
बुटवल- लुम्बिनी प्रदेशसभाको आज (शनिबार)का लागि तय गरिएको चौधौँ बैठक स्थगित गरिएको छ।
छैठौँ अधिवेशन अन्तर्गत आज बिहान ११ बजे बैठक बस्ने तय भएको थियो। तर, प्रदेश सरकारको अनुरोध तथा कार्य व्यवस्था परामर्श समितिको बैठकको निर्णयअनुसार बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको प्रदेशसभाले सूचना जारी गरेर जनाएको हो।
आज बस्ने भनिएको बैठकमा आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेटमाथि छलफल प्रारम्भ गर्ने तयारी गरिएको थियो। बजेटका बारेमा चौतर्फी विरोध भएपछि संसद्मा हंगामा हुनसक्ने भन्दै सरकारले प्रदेशसभा स्थगित गर्न प्रदेशसभालाई अनुरोध गरेको बुझिएको छ।
‘२०८२ साल असार महिनाको ७ गते शनिबार बिहान ११ : ०० बजे बस्ने भनिएको लुम्बिनी प्रदेश सभाको छैठौं अधिवेशनको चौधौं बैठकू प्रदेश सरकारको अनुरोधमा र कार्यव्यवस्था परामर्श समितिको मिति २०८२ साल असार ६ गते बसेको बैठकको निर्णय अनुसार अर्को सूचना नभएसम्मका लागि उक्त बैठक स्थगित गरिएको व्यहोरा लुम्बिनी प्रदेश सभा नियमावली, २०७९ को नियम १२ को उपनियम (३) बमोजिम माननीय सदस्यहरुको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ’ प्रदेशसभा सचिव प्रदेशसभा सचिव दुर्लभकुमार पुनमगरद्वारा विज्ञप्तीमा भनिएको छ।