
पोखरा– पोखरा रंगशालामा सञ्चालित गण्डकी प्रदेश तेस्रो संस्करणको पुरुष टी–२० क्रिकेट प्रतियोगिताको उपाधि स्याङ्जाले जितेको छ।
शुक्रबार फाइनलमा नवलपुरलाई ४ विकेटले पराजित गर्दै स्याङ्जाले १ लाख नगदसहित उपाधि जित्न सफल भएको हो। उपविजेता नवलपुरले ५० हजार साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र पुरस्कार पाएको छ।
प्रतियोगितामा स्याङ्जाले टस जितेर फिल्डिङ रोजेपछि नवलपुरले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १२९ रन बनाएको थियो।
खेलमा जितका लागि १३० रनको लक्ष्य पछ्याएको स्याङ्जाले १९ ओभरको पाँचौं बलमा ६ विकेटको क्षतिमा लक्ष्य पूरा गर्न सफल भयो।
नवलपुरका लागि रिजन काफ्ले २५ रन, दीपक डुम्रेले १९ रन बनाएका थिए।
स्याङ्जाका कप्तान सन्दीप खत्री क्षत्रीले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा १८ रन खर्चिएर ३ विकेट लिए। बलिङतर्फ सुजन गौतम, अश्वनी राना, प्रदीप पाण्डेले समान १–१ विकेट लिए।
स्याङ्जाका ईश्वर क्षेत्रीले ६ चौकाको मद्तमा आक्रामक ३० रन प्रहार गरे। त्यस्तै सुजन गौतमले २८ रन र सन्दीप खत्री क्षेत्रीले १४ रन बनाए। अनिश ताम्राकारले ११ र अश्वोनी राणा १३ रनको संयमित ब्याटिङ गर्दै टोलीलाई जित दिलाएका हुन्।
नवलपुरका लागि हिमाल न्यापौने र कप्तान कमल परियारले समान २ विकेट लिए। दीपक डुम्रे र सुदीप अर्यालले समान १–१ विकेट लिए।
प्रादेशिक क्रिकेट संघ गण्डकीको आयोजना तथा प्रदेश खेलकुद परिषद् गण्डकीको प्रवद्र्धनमा भएको प्रतियोगितामा ८ जिल्लाले भाग लिएका थिए।
‘म्यान अफ दि सिरिज’ सँगै ‘वेष्ट व्याटर’ को उपाधि स्याङ्जाका सन्दीप खत्री क्षेत्रीले हात पारे। उनले नगद ४ हजार पुरस्कार पाएको गण्डकी प्रदेश क्रिकेट संघ अध्यक्ष सञ्जयकान्त सिग्देलले बताए।