाल सरकारको मन्त्रिपरिषद्ले निर्णय नै गरेर उपसचिव ढुंगेललाई तत्कालका लागि प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाल्दै गर्नका लागि निर्णय गरेको थियो। यद्यपि, महानगरमा सहसचिव तहका कर्मचारी प्रमुख प्रशासकीय हुने व्यवस्था गरेको छ।
महानगरका मेयर नागेश कोइरालाले विराटनगरमा आउन भनेर अघि सरेका रामचरित्र विवादास्पद छविका रहेको र आफूसँग सल्लाह नभएकाले अस्वीकृत गरेको बताए।
‘विवादास्पद मात्र होइन नि, म कहाँ आउने भएपछि के गरौँ? आउँ कि, नआउँ? भनेर सोधिन्छ कि सोधिदैँन? आउन चाहने व्यक्तिले सोध्नुपर्छ, मन्त्रालयका सचिवले सोध्नुपर्छ। कसैले पनि नसोध्ने? सोधिन्छ कि सोधिदैँन?,’ कोइरालाले हिमाल प्रेससँग भने, ‘काम त मैले गर्ने हो नि। यसभन्दा अघि भोक्राहामा बबाल भयो, इटहरीमा बबाल भयो। अब मैले त्यही कर्मचारीलाई ल्याएर विराटनगरमा पनि बबाल गर्नु?’
यसअघि सुनसरीकै भोक्राहा–नरसिंह गाउँपालिका, इटहरी उपमहानगरपालिकामा हुँदा मेहता विवादमा आएका थिए।
विराटनगरलाई विवादमा मुछ्ने भएकालेसमेत अस्वीकार गरेको कोइरालाको जिकिर छ।
‘कमसेकम भन्नु त पर्छ नि? म मुख्यमन्त्रीकहाँ जानुप¥यो भने आउँ कि नआउँ भनेर मैले सोध्नुपर्दैन? यहाँ मनखुशी मात्रै होइन, पैसाको लेनदेन भयो,’ कोइरालाले भने, ‘हामीले अर्कै सहसचिवलाई पठाउन माग गरेका छौँ।’ मेहताले विराटनगरमा सरुवा आउँदा पैसाको लेनदेनसमेत गरेको कोइरालाको आरोप छ।
अहिले विराटनगर महानगरले सह–सचिव योगेन्द्र दुलाललाई प्रमुख प्रशासकीय अधिकृत पठाउन माग गरेको छ।
‘मेहता शिक्षा ब्याकग्राउण्डको मान्छे हो, हामीलाई चाहिने प्रशासनको मान्छे हो। शिक्षाको मान्छेलाई शिक्षा महाशाखामा नपठाएर प्रशासनमा टिकाएर राख्नुपर्ने कारण के होरु,’ मेयर कोइरालाको प्रश्न छ, ‘यहाँ केही न केही कारण लुकेको छ। हामीले काम गर्ने भनेको प्रशासनको मान्छेसँग हो, प्रमुख प्रशासकीयका रूपमा शिक्षा ब्याकग्राउण्ड भएको मान्छेलाई राख्न सकिदैँन।’
महानगरबाट वडामा सचिव पठाउँदासमेत वडाध्यक्षहरूले रोजेर सचिव लैजाने प्रचलन छ। जसले आफू अनुकूल काम गर्न सहज होस्। तर, महानगरकै प्रमुख प्रशासकीय अधिकृत पठाउँदा मन्त्रालयले मेयर, उपमेयरसँग एकैपटकसमेत समन्वय नगर्दा समस्या भएको कोइरालाले बताए।
०७८ फागुनदेखि ०८१ फागुनसम्म इटहरीमा बसेका मेहता त्यसपछि शिक्षा तथा युवा खेलकुद महाशाखामा सरुवा भए। त्यसपछि विराटनगरमा सरुवा गराएका उनलाई अस्वीकृत गरेपछि अहिले सामान्य प्रशासन मन्त्रालयमै हाजिर गरिरहेका छन्।
यसबारे मेहता भन्छन्, ‘सबैको आफ्नो–आफ्नो कुरा हुन्छ । मैले इटहरीमा तीन वर्ष बस्दा विकास निर्माणका राम्रै काम गरेँ।’
आफूलाई पत्रकारहरूले इटहरी बिगारेको आरोप खेप्नुपरेको बताउँदै उनले विकास निर्माणका काममा आफूले अब्बल योगदान गरेको दाबी गरे। ‘इटहरीमा विकास गरेर हिँडे। काम गरेपछि पैसा तिर्नुपरिहाल्छ। सानो योजना नराखेका कारण मान्छेले आरोप लगाए,’ मेहताले फोन सम्पर्कमा भने, ‘इटहरीकै पत्रकारहरूले पनि इटहरी बिगारेर हिँड्यो भने। सबैको आ–आफ्नो कुरा हो।’
यस्तो छ मेहताको विवादास्पद पृष्ठभूमि
मेहता शिक्षा क्षेत्रका मान्छे हुन्। तर, उनले इटहरीमा प्रशासनमा बसेर तीन वर्ष भन्दा लामो समय कार्यकाल बिताए। इटहरीमा प्रधानाध्यापकले ८० लाख रुपैयाँभन्दा बढी रकम घोटाला गर्दासमेत मेहताले उनलाई जोगाएको आरोप थियो।
इटहरी १४ मा रहेको श्री शान्ति सिर्जना माध्यमिक विद्यालयका प्रधानाध्यापक कमल तिम्सिनाले रकम घोटाला गरेको विषयमा उपमहानगरले कारबाही बिना नै तिम्सिनालाई उन्मुक्ति दियो।
आर्थिक वर्ष २०७९/८० मा शिक्षकको तलब शीर्षकको बजेटमा उपमहानगरले विद्यालयलाई ८ लाख ७३ हजार ६८३ रुपैयाँ रकम भुक्तानी गर्नुपर्ने थियो। तर उपमहानगरबाट ७८ लाख ६३ हजार बढी भुक्तानी भएको थियो। ८,७३,६८३ रुपैयाँ निकासा हुनुपर्नेमा एउटा ६ बढी थिचिएका कारण सो रकम बढी गएको मेहताले दाबी गरेका थिए।
विद्यालयको खाता २२२०१००००१३९६०१ नम्बरमा संघीय सरकारको बजेटबाट उक्त रकम जम्मा भएको थियो। इटहरीका ३६ वटै सामुदायिक विद्यालयलाई उपमहानगरले २०७९ असोज ५ गते राष्ट्रिय वाणिज्य बैँकको खातामार्फत कुल ६ करोड ३० लाख ६१ हजार ६६० रुपैयाँ जम्मा गरेको थियो।
जसमध्ये शान्ति विद्यालयलाई ८ लाख ७३ हजार ६८३ रुपैयाँ रकम उपलब्ध गराउनुपर्ने थियो। उपमहानगरबाट भने ७८ लाख ६३ हजार बढी रकम भुक्तानी भयो। उक्त रकम भुक्तानी भएको २२ महिनासम्म प्रधानाध्यापक तिम्सिनाले जानकारी गराएनन्। न उपमहानगरले नै खोजी गर्यो।
आन्तरिक लेखा परीक्षणबाट उक्त रकम बढी गएको खुलेपछि घटना सामसुम बनाउने प्रयास गरिएको थियो। इटहरी उपमहानगरपालिकाका ‘कर्मचारीहरू मुछिने डर’ले प्रधानाध्यापक तिम्सिनालाई उन्मुक्ति दिइयो। सो घोटाला प्रकरणमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत मेहतासहित इटहरीका मेयर हेमकर्ण पौडेलले नै प्रधानाध्यापक तिम्सिनालाई संरक्षण गरे।
त्यतिमात्रै होइन, मेहताले कर्मचारीलाई उक्साएर आन्दोलन गराएकोसमेत आरोप खेप्दै आएका छन्। उपप्रमुख संगीता चौधरीसँगको विवाद पछि मेहताले वडाको सर्भर डाउन गराउन भूमिका खेलेको तथा कर्मचारी र जनप्रतिनिधिबीचमा विवाद उत्पन्न गराउन भूमिका खेलेको उनीमाथि आरोप छ।
आर्थिक वर्ष ०८०/८१ को उपभोक्ताले काम गरेको भुक्तानीसमेत तिर्न नसक्दा इटहरी उपमहानगर आलोचित बन्यो। अघिल्लो आर्थिक वर्षकै २२ करोड रुपैयाँभन्दा बढी भुक्तानी तिर्न नसक्दा आलोचित बने।
उपभोक्ताले योजनाअनुसार काम गर्दासमेत भुक्तानी तिर्न नसक्दै सरुवा भएका मेहता लामो समयमै इटहरी रहेपनि उनी आलोचनाबाट उम्कन सकेनन्।
यीबाहेक अन्य विभिन्न विवादका कारणसमेत विराटनगरमा हाजिर गराउन नसकिएको मेयर कोइराला बताउँछन्। उनी भन्छन्, ‘हामीले काम गर्नलाई सहज खालको प्रमुख प्रशासकीय आवश्यक भएको हो, विवादास्पद कर्मचारी होइन ।’
इटहरी उपमहानगरपालिका र विराटनगर महानगरपालिकाका मेयर कांग्रेसबाटै निर्वाचित हुन् ।